aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

अब सहकारीवाला समेत माइतीघरमा उत्रिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ चैत्र २०७९
अब सहकारीवाला समेत माइतीघरमा उत्रिने
NIBL

काठमाडौं । अहिले एक ढंगको आन्दोलनको लहर नै हो । यही मेसोमा आम मानिसहरुले ढगे, भागे, झुक्याए भन्दै आरोप लगाईरहेको एउटा समुह समेत ब्यानर बोकेर माइतीघर मण्डलामा देखा पर्ने तयारीमा छ । त्यो समुह हो सहकारी सञ्चालकहरुको ।

आफ्ना मागहरु सरकारले नसुनेको र वास्ता नगरेको गुनासोहरु सहकारी सञ्चालकहरुको छ । तर, उनीहरु अरु झै कालो झण्डा हल्लाउँदै सरकारकाे विरोध गर्न भने सडकमा उत्रिरहेका छैनन् । उनीहरुको माग छ । सरकारले हाम्रा पनि कुरा सुनोस्, सहकारीका समस्यामा समेत भम्भिर रहोस् । जसका लागि उनीहरुले एउटा कार्यक्रम तालिका नै सार्वजनिक गर्न लागेका छन् । सहकारी दिवसको मेसो पारेर ।

कोठामा गरेका पटक–पटकको सहमतिमा सुनवाई नभएपछि सडकमै गएर सरकारलाई आवाज सुनाउन लागिको राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले बताइन् ।

बुधबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन्  । कार्यक्रममा बोल्दै उनले भनिन्, ‘सहकारीका विषयमा पटक–पटक गरिएको सहमतिमा सरकारले ध्यान दिएन । कोठामा गरिएका सहमतिको सुनुवाई भएन । तसर्थ सडकमै गएर आवाज सुनाउन लागेका हौं ।’

आफ्ना मागहरु प्रति सरकारको ध्यान नगएका कारण सडक आन्दोलनमा उत्रिन बाध्य हुनपरेको मल्लको भनाई छ । यसका साथै सरकारले माग पुरा नगरेसम्म आन्दोलन नरोकिने उनले बताईन् ।

यसका साथै सहकारी विषयमा महासंघ ननिदाएको बताउँदै उनले भनिन्, ‘हामी बिरामी परेका छैनौं । महासंघ सुतेको छैन । सहकारीकर्मीहरु झन् ऐक्यवद्ध भएर अगाडी बढेको छ ।’

कोरोना महामारी रुस र युक्रेन युद्ध र आर्थिक मन्दीका कारण सहकारी समस्या आएको उनको भनाई छ । ‘सञ्चालक र सहकारीकर्मीको कारणले मात्र सहकारीमा समस्या आएको होइन । विभिन्न कारणले आएको समस्याबारे सरकारलाई ध्यानाकर्षण गराउन चाहेका हौ’, मल्लले भनिन् ।

बजारमा देखिएको समस्यामा सहकारी कर्मीको मात्र हात नरहेको उपाध्यक्ष मल्लले बताईन् । उनले भनिन्, ‘सहकारी डुब्नुमा सहकारी कर्मीको मात्र कमजोरी छैन । सहकारीमा सल्किएको आगो पनि समस्या आएको हो ।’

आर्थिक संकटका कारण ऋण दिएका सदस्यहरुको कारोबारमा पनि मन्दी आएको उनले बताइन् । ‘अहिले मुलुक नै आर्थिक संकटमा छ  । बैंकहहरुमा तरलता घट्न थालेपछि ब्याज बढ्यो । यसले गर्दा ऋण लिएका सदस्यहरुले कारोबार गर्न सकेनन्’, मल्ले भनिन्, ‘सहकारीको पैसा अचल सम्पत्तिमा भएको कारण पनि बेचेर रकम फिर्ता गर्न समस्या भएको छ ।’

यसका साथै तरलता व्यवस्थापन र बैंकको ब्याज नघटेसम्म बचत फिर्ता गर्न सहज नहुने उनले बताइन् । सहकारीको राख घटाउन नदिने उनको प्रतिवद्धता छ । 

महासंघले यही चैत्र २० गते ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएको छ । ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने थिमलाई सार्थक हुने गरी सहकारीका समसामयिक मुद्दाहरुलाई समेत उजागर सप्ताहव्यापी रुपमा सहकारी दिवस मनाउन लागेको हो ।

वि.सं. २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय सहकारी दिवश मनाउन लागेको महासंघले जनाएको छ ।

महासंघले सहकारी दिवसलाई सप्ताहव्यापी रुपमा मनाउन केन्द्रीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, प्रदेश तथा जिल्लास्तरीय सहकारी संघहरु एवं सम्पूर्ण सहकारी संस्थाहरुलाई आग्रह गरेको छ ।

विश्वव्यापी आर्थिक मन्दीको प्रभावले विगत लामो समयदेखि नेपालमा पनि उद्योग व्यवसायहरूको कारोबारमा संकुचन, बैंक, वित्तिय संस्था तथा सहकारी क्षेत्रमा तरलताको अभाव, चर्को मूल्यवृद्धि लगायतका कारणले नागरिकहरू मर्माहत भएका छन् ।

वर्तमान संकटमा समेत कतिपनि विचलित नभई सहकारीमा सदस्यको बचतको सुरक्षाका लागि जिम्मेवार र प्रतिबद्ध रहेको सन्देश प्रवाहित हुने गरि तथा अभियानका तर्फबाट राखिएका मागहरूमा सम्बन्धित निकायको ध्यानाकर्षण हुने गरि उपत्यकाभित्र सम्पूर्ण सहकारीकर्मीहरूको एउटै आवाजसहित राष्ट्रिय सहकारी दिवस मनाउने लागिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस