
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभाका सदस्य डा.प्रकाश शरण महत अर्थमन्त्री बनेका छन् । नवनियुक्त अर्थमन्त्री महत कक्षा ७ मा अध्ययनरत रहदा नै नेपाल विद्यार्थी संघको आदर्शबाट प्रेरित भएर राजनीतिमा लागेका व्यक्ति हुन् ।
डा. महतको जन्म वि.सं २०१६ कात्तिक १९ गते नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. २ कविलासमा भएको हो । उनको जीवन संघर्ष र चुनौतिले भरिपूर्ण छ । २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गरे डा. महतले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खलेका थिए । त्यसबेला उनी नेपाल विद्यार्थी संघको महासचिव थिए ।
नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गरे । पार्टीले दिएका जिम्मेवारीहरु कुशलतापूर्वक पूरा गर्ने सरल, सिधा, इमान्दार र अनुशासित कार्यकर्ता भएकोले पार्टीले उनलाई थप जिम्मेवारीहरु प्रदान गर्दै गयो । २०५५÷५६ देखि नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका डा. महत २०५९ देखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय सदस्य रही आएका छन् ।
उनले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मंसिरमा सम्पन्न प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका समेत सम्पन्न गरेका थिए ।
२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा व्यवस्थापिकाको यात्रा आरम्भ गरेका डा. महतले पहिलो संविधानसभा २०६४ देखि २०६९ र दोस्रो संविधानसभा २०७० देखि २०७४ सम्म विधायकको रुपमा देश र नेपाली नागरिकको सेवा पनि गरे । ।
उनले पार्टीले राज्य सञ्चालनका विभिन्न क्षेत्रमा विभिन्न अवसर पनि पाए । नेपालमा माओवादी बिद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले २०५६ सालमा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका डा. महतलाई प्रधानमन्त्रीले २०५८ देखि २०५९ सम्म सल्लाहकार नियुक्त गरी आफ्नो योग्यता र क्षमता अनुरुप देश र जनताको भलाईमा काम गर्न सघाउने अवसर दिए ।
उनलाई सरकारले २०५८ चैत्रदेखि २०५९ असोजसम्म राष्ट्रि«य योजना आयोगको सदस्यमा नियुक्त पनि गरेको थियो । उनलाई २०६१ जेठदेखि २०६१ माघ १९ सम्म परराष्ट्र मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पनि प्राप्त भयो ।
२०६३ देखि २०६४ सम्म माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि उनलाई २०६४ साउनदेखि २०६५ जेठसम्म विभिन्न विद्रोही समूहसंग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्यको जिम्मेवारी पनि सुम्पिएको थियो ।
२०६६ देखि २०६७ सम्म (सन २००९ देखि २०११ सम्म) उहाँ ऊर्जा मन्त्री रहे । त्यस्तै, नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बेला २०७३ देखि २०७४ सम्म डा. महतले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पुन पाए ।
डा. महतले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएच डी उपाधि हासिल गरेका हुन् । उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसि इकोनोमिक्स)मा स्नातकोत्तर गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा नीतिगत तथा अनुसन्धान पत्रहरु प्रस्तुत गर्नुभएका डा.महतका आर्थिक विकास,शान्ति प्रकृया, परराष्ट्र सम्बन्धमा विभिन्न लेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् ।
त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गरेका डा. महतले “नेपाली कांग्रेस एण्ड नेशन बिल्डिड.” नामक पुस्तक पनि लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस