aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

उदयपुर–खोटाङ जोड्ने झोलङ्गे पुल भत्कियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ चैत्र २०७९
उदयपुर–खोटाङ जोड्ने झोलङ्गे पुल भत्कियो
NIBL

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० चिप्टार र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ बाइटार जोड्ने सुनकोसीको झोलुङ्गे पुल निर्माण सम्पन्न नहुँदै फेरि भत्किएको छ । कटारी–१० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार पुलको कटारीतर्पmका पुलको खम्बा भत्किएको हो ।

आज बिहान एक्कासि पुल भत्किएको वडाध्यक्ष खड्काले बताए । “शुक्रबार बिहान कटारीतर्फका खम्बा नै सबै भत्किएको खबर र फोटो प्राप्त भएको छ”, वडाध्यक्ष खड्काले भने, “निर्माणमा ढिलाइ भएकाले ताकेता गरेका थियौँ बल्ल काम अघि बढेको थियो फेरि भत्किएछ ।”

यसअघि निर्माण नहुँदै दुई वर्षअघि पुलको स्ल्याब भत्किएको थियो । गुणस्तरहीन सामाग्री प्रयोग गरेकाले पुल भत्किएको आरोप लगाउँदै आएको स्थानीयवासी धर्म खनालले बताउनुभयो । वडाध्यक्ष खड्काका अनुसार विसं २०७६ मै निर्माण सुरु भए पनि पुल निर्माण हुन सकेको छैन । विसं २०७६ मा पूर्वाधार विकास कार्यालय गाईघाटबाट रु तीन करोड ५० लाखमा ठेक्का लिएका वसन्त बुढाथोकीले झोलुङ्गेमा गुणस्तरहीन सामग्री प्रयोग गरेपछि स्ल्याब भत्किएको स्थानीयवासीको दाबी छ ।
    
पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग र ढिलासुस्ती भएकोबारे सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराउँदा बेवास्ता गरेको स्थानीयवासीले बताएका छन् । पुल नहुँदा दुवै जिल्लाका स्थानीयवासीले काठको डुङ्गाबाट जोखिम मोलेरै सुनकोसी आउजाउ गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस