अपत्यारिलो गरि झापामा फल्यो स्याऊ (तस्बिर सहित) - Aarthiknews
aarthiknews.com शनिबार, ०४ माघ २०७६   Saturday, 18 January, 2020
 
Bajaj_Bike

अपत्यारिलो गरि झापामा फल्यो स्याऊ (तस्बिर सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
Sunrise bank
अपत्यारिलो गरि झापामा फल्यो स्याऊ (तस्बिर सहित)
LBEF

काठमाडौँ । पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ तराईको गर्मी भनेर चिनिने झापा, गौरादहका एक किसानले फलाएका छन् । गौरादह नगरपालिका वडा न. २ का किसान भीम विक्रम खड्काले स्याउ फलाएका हुन् । 

करीब १२ कट्ठा जग्गामा उनले डेढ वर्ष अगाडी रोपेको दुईसय बोटमा यो वर्ष लटरम्म स्याऊ फलेको हो । उनले खेतलाई माटोले पुरेर पानी जम्न नसक्ने गरी केही डाँडो बनाई त्यसमा ड्याङ बनाएर लगाएको स्याउ आफुले सोचेभन्दा राम्रोसँग फलेको खड्काले बताएका छन् । 

खड्काका अनुसार अघिल्लो वर्ष पनि केही बोटमा स्याउ फल लागेको थियो । यसवर्ष भने उत्पादित स्याउ बिक्री गर्नसमेत उनी सफल भएका छन् । खाँदा निक्कै गुलियो हुने र चकलेटी स्याऊ जस्तै कडा हुने हुँदा उपभोक्ताले समेत यो स्याऊ मन पराएको उनको दावी छ ।

खड्काले आफ्नो बारीमा २०० वटा स्याउका विरुवा लगाएका थिए ती सबैमा फुल फुलेपानी उनले साना बोटमा भने फुल नै झारेर फल लाग्न नदिएको उनले बताए । परीक्षणका रूपमा पहिलोपटक स्याउको बिरुवा रोपेर हेर्दा फल लागेपछि उनको परिवारसहित गाउँले पनि दङ्ग परेका छन् । ‘स्याउको बिरुवा रोप्दा यो फलेर खान पाइएला जस्तो लागेकै थिएन तर फल्यो, खाइयो र बेचियो पनि’ खड्काका परिवारका एक सदस्यले आर्थिकन्युजलाई बताए । त्यसो त गाउँलेले समेत स्याउ फलेर खान पाइन्छ भनेर विश्वास गरेका थिएनन् । 

खड्काका अनुसार बिरुवा रोपेको एक वर्षपछि फल लाग्ने उनलाई बिरुवा बिक्री गर्नेहरुले जानकारी दिएका थिए तर रोपेको आठ महीनापछि नै स्याऊ फल्न थालेको हो । दाजुलाई उपचार गराउन भारतको हरियाणा गएको समयमा त्यस क्षेत्रमा स्याउ फलेको देखेपछि आफूलाई पनि स्याउखेती गर्ने प्रेरणा आएको खड्का बताउँछन् ।

हरियाणाको गर्मीमा पनि फलेको स्याउ देख्दा आफ्नो बारीमा पनि स्याउ फलाउन सकिने आत्मविश्वास बढेपछि बिरुवा लगाएको उनको कथन छ ।

हरियाणामा फलेको स्याउका बारेमा आफूले जानकारी लिँदा थाइल्याण्डमा लगाइने स्याउ गर्मी मौसममा समेत फल्ने थाहा पाएपछि सोहीअनुसार आफूले खेती शुरु गरेको खड्का बताउँछन् । स्याउले विस्तारै राम्रै उत्पादन दिए भने थप खेती विस्तार गर्ने सोचमा उनि रहेका छन् ।

 करीब ५० डिग्री तापक्रमसम्ममा फल्न सक्ने ‘रोयल रेड’ जातको स्याउ खानमा पनि स्वादिलो भएकाले यसबाट राम्रो मुनाफा निकाल्न सकिने विश्वासले खेती प्रती आफु उत्साहित भएको उनको भनाई छ । “सोचेभन्दा अगाडि नै स्याउ फलेपछि थप १५० विरुवा लगाउने लक्ष्य राखेको छु, राम्रोसँग फल दिएमा कलमी गरेर विरुवा उत्पादन गर्ने सोच समेत छ”, खड्का आफ्नो योजना सुनाउँछन् ।

गाउँमा बसेर पशुपालन तथा खाद्यान्न बाली लगाउँदै गर्मी मौसममा फल्ने फलफूल लगाउँदै आएका त्यस क्षेत्रका किसानले स्याउ तराईमा फल्छ भन्नेबारेमा सोचेकै थिएनन् । उनीहरु भन्छन, “अति चिसो र हिमाली क्षेत्रमा मात्र स्याउ फल्ने सुनेको तर अहिले आफ्नो गाउँमा समेत स्याउ फल्दा खुशी छौँ ।” 

गर्मीमा समेत फल्ने स्याउको सफल प्रयोग आफ्नै ठाउँमा भएपछि त्यसलाई कसरी व्यवसायीक उत्पादनका रुपमा विकास गर्न सकिन्छ भन्नेबारे छलफल शुरु गरिसकिएको गौरादह– २ का वडाध्यक्ष हेमन्त कार्कीले आर्थिक न्युजडटकमलाई बताएका छन् । कार्की भन्छन, ‘यो एउटा सफल प्रयोग हो ।

 अब यसलाई व्यवसायिक खेतीका रुपमा विकास गर्न र थप किसानहरुलाई यस तर्फ आकर्षित गर्न केही योजनाहरु निर्माण गर्ने सोचमा हामि छौं ।’ टिस्युकल्चर प्रविधिबाट सस्तो लागतमा स्याऊका विरुवा उत्पादन गरेर किसानलाई सुलभ मुल्यमा बिक्री गर्नेबारे समेत छलफल भईरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस