
काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नम्बर ४ र ८ का कृषकहरुका लागि मध्यमार्ग कृषि सहकारी संस्थाले कृषि सामाग्री वितरण गरेको छ । बुधबार पनौतीमा आयोजित एक कार्यक्रमका बीच ती कृषि सामाग्री वितरण गरिएको हो ।
सहकारीमा आबद्ध कृषकहरुका लागि १५ थान ट्याक्टर, १ हजार थान सानो ठूलो टनेल, १ सय वटा स्प्रे र १० वटा मल्चिङ्ग वितरण गरिएको थियो । कुल ७० लाख बजेट रहेको उक्त कार्यक्रममा ३५ लाख कृषकहरुले संकलन गरेका छन् भने ३५ लाख कृषि ज्ञान केन्द्रमार्फत प्रदेश सरकारले उपलब्ध गराएको छ । सहकारीका अध्यक्ष प्रदिप केसीले कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा कृषि सामाग्री उपलब्ध गराइएको जानकारी दिए ।
कृषि सामाग्री हस्तान्तरण गर्दै पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले थोरै लगानीमा धेरै उत्पादन गराउन नगरपालिकाले समुदायस्तरमा कृषि प्रविधि, कृषि प्राविधिक र बजार व्यवस्थापनका बारेमा योजनाबद्ध रुपले कार्य प्रारम्भ गरेको बताए । कृषिमा आधुनिकीकरण र व्यवसायीकरणका लागि प्रविधिमैत्री र प्राविधिक जनशक्तिलाई प्राथमिकतामा राखिएको नगर प्रमुख भण्डारीले बताए ।
उपप्रमुख गीता बञ्जाराले कृषिमा यान्त्रीकरण, आधुनिकीकरण र व्यवसायीकरणका लागि शुरु गरिएका अभियानलाई सहकारी र समुदायले प्राथमिकता दिएकोमा धन्यवाद दिए ।
यस्तै सहकारी रजिस्ट्रार इन्द्र अधिकारीले नगरपालिकाभित्र रहेका १ सय ४० वटा सहकारी फरक फरक सोच र उद्देश्यका भए पनि कृषि सहकारीहरुले कृषक पाठशाला संचालन गरी कृषि उत्पादनमा थप सहयोग र योगदान पुर्याएको बताए । कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष वेदप्रसाद बञ्जाराले कृषकलाई उत्पादनमा सहजतासँगै बजारीकरणका लागि आवश्यक पहल गर्नु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस