
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । चैत ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कायाल्य मोरङ्गमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३ करोड ४२ लाख ८० हजारको आधारमा १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई समेत कम्पनीले वितरणयोग्य बनाउँनेछ ।
बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधरामा चैत १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
यस वर्ष कम्पनीले गत वर्षको तुलनामा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष ७० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले पहिलो पटक २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ दशमलव १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । लघुवित्तलाई लाभांश वितरणमा कडाई गरेको नेपाल राष्ट्र बैंकको निर्देशनमा कम्पनीले लाभांश घटाएर वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस