काठमाडौं । 'सहकारी' यो शब्द अहिले यति चर्चामा छ की यदि कसैले सहकारी मात्र भन्यो भने सुन्नेले सोच्छ, ठग्यो वा भाग्यो होला। तर, सबै सहकारीले ठगेका छैनन्। ती मध्ये धेरैले भाग्नुपर्ने अवस्था आउला भन्ने कल्पना समेत गर्दैनन्।
त्यस्तै मध्ये एक हो, हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था । जसले ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सबै सदस्यहरूका बिचमा एकताको भावनाको विकास गराउँदै आएको छ। आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समृद्ध, स्वावलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा टेवा पुर्याउने उद्देश्यका साथ खुलेको यो संस्था त्यही काममा दत्तचित्त छ, जुन यसको प्रारम्भिक उद्देश्य थियो।
सहकारी सिद्धान्तमा आधारित रहेर समुदायमा रहेको स्रोत–साधन, पुँजी तथा वस्तुहरूलाई एकीकृत गरी सोही समाजमा अधिकतम उपभोग गरी उदाहरणीय रुपमा समाजको रूपान्तरण गर्न सकिन्छ भन्ने विश्वास नै यसको आधार रहेको संस्थाका प्रबन्ध सञ्चालक सुमनविक्रम थापा बताउँछन् । काठमाडौँको तीनकुनेमा आफ्नै अत्याधुनिक भवन निर्माण गरी सोही भवनबाट सदस्यका विभिन्न उत्पादनहरूको बजारीकरण गर्ने देखी वित्तीय सेवा समेत दिने काम यसले गरिरहेको छ।
हिल टप जुनार सहकारी संस्थाको नाममा नै जुनारको उत्पादनलाई जोड्नुको खास कारण रहेको संस्थाका प्रबन्ध थापा बताउँछन् । ‘विशेष गरी सिन्धुली र रामेछापबाट काठमाडौं आई बसोबास गरेका कृषकहरूको मौलिक उत्पादनको बजारीकरणका निम्ति टेवा पुर्याउनुपर्छ भन्ने उद्देश्यले जुनार नाम जोडेर बजारीकरणका लागि योगदान गर्ने उद्देश्य सहित काठमाडौंमा यो सहकारीको परिकल्पना गरेका हौँ’, उनले भने ।
बेरोजगारी घटाउने लक्ष्य
बेरोजगारीले जर्जर भएको अवस्था र बाँच्नका निम्ति विदेशी भूमिमा श्रम बेच्न बाध्य भएको अवस्थालाई जोगाउन सकिन्छ र आयातमुखी अर्थतन्त्रमा सहकारीका माध्यमबाट आयातलाई रोक्दै स्वावलम्बी अर्थतन्त्रमा टेवा पुर्याउन सकिन्छ भन्ने परिकल्पना गर्दै यो खोलेको सञ्चालक थापाको भनाई छ। ‘सहकारी क्षेत्रबाट पनि राष्ट्रको अर्थतन्त्रमा टेवा पुर्याउन र गरिबी र बेरोजगारीको अन्त्यका लागि पनि योगदान गर्नका लागि यो सहकारीको सुरुवात गरेका हौँ’, उनले सुनाए । ।
उनका अनुसार बचत तथा ऋण सहकारीले बचत र ऋणको कारोबार गर्छन् भने बहुउद्देश्यीय सहकारीले बचत ऋण बाहेकका धेरै क्षेत्रमा काम गर्छन् । सो सहकारीले विशेष गरी उत्पादनमूलक क्षेत्रमा काम गरेको उनले बताए ।
अहिले संस्थाले बचत ऋणका साथ–साथै उत्पादनका जोडिएका कृषक सदस्यहरुलाई व्यवसायी बनाउनका लागि प्रेरित गर्ने सिप, प्रविधि र पुँजी हस्तान्तरण गर्ने काम गरिरहेको छ । सदस्यहरूको उत्पादनलाई खरिद गरी, बिक्री वितरण गरेर कृषकको बजारीकरणका लागि पनि टेवा पुर्याएको उनले सुनाए । संस्थाले उपभोक्ता पसल सहकारी पनि सञ्चालन गरेको छ ।
दूधमा जोड दिँदै छुर्पी निर्यात
उनले भने,‘दूध उत्पादनका लागि पशुपालन क्षेत्र भनेर बढी प्राथमिकतामा राखेका छौँ । पशुपालनका लागि आवश्यक पुँजी, प्रविधि हस्तान्तरण गरी आवश्यकता अनुसार सहुलियतमा ऋण पनि दिने गरेका छौ । दूध उत्पादनलाई प्राथमिकता दिएर त्यसलाई खरिद गर्ने र बजारीकरण गरेर सो पुँजी सदस्यहरूलाई नै फिर्ता गर्ने गरेका छौ ।’
उनका अनुसार सो सहकारी दूध उत्पादनमा लागेका १४ महिना भयो । यसका लागि सिन्धुलीको गोलञ्जोर गाउँपालिकालाई केन्द्रित गरेको उनले बताए । ‘सो क्षेत्रका ३३३ जना कृषकलाई सहकारीमा आबद्ध गराई पशुपालन गर्न इच्छुक ६७ जना कृषकलाई पशुपालनमा केन्द्रित गराएका छौ’,थापाले भने, ‘उनीहरूले भैँसी पालन गर्छन् । संस्थालाई दूध बिक्री गर्छन् । मासिक १५ हजार रुपैयाँ देखि ८० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।’
अहिले बजारमा बचत र ऋणको कारोबार गर्दा लगानीको विविधीकरण गर्ने नाममा कुन क्षेत्रमा कति लगानी गर्न आवश्यक छ भन्ने कुरा अध्ययन नगरी लगानी गरेको पाइएको उनको भनाई छ । ‘त्यसरी लगानी गर्दा अनुत्पादन क्षेत्रमा बढी लगानी भएको पाइयो । लगानी गरेको सो क्षेत्र समस्यामा परेपछि अहिले सहकारीलाई पनि क्षति पुगेको छ’, उनले भने ।
अनुत्पादन क्षेत्रमा हुने लगानीको सम्भावना पहिले नै अध्ययन गरेका कारण आफ्नो सहकारीमा क्षति नपुगेको उनको भनाई छ । उनले भने, ‘हामीले उत्पादन मूलक क्षेत्रलाई नै प्राथमिकतामा राख्नुपर्छ भनेर ७० प्रतिशत लगानी उत्पादन मूलक क्षेत्रमा गरेका छौ । कृषिमा ३० प्रतिशत लगानी रहेको छ ।’
उनका अनुसार सहकारीले सञ्चालन गरेको उक्त फार्मबाट प्रतिदिन सरदरमा २ हजार लिटर दूध प्रशोधन हुने गर्छ । यसका साथै संस्थाले दुधौली नगरपालिकामा अर्को प्रशोधन उद्योग विस्तार गर्ने तयारी गरेको उनले जानकारी दिए ।
‘हाम्रो उद्योगमा मुख्यतया छुर्पी र घिउ उत्पादन हुन्छ । अमेरिका लगायतका युरोपियन मुलुकहरूमा यसको निर्यात गर्ने गरी छुर्पीको उत्पादन गर्न गरेका छौ । छुर्पी बनाउँदा निस्केको घिउ काठमाडौं, पोखरा, पर्वत र चितवन लगायतका क्षेत्रमा सदस्यहरू मार्फत बिक्री वितरण गर्ने गरेका छौँ’, उनले सुनाए ।
उनका अनुसार सहकारीको मासिक २ हजार केजी छुर्पी निर्यात गर्ने क्षमता रहेको छ ।संस्थाले एक वर्षमा २४ हजार केजी छुर्पी निर्यात गरेको उनले जानकारी दिए ।
निर्यातमा समस्या, बेखबर सरकार
उत्पादन भएका वस्तुको निर्यातमा धेरै वाधा र व्यावधानहरु रहेको उनले बताए । उनका अनुसार सहकारीले उत्पादनमा जोडिएर आयातलाई प्रतिस्थापन गर्नुपर्ने, राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि निर्यातलाई बढाउनुपर्ने र मुलत व्यावसायिक काममा सहकारीले गर्नुपर्ने काम र उसको भूमिका देखिनुपर्ने हो । सहकारी ऐनमा यी सबै कुरा गर्न पाउने व्यवस्थाहरु पनि छन् ।
तर, प्रशोधन, लेबलिङ र ब्राण्डिङ गर्नेदेखि निर्यातसम्म जाँदा अन्य कानुनहरू सहकारीमुखी नभएको उनको भनाई छ । ‘सरकार सहकारी मैत्री छैन। अहिले पनि हामी मासिक २ हजार केजीको दरले छुर्पी निर्यात गरेका छौ । तर, संस्था आफूले निर्यात गर्न सकेको छैन । हामीले अर्को बिचौलिया खोजेर निर्यात गर्नुपरेको अवस्था छ । निर्यातमा सरकारले दिएको सहुलियतको छुट पनि हामीले पाएका छैनौँ’, उनले भने ।
‘विदेशमा निर्यात गरेपछि डलर पुँजी आउँछ । त्यो पनि अरूले नै खाइरहेका छन् । हामीले काम गरेका छौ भन्दै गर्दा साँच्चिकै निर्यात सहकारीको नामबाट कति भयो भनेर खोजी गर्दा नेपालमा भएको कानुनी अड्चनका कारण र सरकारी निकायको असहयोगका कारणले गर्दा हामीले देखाउन सकेका छैनौ’, उनले भने ।
उत्पादनमा काम गरेका सहकारीलाई टेवा पुर्याउनका लागि राज्यको कुनै निकाय छ भन्ने नलागेका उनी बताउँछन् । उनी भन्छन्, ‘उत्पादनमा काम गरेका सहकारी प्रति राज्य बेखबर छ ।’
सहकारी नै नबुझेका अभियन्ता
सहकारीका सिद्धान्तहरुलाइृ आत्मसात् गरेर नै अघि बढेको उनको दाबी छ । उनी भन्छन्, ‘सहकारी सञ्चालनका सात सिद्धान्त सबैका लागि एउटै हो । ती सिद्धान्त र कार्यान्वयनका क्रममा केही अन्तर पर्यो होला । ती मूल्य मान्यता र सिद्धान्तलाई पालना गर्न अथक प्रयास गरेका छौँ । सहकारी कसरी अघि बढाउने भन्ने आधार नै सिद्धान्त हो ।’
अहिले बचत ऋणको कारोबार गर्ने सहकारीमा मात्र नभई सबै क्षेत्रका सहकारीमा सङ्कट छाएको उनको भनाई छ । उनका अनुसार सहकारीमा सङ्कट आउनुको कारण संस्थालाई कसरी व्यवस्थापन गरियो भन्ने कुराले निर्भर गरेको छ । सिद्धान्त र विधिमा नचलेका सबै सहकारी सङ्कटमा परेका छन् । ‘संस्था सञ्चालन गर्दा सिद्धान्तलाई कार्यान्वयन गर्नका निम्ति व्यक्ति केन्द्रित भन्दा पनि नीति र विधि केन्द्रित संस्था निर्माणमा जोड दिएका कारण हामी व्यवस्थित छौ’, उनले भने ।
अहिले सहकारी क्षेत्रमा देखिएको समस्या नियामकमा मात्रै होइन अभियानमा पनि रहेको उनको भनाई छ । अभियानमा सहकारी बुझेका, सहकारीलाई कसरी नेतृत्व गर्ने, भूमिका र अभिभावकत्व कसरी प्रदान गर्ने भन्ने सोचका साथ भन्दा पनि अमुक दलका नेतालाई रिझाएर भागबन्डामा नेता बन्नका निम्ती काम गरेका मान्छेहरूले नेतृत्व गरिरहेको थापा बताउँछन् ।
‘अहिले सहकारी क्षेत्रमा जुन खालको चुनौती सिर्जना भएको छ । त्यो चुनौतीको समाधान के हो भन्ने पनि थाहा छैन । सहकारी के हो भन्ने पनि नबुझेको र नेता बन्नका निम्ति कुनै अमुक दलमा लागेर ती दलका मान्छेलाई रिझाएर त्यहाँ पुगेकाहरूबाट यसको उचित व्यवस्थापन हुन सकेको छैन । अभियानले सबल नेतृत्व गर्न सकेको छैन’, उनी भन्छन् ।
अहिले सहकारीमा आएको सङ्कटका बेला नियामक निकाय निदाएर बसेको उनी सुनाउँछन् । प्रबन्ध सञ्चालक थापा भन्छन्, ‘यती धेरै सङ्कट देखिएको छ । नियामक निकाय निदाएका मात्र छैनन्, खुच्चिङ पनि मनाइरहेका छन् । सहकारी ठिक होइन भन्ने नियामक निकायकै विश्लेषण छ। यति बेला सहकारी क्षेत्र अभिभावकविहीन जस्तो भएको छ ।’
उनका अनुसार सहकारीले सरकार र अभियानले पनि हेरेको छैन । सहकारीमा लागेका ७० लाख भन्दाबढी मान्छेहरू विचलित भएका छन् । ‘उनीहरूलाई हामी छौँ भनेर ढाडस दिने कोही छैनन् । सहकारीको संरक्षणका निम्ति भूमिका निर्वाह गर्नुपर्ने कुरामा राज्य, अभियान र नियामक कसैको पनि गतिविधि देखिएको छैन’, उनले गुनासो गरे ।
अपराधी होइनन् सहकारी सञ्चालक
सहकारीको साख जोगाउन त्यसको सुरुवात सहकारीबाट नै हुनुपर्ने उनको भनाई छ । अहिले देखिएको समस्यामा बाह्य कारणहरू पनि छन् । कोरोना महामारी, भूकम्प र रुस युक्रेनको द्वन्द्वका कारण आर्थिक चलायमान हुन सकेन । ‘सदस्यहरूको बचत घट्यो, ऋण तिर्न सकेनन् होला यो एउटा सान्दर्भिक विषय हो ।
त्यति मात्र नभएर ठूलो समस्या आन्तरिक व्यवस्थापनमा नै छ । संस्थामा जम्मा भएको स्रोत व्यक्तिगत सम्पत्ति सरह मन लागे राख्ने, मन नलागे झिक्ने प्रवृत्ति छ । यो पनि आन्तरिक समस्या हो’, उनले सुनाए ।
उनका अनुसार संस्था सुरुवातको प्रारम्भिक चरणमा ख्याल नगर्दा नै यो अवस्था देखिएको हो । यसको अर्थ सुरक्षित संस्थामा पनि समस्या आउँदैन भन्ने होइन । बाह्य तत्त्व पनि अर्को चुनौती हो । सहकारी भनेको कानुनी रुपमा वैधता प्राप्त गरेका र सङ्गठित रुपमा अपराध गर्नेहरूको सङ्गठन हो भन्ने तरिकाले व्याख्या विश्लेषण गर्ने तत्त्वहरू पनि हाबी भएको उनले बताए ।
‘तर, यसो होइन । अर्थतन्त्रका तीन खम्बा मध्ये एउटा खम्बा सहकारी पनि हो भन्दै गर्दा राज्यले किन सहकारीलाई एउटा खम्बा रुपमा लियो, त्यसको पछाडिको कारण के थियो ? सहकारी के हो भन्ने कुरा प्रारम्भिक चरणमा नै संस्थाहरू सँगसँगै राज्यले पनि जिम्मेवार ढङ्गबाट राज्यले सदस्यहरूलाई आवस्त पार्ने काममा अगाडी बढ्नुपर्छ’, उनले भने ।
सहकारी संस्थामा विकृति र विसङ्गतिहरू भए पनि विकृति देखिए भन्दैमा विचलित हुनुपर्ने अवस्था नरहेको उनले बताए । उक्त सहकारीको सेवा केन्द्र ५ वटा जिल्लामा फैलिएको छ । विशेष गरी ग्रामीण भेगमा रहेको सिन्धुली जिल्लालाई प्राथमिकता दिएका प्रबन्ध सञ्चालक थापाले बताए ।
हाल उक्त संस्थामा तीन हजार २५३ सदस्य सङ्ख्या रहेका छन् । संस्थाको शेयर पुँजी ५ करोड ३ लाख ४७ हजार रुपैयाँ रहेको छ । कर्जा लगानी ४२ करोड १७ लाख ५५ हजार रुपैयाँ रहेको छ । नेपाल सरकारको डिभिजन सहकारी डिभिजन कार्यालय काठमाडौँबाट २०६६ साउन ३० गते दर्ता भई सहकारीको रुपमा कारोबार गर्न इजाजत प्राप्त गरेको समुदायमा आधारित सहकारी संस्था हो, हिल टप जुनार बहुउद्देश्यीय।
प्रतिक्रिया दिनुहोस