नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
Bajaj_Bike

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
Sunrise bank
नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता  शुरु
LBEF
NCH-IPS

काठमाडौं । नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता काठमाडौंमा शुरु भएको छ । ४ वर्षको अन्तरालमा सोमबार उक्त वार्ता काठमाडौंमा शुरु भएको हो ।

आर्थिक र विकास साझेदारीमा केन्द्रित रहेर हुने वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचार–विमर्श हुने जनाइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सो वार्तामा दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइनेछ ।

नेपालको विकास साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्ने विषयका साथै द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका मामिलामा पनि गहन छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत राज पौड्यालले जानकारी दिए ।

चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारीका साथै परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौता तथा नेपालको व्यापार विविधीकरण, व्यापारघाटा घटाउन चिनियाँ सहयोगलगायत विषयमा पनि छलफल हुनेछ ।

परराष्ट्र सचिव शङ्करदास वैरागीका अनुसार वार्तापछि मनाङमा चिनियाँ सहयोगमा अस्पताल निर्माण, भूकम्प पीडितलाई ५ हजार थान पाल उपलब्ध गराउने तथा चिनियाँ स्वयम्सेवकहरूले नेपाली शैक्षिक प्रतिष्ठानमा चिनियाँ भाषा अध्यापन गराउनेसम्बन्धी तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव वैरागी, अर्थ सचिव राजन खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी छन् ।

चीनका तर्फबाट विदेशमन्त्री वाङ यी नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए) का उपाध्यक्ष, विदेशमन्त्रालयको एशिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारी वार्तामा सहभागी छन् ।

चिनियाँ दूतावास अगाडिबाट ९ जना प्रदर्शनकारी पक्राउ

प्रहरीले चीन विरोधी गतिविधि गरेको भन्दै चिनियाँ राजदूतावास अगाडिबाट ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । 

पक्राउ परेका ९ जना नै महिला हुन् । सो समूहका इन्चार्ज सीता ज्योती रहेको प्रहरीले जनाएको छ । 

उनीहरुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीका इन्सपेक्टर विशाल तामाङको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका ९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

प्रदर्शनकारीले चीनमा नेपालका चेलिबेटी बेचविखन हुने गरेको त्यसको नियन्त्रणका लागि दवाव स्वरुप प्रदर्शन गरेको दावी गरेका छन् । 

नियन्त्रणमा लिएकाहरुलाई सोधपुछ गर्ने काम भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

यता, चिनियाँ विदेशमन्त्री वाङ यी ३ दिने नेपाल भ्रमणको क्रममा आइतबार सााझ मात्र नेपाल आएका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस