
काठमाडौँ । नारी दिवस महिला जागरूकता सम्बन्धित दिवस हो । यो मार्च ८ का दिन विश्वभरका महिलाको सम्मानमा मनाइन्छ । यो दिवस नारीको त्याग, समाज र देश प्रतिको बलिदानको लागी महिलाहरूलाई प्रेम, प्रशंसा, आदर र सम्मान गर्ने दिनको रुपमा विश्वभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ । राजनीतिक तवरबाट सुरु भएता पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।
नारी दिवस २० औँ शताब्दीको प्रारम्भमा संसारका विभिन्न भागहरूमा महिलाहरू आफ्नो अधिकारको लागि सङ्गठित हुने र अभियान चलाउन थालेपछि सुरु भएको हो। अमेरिकामा सोसलिस्ट पार्टी अफ अमेरिकाको आयोजनामा फेब्रुअरी २८, १९०९ मा पहिलो पटक महिला दिवस मनाइयो। महिलाका लागि कार्य क्षेत्रमा राम्रो अवस्था र मताधिकारको माग गर्दै मनाइएको यो राष्ट्रिय विरोध दिवस थियो।
सन् १९१० मा डेनमार्कको कोपेनहेगनमा भएको सोसलिस्ट इन्टरनेशनलको बैठकले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय गर्यो। अर्को वर्ष, १९११ मा पहिलो पटक अन्तर्राष्ट्रिय रुपमा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्याण्डमा यो मनाइयो। महिलालाई मतदान गर्ने, काम गर्ने र सार्वजनिक पद धारण गर्ने अधिकारको माग गर्न आयोजित र्याली र प्रदर्शनमा १० लाखभन्दा बढी मानिसहरू सहभागी भएका थिए।
त्यस बेलादेखि महिला अधिकार र लैङ्गिक असमानताको बिरुद्ध चेतना जगाउन विभिन्न विषयवस्तु र अभियानहरूका साथ हरेक वर्ष मनाइन्छ। महिलाहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरूको सम्मान र उत्सव मनाउने दिनका रुपमा पनि यसलाई लिने गरिन्छ।
नेपालमा पनि नारी दिवसलाई निकै प्राथमिकताका साथ मनाउने गरेको धेरै नै भयो। यो दिवस विभिन्न कार्यक्रम गरेर लाखौँ खर्च गरेर तारे होटलहरुमा मनाउने प्रचलन नै भइसकेको छ । त्यसमाथि, हाम्रो समाजमा नारी भन्दा पुरुषले बढी महत्त्वका साथ मनाउने दिवसको रुपमा नारी दिवस स्थापित भएको छ। किनकि यहाँका श्रमजीवी महिलालाई नै थाहा छैन के हो नारी दिवस र यो किन मनाइन्छ।
नेपालको राजधानी सहर काठमाडौँमा आफ्नै पौरख र बलबुतामा परिवार धान्दै आएका महिलाहरूलाई समेत नारी दिवसबारे थाहा नै छैन । काठमाडौँ महानगरपालिका वडा नम्बर १०, बानेश्वर देवीनगरमा किराना पसल चलाउँदै आएकी रमिला श्रेष्ठलाई यो दिवस किन, कहाँ र कसरी मनाउँछन् भन्ने नै थाहा छैन । विगत सात वर्षदेखि उनी राजधानीको मुटु मानिने बानेश्वरमा ब्यवाशय गर्दै आइरहेकी छिन् । उनको दैनिकी बिहान सबेरै उठेर खाना बनाएर दुई छोरीलाई स्कुल पठाउने र पसल गएर ग्राहक रुँग्ने। साँझ परेपछि पुनः कोठामा आएर खाना बनाएर बालबच्चालाई खुवाएर सरसफाइ गर्दैमा बित्छ ।
आर्विन स्टोर सञ्चालन गर्दै आएकी श्रेष्ठ भन्छिन्, ‘नारी दिवस नारी हिंसा विरुद्ध विरोध गर्ने दिन होला जस्तो लाग्छ । तर, मलाई यो बाहेक के कसरी मनाउँछन् भन्ने थाहै छैन । मैले आजसम्म कतै गएर मनाएको छैन ।’
श्रेष्ठ जस्तै सिन्धुलीकी ३८ वर्षीय पम्फा अधिकारीलाई पनि यो अन्तर्राष्ट्रिय नारी दिवसको बारेमा खासै जानकारी छैन । तरपनि नारी दिवस किन मनाइएको होला भन्ने प्रश्नमा भन्छिन्, ‘महिलाहरूले पनि आफ्नो हक, हित प्राप्त गर्नको लागि, कुनै पनि पेसा आफै गर्नको लागि वा गरेर आफ्नो घर परिवारलाई पाल्न, छोरा, छोरीको भविष्य बनाउन नारी दिवसको महत्त्व छ ।’
अधिकारी विगत दुई वर्षदेखि काठमाडौँको थापा गाउँमा तरकारी पसल गर्दै आएकी छिन् । उनका दुई छोराछोरी र श्रीमान् रहेका छन् । उनले गरेको तरकारी पसलको आम्दानीबाट उनका छोराछोरीको पडाइसँगै गुजारा चलेको छ ।
त्यस्तै, दोलखा घर भई हाल घट्टेकुलोमा चटपटे पसल गर्दै आएकी छिन्, २५ वर्षीय सरु कार्की । उनी हाल बिए तेस्रो वर्षमा अध्ययनरत छिन् । पढाई खर्चसँगै घर खर्च टार्नको लागि उनी चटपटे पसल गर्दै आएकी हुन्। अन्तर्राष्ट्रिय महिला दिवसबारेमा उनलाई सोधिएको प्रश्नमा कार्कीले भनिन्, ‘नारीहरूलाई राम्रो शिक्षा दिन, पुरुषको अपहेला, विभेद, हिंसाबाट छुटकारा पाउन, पुरुषसरह अधिकार पाउनको लागि, महिलाले पाउने आफ्नो हक, हितको लागि यो दिवस मनाइने गरिन्छ ।’
त्यसैगरि, सोही प्रश्नमा हिरा देवि श्रेष्ठ भन्छिन्, ‘कमैया प्रथा हटाएको कानुनी रुपमा मान्यता दिन, नारी र पुरुष दुबैलाई बराबर शिक्षा दिन, पुरुष जतिकै महिलालाई पनि सक्षम बनाउन, महिलामा चेतना फैलाउन, नजान्नेलाई जान्नेले बुझाउन यो दिवस मनाउने गरिन्छ जस्तो लाग्छ ।’
श्रेष्ठ हाल ४४ वर्षकी भइन । उनको साथमा दुई छोराछोरी र श्रीमान् छन् । भोजपुर घर भएकी हिरादेवी अहिले अनामनगरमा चिया पसल चलाउँदै आएकी छिन् ।
यो सबै देखेर, हेरेर र भोगेर नै होला शायद, चर्चित कवि अर्जुन थपलियाले लेखेका छन् :
बा लुगा फुकालेर
नारी दिवस मनाउन जानु भो !
आमा
बाका लुगा धुँदै हुनुहुन्छ !!
प्रतिक्रिया दिनुहोस