
काठमाडौं । चोरीको आरोप लागेका एक बालकलाई शंकास्पद अवस्थामा फेला पारिएको छ । सिरहाको अर्नमा गाउँपालिका ४ लक्ष्मीपुरमा बालकको शव शंकास्पद अवस्थामा तरकारी बारीमा फेला पारिएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार स्थानीय बेचन महराका ११ वर्षीय छोरा निरजलाई मृत भेटिएको छ । उनको शव घरदेखि करिब एक किलोमिटर दुरीमा रहेको एकान्त तरकारी खेत नजिकै भेटिएको हो ।
शुक्रवार बिहान स्थानीय पबित्तर महतोको पसलमा चोरी भएको र उक्त चोरीमा पाँच जनाको संलग्नता रहेको आशंका गरिएकोमा एकजना ती बालक पनि रहेका थिए । पसलमा चोरीको आरोपमा पसल सञ्चालक महतो र गाउँपालिकाले दुई जनालाई पक्रेर वडा कार्यालयको निगरानीमा घरमै थुनेर राखेका थिए भने निरजसहितका ३ जना भने फरार रहेका थिए ।
राति समेत घरमा नगएका बालक निरज आज बिहान करिब ९ बजे खेतमा मृत फेला परेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस