aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

गृहिणीलाई थपियो पिर, खाने तेलको मूल्य अत्याधिक बढ्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ चैत्र २०७९
गृहिणीलाई थपियो पिर, खाने तेलको मूल्य अत्याधिक बढ्दै
NIBL

काठमाडौँ। अहिले सबै जसो नेपाली गृहिणीहरुको मुखमा सुनिने गरेको एउटा वाक्य छ - 'अब त तरकारीमा भुटुन हाल्न समेत नसकिने भो।  खाने तेलको भाउ किन्ने नसक्ने गरी बढ्यो।' हुन पनी नेपाली बजारमा पाइने सामान्य ब्राण्डका भटमास, सूर्यमुखी तेलको मूल्य प्रतिलिटर अढाईदेखि तीन सयको हाराहारीमा छ। स्थानीय तोरीको तेलको मूल्य भने ४ सय भन्दा माथि अन्य आयातित र ब्रान्डेड तेलको मूल्य त प्रतिलिटर ५ सयको भन्दा माथि पुगिसकेको छ।  

अहिले नै किनेर खान नसकिने गरी महँगो बनिसकेको खाने तेल आगामी दिनमा भने झन् छुनै नसकिने गरि महँगिने निश्चित भएको छ। यो वर्ष हिउँदे वर्षा नहुँदा तेलहन बालीमा त्यसको ठुलो असर परेको छ। त्यसैले स्वदेशी खाने तेलको बजार हिस्सा त्यसै पनि गत वर्षको भन्दा कम हुने देखिएको छ। जसले गर्दा नेपाली उपभोक्ता आयातित खाने तेलमा नै भर पर्नु पर्ने देखिन्छ।   

विश्व बजारमा तोरी र सूर्यमुखी तेलको ठुलो आपूर्तिकर्ता मुलुक युक्रेन रुससँग युद्धमा छ। जसका कारण खाने तेलको आपूर्तिमा समस्या हुँदा अघिल्लो वर्ष देखि नै खाने तेलको मूल्यमा ठुलो मात्रामा वृद्धि भइसकेको छ। त्यसमाथि जलवायु परिवर्तनका कारण देखिएका समस्या कम गर्ने पहलका रुपमा विश्वव्यापी जैविक  इन्धनको खपत बढ्दै गएकोले विश्वले नै आगामी महिनाहरूमा खाने तेलको अभावको सामना गर्न सक्ने देखिएको हो।

ब्लूमबर्गले रिपोर्ट गरे अनुसार पश्चिमी राष्ट्रहरूले जीवाश्म इन्धनहरूबाट आफुलाई टाढा राख्ने र कार्बन उत्सर्जन घटाउनको लागि सोयाबीन वा क्यानोला तेल, वा जनावरको बोसो जस्ता बोटबिरुवामा आधारित ऊर्जा स्रोतहरू बढ्दो रूपमा अपनाइरहेका छन्। यो परिवर्तनले पाम तेल उत्पादकहरूलाई खाद्य उत्पादनमा उनीहरूको परम्परागत प्रयोगको सट्टा यातायात क्षेत्रमा खाना पकाउने तेलको प्रयोग बढाएको हो। 

जैविक इन्धनको बढ्दो मागलाई युक्रेनको युद्धले थप सहयोग पुर्‍याएको छ। अर्जेन्टिनामा देखिएको चरम मौसम प्रतिकुलताले वनस्पति तेलको आपूर्तिमा कमी ल्याउने र उत्पादन घट्ने हुँदा माग र आपूर्ति बीच सन्तुलन नहुने देखिएको हो।

प्रतिक्रिया दिनुहोस