aarthiknews.com सोमबार, १५ जेठ २०८०   Monday, 29 May, 2023
 

गगन थापा बन्दैछन् अर्थमन्त्री ? आज विश्वासको मत लिएपछि मन्त्रालय बाँडफाँट गर्दै प्रधानमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ चैत्र २०७९
Prabhu Bank
गगन थापा बन्दैछन् अर्थमन्त्री ? आज विश्वासको मत लिएपछि मन्त्रालय बाँडफाँट गर्दै प्रधानमन्त्री
NIBL

काठमाडौं । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेको छ । आज ६ गते प्रतिनिधिसभाको बैठक बसिरहेको छ । संसदको बैठक बसेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ । हाल प्रधानमन्त्री दाहालले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

रास्वपा, राप्रपा र नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि उनीहरुले सम्हालेको मन्त्रालय नेतृत्वविहीन बन्न पुगेको छ । अब विस्तार हुने मन्त्रिपरिषद्मा एमालेले राजीनामा दिएका आठवटा मन्त्रालय र गृहमन्त्रालय समेत काँग्रेसले लिने तयारी भैरहेको एक नेताले बताएका छन् ।

एमालेले सम्हालेका अर्थ, परराष्ट्र, महिला तथा बालबालिका, भूमिसुधार, उद्योग, स्वास्थ्य, रक्षासहितका मन्त्रालय अहिले मन्त्रीविहीन अवस्थामा छन् । यी बाहेक काँग्रेसले गृहमन्त्रालयमा पनि दाबी गरेको छ ।

काँग्रेसबाट परराष्ट्रमन्त्रीमा डा. शेखर कोइराला र डा। आरजु राणा देउवाको चर्चा चलेको जानकारहरुले बताएका छन् । दाहाल नेतृत्वको सरकारमा काँग्रेसबाट कस्ले नेतृत्व गर्ने भन्नेमा हानथाप शुरु भएको छ ।

पुराना प्रयोग भै सकेका नेताहरुलाई भन्दा नयाँ अनुहारलाई मापदण्ड बनाएर सरकारमा पठाउनुपर्ने चर्चा चलेको छ । महिलाबाट सीता गुरुङ र पुरुषबाट प्रदीप पौडेल, धनराज गुरुङ मन्त्री बन्ने प्रवल संभावना रहेको बताइन्छ ।

यसैगरी शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अवस्थामा मन्त्री बन्नबाट नैतिक रुपमा रोकिने संभावना भएकी डा. आरजु राणा देउवा पनि अहिलेको मन्त्रिमण्डमा पर्ने संभावना रहेको भनी काँग्रेसवृत्तमा चर्चा चलेको छ । गृहमन्त्रालय पाए उपसभापति पूर्णबहादुर खड्का र अर्थमा गगनकुमार थापाको चर्चा चलेको छ । यद्यपि उनीहरुले मन्त्री नबन्ने बताएका छन् । 

प्रधानमन्त्रीको चाहना अर्थमा गगन
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘ग्रीन सिग्नल’ दिएमा प्रधानमन्त्री पुष्पकमल दाहालको चाहनामा आगामी अर्थमन्त्री काँग्रेस महामन्त्री गगनकुमार थापा हुने भएका छन् ।

कार्यक्षमताका हिसाबले काँग्रेसमा अर्थसम्बन्धी जानकारहरु भन्दा थापा अब्बल मानिन्छन् । थापाले स्वास्थ्यमन्त्री हुँदा सुधारका कामहरु थालनी गरेका थिए ।

संसदीय दलको चुनावमा पराजित भएपछि थापाले मन्त्री नबने बताए पनि प्रधानमन्त्री दाहालको रुचि अर्थमन्त्रीमा थापाप्रति रहेको समाचार श्रोतले बताएको छ । नयाँ विमर्शले लेखेको छ । 

आफ्नै पार्टीका नेता जनार्दन शर्मालाई अर्थमन्त्री बनाएपछि ध्वस्त बनेको अर्थतन्त्र फेरी माओवादीको भागमा राख्ने पक्षमा प्रधानमन्त्री छैनन् ।

पूर्वअर्थमन्त्री शर्माले भन्सार विभाग र आन्तरिक राजश्व विभागको महानिर्देशक बनाएर पठाएका चक्रबहादुर बुढा र दीर्घराज मैनालीले पनि राजश्व संकलन गर्न चाहेर पनि व्यापारीहरुले नटेरेको चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस