पाइपबाट नेपालमा पेट्रोलियम पदार्थ, अब तेल ढुवानी सहज हुने - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

पाइपबाट नेपालमा पेट्रोलियम पदार्थ, अब तेल ढुवानी सहज हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
Sunrise bank
पाइपबाट नेपालमा पेट्रोलियम पदार्थ, अब तेल ढुवानी सहज हुने
LBEF
NCH-IPS

अमलेखगञ्ज । नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनको मंगलबार औपचारिक उद्घाटन भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले विद्युतीय माध्यम रिमोटद्वारा पाइपलाइनको औपचारिक उद्घाटन गरेका हुन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट रिमोर्टमार्फत पाइपलाइनको उद्घाटन गरेका हुन् । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन नेपालतर्फ ३६ किमी र बाँकी २७.२ किमी भारततर्फ गरी कुल ६९.२ किलोमिटर पाइपलाइन बिछ्याइएको छ । 

पेट्रोलियम पाइपलाइनको सुरुवात भएसँगै अब नेपालमा तेल ढुवानी सहज हुने भएको छ । अब ढुवानी लागत, बाटोको कठिनाइ, जोखिम लगायतका विविध समस्याहरु हल हुने र यसले पेट्रोलियम पदार्थको बजार मूल्यमा समेत फरक पार्ने नेपाल आयल निगमले जनाएको छ ।

पहिलो चरणमा  पाइपलाइन मार्फत डिजेल आपूर्ति गरिएको छ ।  पर्याप्त पूर्वाधार र भण्डारण व्यवस्थापन पछि भने मट्टीतेल र पेट्रोल समेत सोही पाइप मार्फत ढुवानी गरिने इन्डियन आयल निगम र नेपाल आयल निगमले बताएको छ । अहिले अमलेखगञ्ज पेट्रोल पम्प डिपोमा  १६ हजार किलोलिटर तेल भण्डारण क्षमता रहेको छ । 

डिपोमा तेल आपूर्तिसँगै तेलको  परीक्षण, सप्लाई र भण्डारण सम्मका सबै व्यवस्थापन मिलाइएको छ । यसअघि ट्याङ्करले भारतबाट नेपाल तेल ढुवानी गर्दै आएको थियो । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रने छ ।

पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ । मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ २६ दशमलव २ र भारततर्फ ३३ दशमलव ६९ किलोमिटर रहेको छ ।

पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइप लाइन परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च कटौती हुनेछ ।

पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानीलागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ ।

पाइपलाइन परियोजना उद्घाटनको सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूर्ण भएको नेपाल आयल निगमले जनाएको छ । परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगन्जमा हुनेछ । यसका लागि निगमको उच्च अधिकारी सम्मिलित टोली अमलेखगन्ज पुगिसकेको छ ।

निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो । सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र उहाँको भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो ।

निगमको नेतृत्व सम्हाल्ले लगत्तै कार्यकारी निर्देशक पौडेलले उक्त परियोजनालाई तोकिएको समयभित्रै सम्पन्न गर्न ताकेता तथा कुनै समस्या देखिए समाधानका लागि सहजीकरण गर्दै आउनुभएको थियो । सो परियोजना निर्माणमा नेपाल र भारत सरकारले अत्यन्त चासो व्यक्त गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उहाँका भारतीय समक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा पाइपलाइन परियोजनाको शिलान्याश गरेकाे थियो । परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ (नेपाली रुपैयाँ करीब चार अर्ब ४० करोड) रहेको छ ।

प्रतिक्रिया दिनुहोस