aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

रोलिङ बतासे हिल्स: कृषिमा महिला उद्यमशीलताको अनुकरणीय उदाहरण

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • विहीबार, २५ फागुन २०७९
Prabhu Bank
Motor Head
nabil bank
LBF

काठमाडौं । कुनै महिलाले व्यवसाय शुरु गर्छु भन्ने सोच राख्यो भने उसले घरदेखि समाजसम्म संघर्ष गर्नु पर्छ । नेपाली समाजमा अझैपनि महिलाले व्यवसाय शुरु गर्न निकै कसरत गर्नु पर्ने अवस्था छ । महिलाहरूलाई व्यवसायीको रुपमा आफ्नो परिचय बनाउन हाम्रो समाजमा निकै चुनौती छ। तर, दृढ इच्छाशक्ति हुन हो भने महिलालाई अघि बढ्न कसैले रोक्न सक्दैन । यस्तै उदाहरणको पात्र बनेकी छिन्, निशा केसी । काठमाडौंको नयाँ बानेश्वरमा जन्मिएकी केसी अहिले एक सफल उद्यमशील व्यवसायी महिलाको रुपमा स्थापित छिन्।

सहरमा जन्मिएकी भए पनि उनको रुचि भने कृषि तिर नै थियो । सानैदेखि फूल रोप्ने उनको विशेष रुचि परिवारले बारीमा उब्जाएको तरकारी देखेर त्यसतर्फ आकर्षित भयो। त्यसैले एमबिएसम्मको अध्ययन पुरा गरेकी उनी कृषि पेसामा तल्लीन हुन पुगिन्। कोरोना महामारीले आफुलाई कृषितिर अझ बढी आकर्षित गरेको उनी सुनाउँछिन् । उनी भन्छिन्, 'कोरोना महामारीको समयमा सबै बन्द भयो । महिनौँ दिनसम्म अफिस कलेज बन्द भए, बच्चाहरूको विद्यालय बन्द भयो आफूले गर्ने क्रियाकलापहरू पनि सबै ठप्प भयो । त्यसबेला अब के गर्ने भन्ने सन्दर्भमा तरकारी खेती गर्ने सोच आयो।'

सधैँ अरूमा निर्भर रहनु भन्दा आफूले पनि केही गर्नुपर्छ भन्ने सोचका साथ रोलिङ बतासे हिल्सको सुरुवात गरेको उनले बताइन् । उनले भनिन्, 'त्यसबेला तरकारी किन्न पनि गाह्रो थियो । विश्व भरि नै लकडाउन भइरहेका बेला अरूमा निर्भर रहनु भन्दा आफैले केही गर्ने की भन्ने सोच आयो । आफ्नै खेतमा व्यवसाय सुरु गरौँ भन्ने सोचेर लागि पर्‍यौ ।'

काभ्रेको पनौतीमा उनीहरूको खेतीयोग्य जमिन भएका कारण पनि व्यवसाय सुरु गर्न सहज भएको उनी सुनाउँछिन् । उनका अनुसार पहिले पनि सो जमिनमा मकै, भटमास र अरू तरकारीहरू रोप्ने गरेका थिए । उक्त जमिनमा स्थानीयलाई जम्मा गरेर मौसम सुहाउँदो र उक्त क्षेत्रको हावापानी अनुसार के रोप्न सकिन्छ भन्ने राय लिइन्। 'अनि तरकारी खेतीको सुरुवात गर्यों । माटोको उत्पादन शक्ति पनि कम भएका कारण कम्पोस्ट मल हालेर खेती गर्न सुरु गयौँ', उनले सुनाइन् ।

जम्मा ३० रोपनी जग्गामा सञ्चालित उक्त फार्ममा तरकारी सँगै हाँस, कुखुरा, माछा, खरायो र बाख्रा पनि रहेका छन् । यससँगै त्यहाँ 'पिकनिक स्पट' पनि सञ्चालित छ । शुरुमा ऋण लिएर नै व्यवसाय सुरु गरेको उनले सुनाइन् । उनी भन्छिन्, 'हामीले व्यवसाय सुरु गर्दा ऋण लिएर नै गरेका हौँ । जमिन किन्नका लागि पनि ऋण लिनै पर्यों । त्यसपछि पनि भिरालो जमिनलाई सम्याउनु पर्‍यो । कति ठाउँमा हिँड्नै नसक्ने अवस्था थियो । त्यसलाई पनि बाटो बनाएर गाडी पुग्ने बनाउनु पर्‍यो।'

उनलाई व्यवसाय सुरु गर्नका लागि ऋण लिने प्रक्रिया पुरा गर्न झन्डै तीन/चार महिना नै लाग्यो । घरपरिवार सबै जना मिलेर सञ्चालन गरेको उक्त फार्ममा कृषिमा जानकारी भएका साथीहरू पनि आबद्ध रहेको उनले बताइन् । 

तर, व्यवसाय गर्नका लागि त्यति सहज नभएको उनी बताउँछिन् । केसीले भनिन्, 'नेपालमा व्यवसाय सुरु गर्न महिलालाई सहज छैन । ,व्यवसायको सुरुवात गर्न कसरी आइडिया लिने, कसले सहयोग गर्छ भन्ने कुरा थाहा पाउन पनि धेरै गाह्रो छ । तर, सहरमा भने केही मात्रामा सहज छ । बजारीकरणका लागि पनि सहर सहज छ ।'

'लामो समयदेखि अन्य पेसामा पनि आबद्ध भएका कारण हामीलाई त सहज भयो । सहरमा अरूबाट पनि ज्ञान लिन सक्छौँ। तर, ग्रामीण र दूर दराजका भेगमा धेरै गाह्रो छ', उनले भनिन् । व्यवसाय सुरु गर्दा कठिनाइहरू पनि आएको उनको अनुभव छ । सबैभन्दा पहिलो कुरा त आफ्नो आइडियालाई कसरी मूर्त रूप दिने भन्ने नै चुनौती हो । त्यससँगै लगानीको पनि समस्या थियो । कहाँबाट पैसा ल्याउने ? कसरी प्रयोग गर्ने भन्ने थियो । ठाउँ भयो, सामान भयो तर, त्यसलाई कार्यान्वयन गर्न, खेतीका लागि विभिन्न मान्छेहरू जुटाउन निकै सकस पर्‍यो। 

'उत्पादन भएको तरकारीलाई बजारसम्म लानुपर्‍यो । बजारीकरणका लागि पनि नेटवर्क बनाउनुपर्‍यो । जुनसुकै व्यवसाय गर्न पनि गाह्रो छ।', उनले भनिन्, 'बीउ रोपेर तरकारी फलाउनुपर्‍यो । कृषि क्षेत्रमा त झनै धेरै मेहनत र धैर्यता पनि चाहिन्छ ।'

उनलाई व्यवसाय सुरु गर्दा बिचमा छोडौँ भन्ने पनि लागेको थियो । तर, आफूले देखेको सपनाले हौसला मिल्ने गरेको उनी बताउँछिन् । उनले भनिन्, काम गर्दागर्दै छोडौँ भन्ने त कति पटक आउँछ । तर, आफूले देखेको सपनाले हौसला राखिरहन्छ ।

अहिले त प्रविधिले गर्दा पनि कृषि व्यवसाय गर्न धेरै सहज भएको उनले सुनाइन्। फोनबाट पनि तुरुन्तै खेतमा के भइरहेको भन्ने कुरा थाहा पाउन सकिन्छ । आवश्यक परेको सामानहरू काठमाडौँबाट पठाउन सकिन्छ । सामान लिएर गएको गाडीमा तरकारी पनि ल्याउन सकियो । बजारसम्म तरकारी पुर्‍याउन पाइएको छ। अहिले धेरै सहज भएको छ । यही क्षेत्रमा लागेपछि अन्य कृषिका मान्छेहरूसँग पनि सम्पर्क हुने हुँदा  सहज भएको छ ।

केसीका अनुसार उक्त फार्ममा ९ जना कर्मचारी रहेका छन् । सबै जना खेतबारीमा नै काम गर्छन् । उत्पादित तरकारी ठेलावालादेखि ठुला ठुला होटेलसम्म पुग्ने गरेको उनले सुनाइन् । उनले भनिन, 'हामीले उत्पादन गरेको तरकारी बाटोमा ठेलामा राख्नेहरूले पनि लिन्छन् । त्यसपछिको बजार काठमाडौँमा नै हो । आफ्नो वेयर हाउसमा ल्याएर तरकारी जम्मा गछौं । कोरोनाको समयमा घरघरबाट नै अनलाइन अडर आउने गर्थ्यो । तर, पछि बजार खुल्न थालेपछि विशेष गरी अफिसहरूमा, रेस्टुरेन्टमा पठाउने गछौं । प्रत्येक दिन अर्ग्यानिक खाना खुवाउने रेष्टुरेन्टहरुमा सधैभरि पठाउने गरेका छौँ।'

तर, तरकारी खेतीमा फाइदा भने नहुने गरेको उनले बताइन् । केसी भन्छिन्, 'तरकारी खेतीमा फाइदा न्यून छ । एकदमै कम छ । तरकारी छिट्टै कुहिने चिज हो । दुई तीन दिन अफिस छुट्टी परेर बन्द भयो भने तरकारी कुहिन सुरु हुन्छ। त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । बाँकी भएको तरकारी सस्तोमा अरू ठाउँमा दिनुपर्ने हुन्छ ।'

उनका अनुसार तरकारी खेतीबाट मासिक रुपमा २० हजारसम्मको नाफा हुने गर्छ । 'सुरुमा झन्डै २० लाख रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गरेका थियौँ। पछि भएको आम्दानी पनि तरकारी खेतीमा नै लगाउनु परेको छ। दैनिक कुखुरा, हाँस, बाख्राको सबैको खानेकुरा किन्नुपर्ने हुन्छ । काम गर्ने मान्छे बिरामी हुँदा औषधि उपचार गर्नुपर्छ।', उनले सुनाइन्।

सहयोग पाउने हो भने महिलाले राम्रो व्यवसाय गर्न सक्ने उनको विश्वास छ । उनी भन्छिन्, 'एउटी महिलाले धेरै कामहरू गरिरहेका हुन्छन् । बिउ रोप्नेदेखि लिएर बीउ उमार्ने, फलाउने र बजारसम्म पुर्‍याउने काम पनि गर्न सक्छन् । व्यवसाय गर्न चाहने महिलाले सहयोग र आवश्यक ज्ञान, सिप र तालिम पाउने हो भने धेरै राम्रो गर्न सक्छन्।'

व्यवसाय गर्न महिलालाई विभिन्न सङ्घ संस्थाहरूले पनि सहयोग गरेका छन् । विभिन्न दातृ निकायहरूले पनि सहयोग गरेका छन् । सबैले सामूहिक र व्यक्तिगत रुपमा सहयोग गरिरहेकै अवस्था छ।

व्यवसायमा महिलाको पहुँच बढाउनका लागि जानकारीमूलक कार्यक्रमहरू गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ । 'महिलाहरूलाई व्यवसाय गर्नका लागि के कस्ता अवसरहरू छन् त्यसका बारेमा पनि जानकारी दिनुपर्छ । उनीहरूलाई व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने तालिम पनि दिनुपर्छ । महिलाहरूले पनि आफूलाई आवश्यक पर्ने सिप सिक्न र तालिममा सहभागिता बढाउने गर्नुपर्छ', केसीले सुनाइन् ।

तर, आफुले कृषिजन्य व्यवसाय सुरु गर्दा राज्यबाट सहयोग नपाएको उनले सुनाइन् । 'राज्यबाट सुरुमा त सहयोग पाएनौँ। तर, अहिले सरकारले विभिन्न बिउहरू दिने गरेको छ । कृषि सम्बन्धी काम गर्ने संस्थाहरूले पनि बालीनाली कसरी किराबाट बचाउने, किटनाशक औषधि प्रयोग नगरी अर्ग्यानिक रुपमा कसरी उत्पादन गर्ने लगायतका तालिमहरू दिइरहेका छन्',उनले भनिन् ।

व्यवसाय गर्नका लागि अन्य क्षेत्रमा भन्दा कृषि क्षेत्रमा बढी मेहनत गर्नुपर्ने उनको भनाई छ । उनले भनिन्, 'जुनसुकै व्यवसाय गर्न गाह्रो छ । तर, कृषिमा अझ बढी सोच्नुपर्ने र मेहनत गर्नुपर्ने छ । सधैँ परनिर्भर हुन सक्दैनौँ । आफूलाई चाहिने तरकारीहरू आफूले पनि उत्पादन गर्ने प्रयास गर्नुपर्छ । आफूसँग खेतीयोग्य जमिन छ भने तरकारी रोप्ने ठाउँ, सिप छ भने हामीले पनि खेती पर्नुपर्छ ।'

 

प्रतिक्रिया दिनुहोस