aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 

अर्गानिक मलखाद उत्पादन गर्न साना उद्योग सञ्चालन गर्नेले यी नम्बरमा फोन गर्नु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ चैत्र २०७९
अर्गानिक मलखाद उत्पादन गर्न साना उद्योग सञ्चालन गर्नेले यी नम्बरमा फोन गर्नु
NIBL

धनुषा । मधेस प्रदेशका आठवटै जिल्लाका स्थानीय तहका सबै वडामा जैविक प्रविधिबाट अर्गानिक मलखाद उत्पादन गर्न साना उद्योग सञ्चालन हुने भएको छ । अर्गानिक मलखाद उत्पादनका लागि उद्योग सञ्चालनको प्रस्ताव जर्मनीको ‘वेल्ट हङ्गर हाइल्फ’ नामक संस्थाले गरेको मधेसm प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले जानकारी दिए ।

उनका अनुसार जर्मनीको उक्त कम्पनीले मधेसका सबै एक हजार दुई सय ७० वडामा मलखादको साना उद्योग सञ्चालनको प्रस्ताव गरेको छ । दातृ संस्थाले जमिन र प्रयोग हुने शेडबाहेक उद्योग सञ्चालनका लागि सम्पूर्ण समान, मेसिन, प्रविधि र प्रशिक्षण आदि उपलब्ध गराउनेछ ।

सबै वडामा सञ्चालन हुने उद्योगबाट भएका उत्पादनले रासायनिक मललाई विस्थापन गरी जमिनको उर्वरा शक्ति बढाउने मन्त्री कुशवाहाले बताए । उनले भने,  “रासायनिक मलमाथिको निर्भरता कम गर्न तथा अर्गानिक उत्पादनमा वृद्धि ल्याउन मधेस प्रदेशका सबै वडामा अर्गानिक मल उत्पादनका लागि उद्योग सञ्चालन गरिने भएको छ ।”

मन्त्री कुशवाहाले प्रस्तावअनुसार कार्यान्वयन पक्ष पनि अगाडि बढाइएको जानकारी दिए । उनले भने, “जमिन र भूमि उद्योग सञ्चालन गर्न चाहने किसान आफैँले बनाउनुपर्ने र त्यसबाहेक चाहिने मेसिन, प्रविधि र प्रशिक्षणलगायत सम्पूर्ण सामान दातृ निकायले उपलब्ध गराउनेछ ।”

उद्योग सञ्चालनका लागि इच्छुक किसान, समूह र संस्थालाई आवेदन पेस गर्न आह्वानसमेत गरिएको उनले बताए । मन्त्री कुशवाहाले उद्योग सञ्चालनका लागि इच्छुक व्यक्ति, समूह र संस्थालाई यही चैत २५ गतेभित्र सम्पर्क गर्न आह्वानसमेत गरिसक्नुभएको छ । उनले सम्पर्कका लागि ९८१७६१९०६९, ९८१६३३९४९४ र ९८११२९७४६० नम्बरसमेत सार्वजनिक गरेका छन ।

प्रतिक्रिया दिनुहोस