
काठमाडौं । नेपाल प्रहरीको नेतृत्व चयनका लागि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आइजीपी) चयनका लागि मन्त्रिपरिषद्को बैठक आज दिउँसो चार बजे बस्न लागेको हो ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै छन् । उनलाई आजै बिदाइ गरिने छ । सिंहको अवकाश सँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ ।
५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरु आईजीपीको दाबेदार हुन् । चैत ६ मा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन् । तर, उनीहरूमध्ये पछिल्लो समय दुई जनाको बीचमा तीव्र प्रतिस्पर्धा देखिएको छ ।
आईजीपी हुने प्रतिस्पर्धामा वसन्त कुँवर र श्यामलाल ज्ञवाली अगाडि छन् ।
प्रतिक्रिया दिनुहोस