
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेटले पछिल्ला दिनमा पाएको सफलताको जस बोकेका मुख्य प्रशिक्षक मोन्टी देसाईले आफुले नेपाललाई भारतमा क्रिकेट खेल्ने वातावरण मिलाउन पहल गरिरहेको बताएका छन्। भारतीय क्रिकेट अनलाइन क्रिकबजसँगको कुराकानीमा प्रशिक्षक देसाईले आफूले आईसीसी र बीसीसीआईका सचिवसमेत रहेका एसियाली क्रिकेट परिषद्का अध्यक्ष जय शाहसँग त्यसबारेमा कुराकानी गरेको बताएका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) सँग नेपाली टिमलाई भारतमा खेल्ने वातावरण मिलाउन आग्रह गरेको जानकारी दिँदै उनले भनेका छन्, 'मैले आईसीसी र बीसीसीईका सचिव तथा एसीसी अध्यक्ष जय भाइसँग कुरा गरेको छु । स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीले इंग्ल्यान्डमा खेलिरहेका छन् । हाम्रो टिमलाई पनि भारतमा खेल्न दिइनुपर्छ। यदि त्यसो भएमा हामीले आगामी ४ वर्षमा टेस्ट खेल्ने राष्ट्र बन्न सक्छौँ ।'
डेढ महिना अघि माघ २३ गते देखी मात्रै नेपालको मुख्य प्रशिक्षक सम्हालेका देसाईले पछिल्ला १२ मध्ये ११ महत्त्वपूर्ण खेलमा जित दिलाउँदै नेपाललाई विश्वकप क्वालिफायरमा छनोट गराउन सफल भएका छन् । उनले नेपालको क्रिकेटलाई आइसिसीको पूर्ण सदस्य बनाउन आफू लागि परेको समेत बताएका छन्। त्यसबारे बोल्दै उनले भने, 'अफगानिस्तानसहित हाम्रा धेरैजसो छिमेकी देशहरू पूर्ण सदस्य छन् । अफगानिस्तान र नेपालको क्रिकेट यात्रा सँगसँगै जस्तो सुरु भएको हो ।'
मुख्य प्रशिक्षक देसाईले नेपाली प्रशंसकहरूको खेलप्रतिको आकर्षणको पनि प्रशंसा गरेका छन् । ड्रेसिङ रुमबाट रुख-रुखमा प्रशंसकहरूलाई देख्दा आफू चिन्तितसमेत बनेको बताउँदै उनी भन्छन्, 'प्रशंसकहरू जताततै थिए, रुखमा, सडकमा पर्खालमा घरका छतहरूमा । रुखका हाँगा भाँचिन्छ कि भनेर म चिन्तित पनि थिएँ ।'
प्रतिक्रिया दिनुहोस