aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

उपराष्ट्रपतिमा गठबन्धन दुईधार भएपछि एमालेमा जाग्यो आशा

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • बुधबार, ०१ चैत्र २०७९
उपराष्ट्रपतिमा गठबन्धन दुईधार भएपछि एमालेमा जाग्यो आशा
NIBL

काठमाडौं । उपराष्ट्रपति पदका लागि आधिकारिक उम्मेदवारका विषयलाई लिएर सत्तारूढ गठबन्धन विभाजित बनेको छ । राष्ट्रपति पदमा रामचन्द्र पौडेललाई मतदान गर्न एक भएका गठबन्धन आबद्ध दलहरू उपराष्ट्रपति पदमा भने विभाजित बनेका हुन् ।

गठबन्धनमा आबद्ध मुख्य चार दलले जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका रामसहाय यादवलाई समर्थन गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले यादवका पक्षमा मतदान गर्नेगरी आन्तरिक तयारी गर्ने र सोहीअनुसार पार्टीका सांसदलाई सर्कुलर गर्नेगरी रणनीति बनाएका हुन् ।

आसैआसमा एमाले
यस्तै, गठबन्धन आबद्ध दलहरू लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले जनमत पार्टीबाट उम्मेदवार बनेकी ममता झालाई समर्थन गर्ने निर्णय गरिसकेका छन् । राष्ट्रिय जनमोर्चाले उपराष्ट्रपति पदमा कसलाई सघाउने निर्णय गरेको छैन भने राष्ट्रपतिमा पौडेलका पक्षमा उभिएको अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि गठबन्धनमा आबद्ध दलका उम्मेदवारलाई मत दिने पक्षमा छैन ।

कांग्रेसले यादवका पक्षमा आधिकारिक निर्णय गर्न आज ११ बजे कार्यसम्पादन समिति बैठक नै डाकेको छ । कार्यसम्पादन समितिको बैठकमार्फत जसपाबाट उपराष्ट्रपति पदका उम्मेदवार बनेका यादवका पक्षमा निर्णय हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

‘जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार बनेका रामसहाय यादवका पक्षमा कांग्रेसले कार्यसम्पादन समितिबाट आफ्नो मत दिने निर्णय गर्छ, यो पहिलेकै सहमति हो,’ कांग्रेसका एक पदाधिकारीले राजधानीसँग भने ।

कांग्रेस पदाधिकारीहरू कार्यसम्पादन बस्नुअघि अनौपचारिक छलफलका लागि मंगलबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेका थिए । सो बैठकमा सरकारमा पार्टीको सहभागिताका विषयमा पनि छलफल भएको ती कांग्रेस पदाधिकारीले जानकारी दिएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जना उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । जसअनुसार सत्तारूढ गठबन्धनबाट तीन जना र नेकपा एमालेबाट एक जनाको गरी चार जनाको उम्मेदवारी कायम भएको छ ।

तर, जसपाबाटै उपराष्ट्रपति उम्मेदवार बनेकी प्रमिला यादवले आफ्नो उम्मेदवारीबाट पछि हटेको घोषणा गरीसकेकी छन् । उनले सोमबार आफ्नो समर्थन रामसहायलाई हुने भन्दै विज्ञप्ति प्रकाशित गरी आफू पछि हटेको घोषणा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस