
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत फागुन १० गतेदेखि बिक्री गरेको नागरिक बचतपत्र मार्फत २ अर्ब १७ करोड रुपैयाँ संकलन गरेको छ । साढे दुई अर्ब बराबरीको सो बचतपत्र लगभग ३२ करोडको भने बिक्री हुन सकेन ।
उक्त बचतपत्र इच्छुक नागरिकहरुले फागुन ३० गतेसम्म खरिद गर्न सक्ने गरी निष्काशन गरिएको थियो । यस्तो बचतपत्र ८७.१४ प्रतिशत बिक्री भएको छ । जसको ब्याजदर ११.५० प्रतिशत रहेको छ ।
यो बचतपत्रको साँवा भुक्तानी ५ वर्ष पछि २०८४ चैत्र ६ गत हुने छ भने प्रत्येक ६÷६ महिनामा ब्याज भुक्तानी हुनेछ । २०६३ सालमा ८ प्रतिशत ब्याजदर रहेको नागरिक बचतपत्रको ब्याज बिचमा घटेर ६.५ प्रतिशतसम्म झरेको थियो । जुन अहिले वाणिज्य बैंकहरुको ब्याजदर बढेकै आधारमा वृद्धि हुँदा ११.५० प्रतिशतमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०६३ साल यता २० अर्ब ८३ करोडको ऋणपत्र बिक्री भइसकेको छ । राष्ट्र बैंकले यही चैत्र २६ गते ३४ करोड २४ लाख रुपैयाँको बचतपत्रको साँवा भुक्तानी गर्नुपर्ने दायित्व छ । राष्ट्र बैंकले आगामी जेठ २८ गतेपनि १६ करोड ४५ लाख रुपैयाँको नागरिक बचतपत्रको भुक्तानी गर्नुपर्ने हुन्छ ।
त्यसैगरी, राष्ट्र बैंकले निष्काशन गरेको ५० करोड रुपैयाँ बराबरको व्रदेशकि रोजगार बचतपत्र भने अत्यन्त न्युन मात्रै बिक्री भएको छ । कुल निष्काशित बचतपत्रको ४.४९ प्रतिशत मात्र वैदेशिक रोजगार बचतपत्र बिक्री भएको राष्ट्र बैंकले जनाएको छ । जबकी नागरिक बचतपत्रको भन्दा यसको ब्याजदर १ प्रतिशत बढी अर्थात १२.५० प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकको नागरिक ऋण व्यवस्थापन विभागका अनुसार १२ वर्षयता वैदेशिक रोजगार बचतपत्र मार्फत ७५ करोड ८३ लाख रुपैयाँ बराबरको फण्ड संकलन भएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ५ वर्ष अवधिको वैदेशिक रोजगार बचतपत्रमध्ये १५ वटा बचतपत्र परिपक्क भइसकेका छन् भने बाँकी ९ वटा जारी अवस्थामा छन् ।
बचतपत्रको ब्याजदर पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । शुरु आर्थिक वर्ष २०६६÷६७ मा ९.७५ प्रतिशत प्रदान गरिएकोमा चालु आव २०७९÷८० सम्म आइपुग्दा सो ब्याजदर बढेर १२.५० प्रतिशत पुगेको हो ।
प्रतिक्रिया दिनुहोस