aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

स्ववियु निर्वाचनले बढायो सरगर्मी, कहाँ के हुँदैछ ?

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, ३० फागुन २०७९
स्ववियु निर्वाचनले बढायो सरगर्मी, कहाँ के हुँदैछ ?
NIBL

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सोमबार उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ । सोसँगै निर्वाचनको सरगर्मी बढेको छ ।

२७ फागुनमा उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानबिन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो । केही स्थानमा भने विवादका कारण मनोनयन प्रक्रिया अवरुद्ध भएको छ भने केही स्थानमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।

सोमबार अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार प्रचारप्रसार गर्न पाउनेछन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारले सोमबारदेखि २ चैतको राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । स्ववियु निर्वाचनमा आचारसंहितामा प्रचारप्रसार गर्न रङरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख छ ।

यस्तै, आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । स्ववियु निर्वाचन केही क्याम्पसमा भर्ना विवादका कारणले रोकिएका छन् । उनले सम्बन्धित क्याम्पस प्रमुखलाई भर्ना विवाद समस्या समाधान गरेर निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएको जानकारी दिए ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि मतदान ५ चैतमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस