
काठमाडौं । बुट्टेदार लेहंगा चोली, पहेंलो अग्रान, घाँटीमा चाँदीका सिक्का जोडिएका माला र हातमा चाँदीका बाला अनि पिठ्यँुमा थियो झोला । त्रिभूवन नमुना माध्यमिक विद्यालय भुरीगाउँमा ९ कक्षामा पढ्ने नीरा थारू कुनै विवाह भोजका लागि सजिएकी भने होइनन् । उनी त सधैंझै पढ्नका लागि विद्यालय जान सजिएकी हुन् । सधैं विद्यालय पोसाकमा जाने नीरा मंगलबार भने आफ्नो जातिको संस्कृति झल्कने पोसाकमा विद्यालय पुगेकी थिइन् । विद्यालयले त्यो दिन आ–आफ्नो संस्कृति झल्कने वेशभूषामा विद्यालय आउनका लागि छुट दिएपछि उनी थारू संस्कृति झल्कने वेशभूषामा सिँगारिएर विद्यालय आएकी हुन् ।
उनी मात्र होइन, विद्यालयका बालविकासदेखि १२ कक्षासम्मका अधिकांश विद्यार्थी आ–आफ्नो सांस्कृतिक पोसाक लगाएर विद्यालय पुगेका थिए । विद्यार्थीसँगै शिक्षक पनि आफ्नो संस्कृति झल्कने पोसाकमा सजिएर विद्यालय आएका थिए । सधैं समान तथा एकैनास देखिने विद्यार्थीमा विविधता देखिन्थ्यो । कक्षा कोठा र विद्यालयको प्रांगण त्यस दिन रंगीनमय बनेको थियो । शिक्षक विद्यार्थी सबैजना रंगीविरंगी देखिन्थे । उनीहरूको अनुहार, हाउभाउ हेर्नलायक थियो । विद्यार्थीहरूको अनुहार कौतुहल र प्रशन्नताले भरिएको देखिन्थ्यो । विद्यार्थीहरू एकले अर्काको पोसाक हेरेर मक्ख देखिन्थे । सधैं एकै पोसाकमा देखिने सहपाठीलाई सांस्कृतिक पोसाकमा देख्न पाउँदा दंग परेका थिए । कक्षा कोठामा एकले अर्काको संस्कृति र वेशभूषाकाबारेमा चासो राख्दै सोधखोजी पनि गरेको देखिन्थ्यो ।
‘हामी हाम्रो संस्कृतिमा रमाउँछौं, हामी हाम्रो संस्कृतिमा गर्व गर्छौं’ भन्ने मूल आशयलाई आत्मसात गर्दै विद्यालयले एक दिन विद्यार्थी, शिक्षक र कर्मचारीलाई परम्परागत मौलिक सांस्कृतिक वेशभूषामा विद्यालय आउने कार्यक्रम बनाएकाले विद्यार्थी शिक्षक आ–आफ्नै वेशभूषामा विद्यालय पुगेका हुन् ।
विद्यालय समाजको ऐना भएकाले विद्यालयभित्र सामाजिक तथा सांस्कृतिक विविधतालाई प्रतिबिम्बित गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक वामदेव ढकालले बताए ।
उनले भने, ‘विद्यालय समाजको एक अभिन्न अंग हो, समुदायका विभिन्न जाति, क्षेत्र र धर्मका सांस्कृतिक पहिरनकोबारेमा विद्यार्थीलाई जानकारी प्रदान गर्न सांस्कृतिक वेशभूषामा विद्यालय प्रवेश कार्यक्रम गरिएको हो ।’
११ कक्षामा अध्ययनरत मुस्लिम समुदायकी यमन बानुले आफ्नो सांस्कृतिक वेशभूषामा विद्यालय प्रवेश गर्न पाउँदा निकै खुसी तथा गर्व लागेको बताइन् । आफ्नो सांस्कृतिक पहिरनमा विद्यालय आउन पाउँदा गर्व गर्दै उनले भनिन्, ‘मलाई विद्यालय पोसाकमा देख्दा साथीहरूले हिन्दू धर्मको अनुयायी ब्राह्मण, क्षेत्री भन्ठान्थे होला । आज आफ्नै पहिरनमा उपस्थित भएर मैले सबैका सामु मुस्लिम महिला हुँ भन्ने देखाउन पाउँदा गर्वको अनुभव गरेको छु ।’
प्रतिक्रिया दिनुहोस