
काठमाडौं । पुँजी वृद्धि गर्नुपर्ने दबाबमा रहेका बीमा कम्पनीहरूले अन्तिम क्षणमा आएर केही राहत महसुस गरेका छन् । नेपाल बीमा प्राधिकरणले पुँजी बढाउन नसक्ने कम्पनीहरूको हकमा जोखिममा आधारित पुँजी (रिस्क बेस क्यापिटल) को आधारमा व्यवसाय गर्न दिने तयारी थालेसँगै यस्तो स्थिति बनेको हो ।
सो तयारीसँगै निर्धारित समयमा पुँजी बढाउन नसक्ने कम्पनीहरूले कारोबार रोकिने हो कि त्रासबाट मुक्ति पाएका हुन् । रिस्क बेस क्यापिटल लागु गरेपछि तोकिएको न्यूनतम पुँजी चुक्ता गर्न नसक्ने कम्पनीहरूले आफूले चुक्ता गरेको पुँजीले बहन गर्न सक्ने आकारमा मात्रै बीमा व्यवसाय गर्न पाउने छन् ।
तर, तोकिए बमोजिमको न्यूनतम चुक्ता पुँजी पुर्याउनेहरुले भने बढी जोखिम लिएर पनि व्यवसाय गर्न सक्ने भएकाले प्राधिकरणको पछिल्लो योजना लागु भएको खण्डमा चुक्ता पुँजी नपुर्याउने बीमा कम्पनीहरूका लागि त्यस्तो निर्णय निकै भारी पर्ने देखिएको छ । तथापि जसरी भए पनि चुक्ता पुँजी पुर्याउनै पर्ने बाध्यताबाट भने बीमा कम्पनीहरूले मुक्ति पाउने अवस्था बनेको हो ।
प्राधिकरणले पुँजी बढाउनका लागि दिएको समय घर्कन लागेको छ । अबको तीन साता भित्रै अर्थात् चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनी साढे दुई अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने छ ।
त्यसो गर्न नसक्ने कम्पनीहरूलाई के कारबाही गर्दै हुनुहुन्छ भन्ने आर्थिकन्युजको प्रश्नमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले भने, ‘त्यस्ता कम्पनीका लागि रिस्क बेस क्यापिटल लागु गर्ने सोचमा छौँ । उनीहरूलाई त्यसो गर्न लगाउनु नै एक प्रकारको कारबाही हो ।’
प्राधिकरण कुनै पनि हालतमा चुक्ता पुँजी वृद्धिका लागि समय थप गर्ने पक्षमा नरहेको पनि उनले स्पष्ट पारे । बीमा कम्पनी सञ्चालकहरूले माग राख्दै आएको समय थप गर्नुपर्ने विषयलाई नकार्दै उनले भने, ‘अब त्यसो हुँदैन । समय थप गर्ने सोचमा प्राधिकरण छैन ।’
प्राधिकरणले पुँजी वृद्धिलाई जोड दिनुको पछाडि मर्जरका लागि प्रोत्साहन गर्नु समेत कारण रहेको थियो । त्यसैले हकप्रद शेयर जारी गर्न नदिई मर्जर र एक्वीजिसनलाई प्राधिकरणले जोड दिँदा हालसम्म १२ वटा निर्जीवन र नौ वटा जीवन बीमा कम्पनीले मर्जर सम्बन्धी सम्झौता समेत गरिसकेका छन् ।
जसमध्ये कतिपयले त एकीकृत कारोबार समेत थालिसकेको अवस्था छ । आज चैत्र ९ गतेदेखि सानिमा लाइफ र रिलायन्स लाइफ ले सानिमा रिलायन्सको नामबाट एकीकृत कारोबार गरेका छन् भने गत पुस ७ गते देखि सूर्य र ज्योति लाइफ मिलेर सूर्य ज्योति लाइफको नाममा एकीकृत कारोबार गर्दै आएका छन् ।
निर्जीवन बीमा तर्फ हिमालयन जनरल र एभरेस्ट इन्स्यारेन्स, सगरमाथा र लुम्बिनी, प्रिमियर र सिद्धाथका साथै सानिमा र जनरल इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरिसकेका छन् । उता जीवन बीमा तर्फ प्राइम लाइफ, गुराँस लाइफ युनियन लाइफ एक हुँदै छन् भने प्रभु र महालक्ष्मीले पनि मर्जरमा जाने सम्झौता गरेका छन् ।
यसरी गाभिने तथा एक अर्कालाई प्राप्ति गर्ने क्रमबाट बनेका कम्पनीहरूको हकमा भने चुक्ता पुँजीको दबाब रहने छैन । उनीहरूले थप एक वर्षको समय प्राप्त गर्नेछन् ।
मर्जरमा गएका कम्पनीको कति पुग्यो चुक्ता पुँजी
मर्जरमा गएका बीमा कम्पनीहरूमध्ये निर्जीवन बीमा कम्पनीतर्फ सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मिलेर बनेको सलि इन्स्यारेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मिलेर बनेका सिद्धार्थ प्रिमियर इन्स्यारेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड पुगेको छ ।
हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्स मिलेर बनेको हिमालयन एभरेस्ट इन्स्यारेन्सको पनि बोनस शेयर वितरणपछिको चुक्ता पुँजी २ अर्ब ३० करोड पुग्नेछ । प्राधिकरणले तोकेको पुँजी पुर्याउन अझै १९ करोड ८४ लाख रुपैयाँ आवश्यक पर्नेछ ।
त्यस्तै, साबिक सानिमा जनरल र जनरल इन्स्योरेन्स मिलेर बनेको सानिमा जिआईसीको चुक्ता पुँजी २ करोड रुपैयाँ रहेको छ । प्राधिकरणले तोके बमोजिमको साढे दुई अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले अब ५० करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।
जीवन बीमा कम्पनीतर्फ
यता जीवन बीमा कम्पनी तर्फ मर्जरमा गई एकीकृत कारोबार गरेका कम्पनीहरूमध्ये सूर्य लाइफ र ज्योति लाइफ मिलेर बनेको सूर्य ज्योति लाइफको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । प्राधिकरणले तोके अनुसारको पुँजी वृद्धि गर्न ४६ करोड रुपैयाँ थप गर्नुपर्ने छ ।
त्यस्तै, रिलायन्स र सानिमा लाइफको एकीकृत कारोबार पछिको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख पुगेको छ । कम्पनीले थप ८१ लाख भन्दा बढी चुक्ता पुँजी थप गर्नुपर्ने छ । एकीकृत कारोबारको तयारीमा रहेका प्रभु र महालक्ष्मी लाइफ मर्ज भएर प्रभु महालक्ष्मी लाइफ बन्नेछ । मर्जरपछिको प्रभु महालक्ष्मीको चुक्ता पुँजी ४ अर्ब १० करोड हुनेछ । यी कम्पनीले ९० करोड रुपैयाँ थप गर्नुपर्ने छ ।
पुँजी वृद्धि गर्न बाँकी आठ निर्जीवन बीमा कम्पनी
यता निर्जीवन तर्फका ८ कम्पनीहरूको समितिले तोके अनुसारको चुक्ता पुँजी पुगेको छैन। निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्स ३० प्रतिशत हकप्रद शेयर जारी गरेर बीमा समितिले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने भएको छ ।
हाल शिखर इन्स्योरेन्सको चुक्तापँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार रुपैयाँ रहेको छ । पुँजी वृद्धिको लागि मर्जरमा नगएका निर्जीवन बीमा कम्पनीहरूमा नेपाल इन्स्योरेन्सको १ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
समितिले तोकेको पुँजी वृद्धिका लागि कम्पनीले १ अर्ब २५ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । त्यस्तै, नेको इन्स्योरेन्सले ७५ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।
समितिका अनुसार एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । उक्त कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने देखिन्छ । त्यस्तै, समितिले तोके अनुसार पुँजी वृद्धिका लागि प्रुडेन्सियल कम्पनीले १ अर्ब २९ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।
हाल उक्त कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २३ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ हाल उक्त कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
कति थप्नुपर्छ जीवन बीमा कम्पनीले
प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउने नसक्ने जीवन बीमा कम्पनीहरूमा युनियन लाइफ इन्स्योरेन्स, गुराँस, प्राइम, प्रभु, महालक्ष्मी, एसियन, लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान, सिटिजन, सन नेपाल लाइफ, रिलायबल, आइएमई लाइफ र मेट लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।
एसियन लाइफ इन्स्यारेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । समितिले तोकेको ५ अर्ब रुपैयाँ पुँजी वृद्धिका लागि उक्त कम्पनीले २ अर्ब ४८ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । त्यस्तै, लाइफ इन्स्योरेन्सको हाल चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ रहेको छ । कम्पनीले समितिले तोकेको पुँजी वृद्धिका लागि २ अर्ब ७८ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ३ करोड रुपैयाँ रहेको छ । समितिले तोके अनुसार उक्त कम्पनीले ९६ करोड ४८ लाख रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ उक्त कम्पनीले ३ अर्ब २५ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।
त्यस्तै, सन नेपाल लाइफ, रिलायबल, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । समितिले तोके अनुसारको चुक्ता पुँजीका लागि ३ अर्ब ६० करोड रुपैयाँ पुँजी थप पर्नुपर्नेछ ।
राष्ट्रिय बीमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ । समितिले तोके अनुरूपको पुँजी वृद्धिका लागि कम्पनीले अझै ४ अर्ब ८१ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस