aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

ढुक्क छन् राम्रा सहकारी, सुरक्षित छ वित्तीय अवस्था

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • आइतबार, १२ चैत्र २०७९
ढुक्क छन् राम्रा सहकारी, सुरक्षित छ वित्तीय अवस्था
NIBL

काठमाडौं । सहकारीका कथा, दुःख, व्यथा अहिले आम बनेको छ । सञ्चालकले गरेको गडबडीले सदस्यहरुमा रोदन थपेको छ । तर, राम्रा सहकारीका हकमा भने उल्लेखित कुनै पनि शब्द उपयुक्त हुँदैनन् । 

त्यस्ता सहकारीहरुको वित्तीय विवरणले नै झल्काउँछ कुन कति बलिया छन् । कसको वित्तीय स्वास्थ्य कस्तो छ । त्यसो त वित्तीय विवरण एक रुपमा सञ्चालन विधिको ऐना पनि हो । त्यसले नै कति व्यवस्थित र सावधानी पूर्ण ढंगले सहकारी चलेको छ भन्ने कुरा प्रष्ट पार्छ । यस्ता केही सहकारीहरुको वित्तीय विवरण यहाँ प्रस्तुत गरिएको छ । जसले आफूलाई अहिलेको अवस्थामा समेत संकटले नछोएको दावी गरिरहेका छन् । 

यी मध्ये एक हो, पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था । पोखरा स्थित यो सहकारीको शेयरपुँजी २० करोड ९७ लाख ७२ हजार रुपैयाँ रहेको छ । शेयरपुँजीको झण्डै साढे सात गुणाबढी बचत तथा निक्षेप गरेको यो सहकारीले गत आर्थिक वर्षमा एक अर्ब ५७ करोड ४४ लाख ६ हजार रुपैयाँ जम्मा गरेको देखिन्छ । 

वित्तीय विवरण हेर्दा सो सहकारीले आव २०७८/७९ मा बचत भन्दाबढी ऋण लगानी गरेको देखिन्छ । यसले एक अर्ब ८२ करोड ३७ लाख २६ हजार ऋण लगानी गरेको हो । तर, पनि सहकारी समस्यामा भने नरहेको सहकारीको सञ्चालकहरुको दावी छ । उनीहरु निश्चिन्त रहेको कारण आफ्नो कुशल व्यवस्थापनलाई मान्छन् । 

त्यसो त यो सहकारीले जगेडा तथा अन्य कोषमा १९ करोड ८१ लाख ९१ हजार रुपैयाँ राखेको छ । त्यसबाहेक ऋण लगानी व्यवस्थाका लागि ७ करोड ३७ लाख ७८ हजार रुपौयँ राखेको छ भने सो आवमा यसले  ६ करोड ४८ लाख ७५ हजार रुपौयँ मुनाफा आर्जन गरेको देखिन्छ । सुरक्षित तवरले खुलेर लगानी गर्दा तरलता २४.८० प्रतिशत कायम गर्न पोखरा रोयल सफल भएको वित्तीय विवरणमा उल्लेख छ ।

यस्तै, अर्को सहकारी हो, ललितपुरको कल्याणकारी बचत तथा ऋण सहकारी । यसको शेयरपुँजी १६ करोड एक लाख ५३ हजार रुपैयाँ रहेको छ । गत आवमा संस्थाले एक अर्ब २० करोड ४४ लाख १ हजार रुपैयाँ कुल बचत संकलन गरेको छ । यसले पनि बचत संकलन भन्दाबढी नै ऋण लगानी गरेको देखिन्छ ।

संस्थाले एक अर्ब ४७ करोड ८७ लाख ५७ हजार रुपैयाँ कुल ऋण लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ । यसको जगेडा कोष २५ करोड २६ लाख ८८ हजार रुपैयाँ र अन्य कोष १२ करोड ३२ लाख १४ हजार  रुपैयाँ रहेको छ । 

संस्थाले ऋण सुरक्षण कोष ७ करोड ५६ लाख ६० हजार रुपैयाँ राखेको वित्तीय विवरणमा उल्लेख छ । एक वर्षमा कुल बचत÷नाफा एक करोड ५४ लाख ४५ हजार रुपैयाँ गरेको यो संस्थाले तरलता व्यवस्थापन तर्फ ३४.५८ प्रतिशत कायम राख्न सफल भएको छ ।  

चन्द्रागिरि बचत तथा ऋण सहकारी अर्को त्यस्तो संस्था हो जसको शेयरपुँजी १७  करोड ५५ लाख ६८ हजार रुपैयाँ मात्र रहेपनि २ अर्ब ५० करोड ६७ लाख ४५ हजार कुल बचत संकलन गर्न सफल भएको छ ।

यसले सुरक्षित लगानी गर्ने क्रममा २ अर्ब ४ लाख १ हजार रुपैयाँ मात्र लगानी गरेको छ भने जगेडा कोषमा ८ करोड ४ लाख ३३ हजार रुपैयाँ राखेको छ । अन्य कोषमा ६ करोड ४० लाख ९५ हजार रुपैयाँ राखेको यो सहकारीले २७.०२ प्रतिशत तरलता व्यवस्थापन गरेको देखिन्छ ।

बचत तथा ऋण बाहेक अन्य कारोबार विशेषगरी कृषि कर्मलाई केन्द्रमा राखेका केही सहकारीको स्थिति अझ राम्रो छ । पोखराको काहुँकोट बहुउद्देश्यीय सहकारी त्यस्तै मध्येको एक हो । यसको शेयरपुँजी ७ करोड ४ लाख ९० हजार रुपैयाँ मात्र रहेको छ भने संस्थाले ३३ करोड ५ लाख ८३ हजार रुपैयाँ बचत÷निक्षेप गरेको वित्तीय विवरणमा उल्लेख छ । 

संस्थामा लामो समय काम गरेका आफ्ना एक कर्मचारीलाई ४ वर्षका लागि शुन्य प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराएको यो संस्थाले अन्य क्षेत्रमा ३३ करोड ८९ लाख ७७ हजार रुपैयाँ ऋण लगानी गरेको छ । जगेडा कोषमा एक करोड ८३ लाख ६६ हजार रुपैयाँ र अन्य कोष ९९ लाख ६१ हजार रुपैयाँ राखेको यो संस्थाले ऋण नोक्सानी कोष व्यवस्थाका लागि ३५ लाख २७ हजार रुपैयाँ छुट्ट्याएको वित्तीय विवरणमा उल्लेख छ ।

पैसाको व्यापार भन्दा उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेको काठमाडौंको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको स्थिति पनि राम्रो छ । जम्मा ५ करोड ३ लाख ४७ हजार रुपैयाँ शेयरपुँजी रहेको यो संस्थाले आव २०७८/७९ मा ३० करोड ४९ लाख २५ हजार रुपैयाँ कुल बचत संकलन गरेको छ भने ४२ करोड १७ लाख ५५ हजार रुपैयाँ कुल ऋण लगानी गरेको छ ।

यो संस्थाले जगेडा तथा अन्य कोष ३ करोड ३ लाख ८१ हजार रुपैयाँ राखेको वित्तीय विवरणमा उल्लेख छ । हिलटप जुनारले एक वर्षमा एक करोड २८ लाख ६० हजार रुपैयाँ कुल बचत/नाफा गरेको देखिन्छ ।

उता बागलुङ दुग्ध उत्पादक सहकारी अर्को त्यस्तो सहकारी हो जसले ग्रामिण क्षेत्रमा सेवा गरेर पनि आफूलाई अब्बल सहकारीको रुपमा प्रमाणित गरिरहेको छ । हाल यो संस्थाको शेयरपुँजी एक करोड १७ लाख ९७ हजार रुपैयाँ रहेको छ । 

गत आवमा यो संस्थाले ८ करोड ३ लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको छ भने ७ करोड २९ लाख ६१ हजार रुपैयाँ खर्च गरेको वित्तीय विवरणमा उल्लेख छ । संस्थाले विभिन्न क्षेत्रमा ३० लाख २६ हजार रुपैयाँ लगानी गरेको देखिन्छ । संस्थाको कोषमा २ करोड ९१ लाख ७३ हजार रुपैयाँ रहेको छ । उक्त वित्तीय विवरण अनुसार संस्थाको स्थिर सम्पत्ति एक करोड २४ लाख ९५ हजार रुपैयाँ रहेको देखिन्छ । 


 

प्रतिक्रिया दिनुहोस