विश्वकै सस्तो पर्यटकिय गन्तव्यको १५ औँ स्थानमा नेपाल - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

विश्वकै सस्तो पर्यटकिय गन्तव्यको १५ औँ स्थानमा नेपाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
Sunrise bank
विश्वकै सस्तो पर्यटकिय गन्तव्यको १५ औँ स्थानमा नेपाल
LBEF
NCH-IPS

काठमाडौं । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा रहेको नेपाल विदेशी पर्यटकका लागि विश्वमै सस्ता गन्तव्यका रूपमा रहेको तथ्य सार्बजनिक भएको छ । वर्ल्ड  इकोनोमिक फोरमले हालै सार्बजनिक गरेको ‘यात्रा तथा पर्यटन प्रतिस्पर्धी सूचक–२०१९’ प्रतिवेदन अनुसार कम खर्चमै घुमघाम गर्न सकिने देशमध्ये नेपाल पनि अगाडि रहेको देखिएको हो । प्रतिवेदनमा समेटिएका विश्वका १४० वटा देशमध्ये मूल्य प्रतिस्पर्धी सूचकमा नेपाल १५ औँ स्थानमा रहेको छ ।

प्रतिवेदन अनुसार इरान पर्यटकका लागि विश्वकै सबैभन्दा सस्तो देशका रूपमा रहेको छ । त्यस्तै वेलायत पर्यटकका लागि विश्वकै महँगो देशका रूपमा रहेको उल्लेख छ । छिमेकी मुलुक भारत सस्ता मुलुकको सूचीमा १३ औँ स्थानमा छ । बु्रनाई, इजिप्ट, कजाखस्तान, मलेसिया सस्ता गन्तव्यको क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन् । नेपाल यस्तो सूचीमा अघिल्लो वर्ष १९ औँ स्थानमा थियो ।

मूल्य प्रतिस्पर्धी सूचकमा खास गरी चारवटा पक्षलाई गणना गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये टिकट कर तथा विमानस्थल शुल्क, होटल शुल्क, खरिद क्षमता र इन्धन मूल्यलाई आधार बनाएको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान सेवा प्रदान गरिरहेका विमान कम्पनीले इन्धनको मूल्य बढी भएको गुनासो गरिरहँदा प्रतिवेदनले इन्धनको मूल्यका हिसाबले नेपाल विश्वकै ३९ औँ सस्तो देशका रूपमा रहेको उल्लेख गरेको छ ।

प्रतिवेदन अनुसार नेपालले सन् २०१८ मा प्रतिपर्यटक औसत ७७ हजार रुपियाँ (६७० डलर) आम्दानी गरेको उल्लेख छ । सो वर्ष कुल नौ लाख ४० हजार पर्यटक भित्रिएकोमा नेपालले ६२ करोड ९८ लाख डलर विदेशी पर्यटकबाट आम्दानी गर्न सफल भएको छ ।

पर्यटन क्षेत्रको आकार कुल गार्हस्थ्य उत्पादनको ३.६ प्रतिशत अर्थात एक अर्ब एक करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । यो क्षेत्रबाट चार लाख ५४ हजारले रोजगारी पाएको पनि उल्लेख गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस