aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

एक करोडमा बने उपत्यकामा ११ वटा पार्क, अरू ४ धमाधम बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ फागुन २०७९
Prabhu Bank
Motor Head
nabil bank
LBF

काठमाडौं । विकास खर्च भएन भन्ने चिन्ता हुने गरेका हाम्रा योजना मध्ये एउटामा भने विनियोजन भएको सबै खर्च भएको छ। यो समाचारको पहिलो वाक्य मात्र आकर्षक होइन। खर्च भएको रकमले बनेको काम झन् सुन्दर छन्। त्यसबाहेक अर्को रोचक कुरा त यो हो कि जम्मा एक करोडको लगानीमा नै ११ वटा पार्क निर्माण सम्पन्न भएको छ। 

काठमाडौं उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने भनिएका १५ वटा पार्क मध्ये ११ वटा पार्कको निर्माण सम्पन्न गरेको विषय हो, यो। प्राधिकरणले एक करोड रुपैयाँ लागतमा निर्माण गर्ने भनिएको पार्क मध्ये ११ स्थानको पार्क निर्माणको काम सम्पन्न भएको हो। 

प्राधिकरणका योजना महाशाखा प्रमुख सौरभ ढकालले विनियोजित बजेट सबै खर्च भइसकेको जानकारी दिए। उनले भने, ‘केही बहुवर्षिय पार्कहरू थिए । ती पार्कहरूको निर्माण कार्य भइरहेको छ । अरू पार्कहरूको निर्माण कार्य सकिएको छ । एक करोड रुपैयाँ लागतमा बनाउने भनिएको  पार्कको निर्माण कार्य पुरा भएको हो।’

उपत्यका विकास प्राधिकरणले गत आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने गरी काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा एक करोड रुपैयाँ लगानीमा १५ वटा पार्क निर्माण कार्य अघि सारेको थियो ।

प्राधिकरणले निर्माण गर्न लागेको पार्कहरू केही बहुवर्षिय रहेका थिए । एक करोड रुपैयाँ लगानीमा कीर्तिपुर नगरपालिका वडा नम्बर ४ मा चम्पादेवी पार्क निर्माणका लागि बहुवर्षिय योजना स्वीकृत भएको थियो । जसको निर्माण कार्य ६० प्रतिशत सकिएको प्राधिकरणले जनाएको छ । उक्त पार्कमा पदमार्ग, चौतारो निर्माण, ओपन जिम तथा बालबालिकाको लागि खेल्ने ठाउँ बनाउने लगायत नदी नियन्त्रण गर्ने प्राधिकरणको योजना थियो ।

प्राधिकरणको योजना अनुसार हालसम्म पार्क निर्माण अन्तर्गत लैनचौर सहिद पार्क निर्माणको काम शतप्रतिशत सम्पन्न भएको छ । जसमा पदमार्ग, वृक्षारोपण र हरियाली कायम गर्ने योजना रहेको थियो ।

त्यस्तै, बुढानीलकण्ठमा गिरिजाप्रसाद पार्क निर्माण सम्पन्न भएको हाे ।  उक्त पार्कमा प्राधिकरणले प्रवेशद्वार, पदमार्ग र शाैचालयको सेप्टी ट्याङ्की निर्माण गरेकाे छ । त्यस्तै, प्राधिकरणले बुढानीलकण्ठमा ओमनगर पार्क निर्माण सम्पन्न गरेको छ । त्यस पार्कमा सार्वजनिक जग्गाको संरक्षणका लागि पहिलो चरणमा रिटेनिङ वालको निर्माण गर्ने प्राधिकरणको योजना रहेको थियो ।

उपत्यका विकास प्राधिकरणका अनुसार शंखरापुर नगरपालिका वाद नम्बर ८ मा शान्ति पार्क निर्माणको काम सम्पन्न भएको छ । सार्वजनिक जग्गाको संरक्षणका लागि पहिलो चरणमा रिटेनिङ वालको निर्माण गरिएको छ । त्यस्तै, कीर्तिपुर चिल्ड्रेन पार्क निर्माणका लागि सम्झौता भई जग्गा संरक्षणको काम भएको प्राधिकरणले जनाएको छ । जग्गाको संरक्षणका लागि रिटेनिङ वाल लगाउने र बालबालिका खेल्ने ठाउँको सबलीकरण गर्ने प्राधिकरणको योजना रहेको थियो ।

प्राधिकरणले कागेश्वरी मनहराको वडा नम्बर ७ र ८ स्थित कागेश्वरी मन्दिर क्षेत्रमा सार्वजनिक पार्क निर्माणको काम सम्पन्न गरेको जनाएको छ । त्यसैगरी, निर्माण सम्पन्न भएका पार्कमा ललितपुरको सिकाली मन्दिर परिसर पार्क, भक्तपुरमा सल्लाघारी पार्क, सूर्य विनायकमा अनन्तलिङ्गेश्वर महादेव खोला पार्क, गणेशमान वाटिका पार्क र नागथलि कृष्ण मन्दिर पार्क रहेका छन् ।

गणेशमान स्मृति पार्कमा  प्रवेशद्वार, पदमार्ग र शाैचालयको सेप्टी ट्याङ्की निर्माण कार्य गर्ने प्राधिकरणको योजना रहेको थियो । त्यसैगरी, सल्लाघारी पार्कमा जग्गाको संरक्षणका लागि रिटेनिङ वाल लगाउने र केटाकेटी खेल्ने ठाउँको सबलीकरण गर्ने काम भएको प्राधिकरणले बताएको छ । दधिकोटको अनन्तलिङ्गेश्वरको पार्क जग्गाको संरक्षणका लागि रिटेनिङ वाल लगाउने र बालबालिका खेल्ने ठाउँको सबलीकरण गर्ने काम भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार नागथली चाँगुनारायण नगरपालिकामा निर्माण भएको पार्कमा जग्गाको संरक्षणका लागि रिटेनिङ वाल लगाउने र बालबालिका खेल्ने ठाउँको सबलीकरण गर्ने काम भएको छ ।

त्यस्तै, प्राधिकरणले ललितपुरमा निर्माण गर्न लागेको सहिद चौर (गचा) पार्कको काम ४० प्रतिशत सकिएको छ भने छुङमतीपार्क निर्माणको काम ७० प्रतिशत सकिएको छ । उक्त पार्कमा पदमार्ग, वृक्षारोपण, हरियाली कायम गर्ने योजना रहेको छ ।

त्यसैगरी, ललितपुरको सैबु भैसेपाटीको सार्वजनिक संरक्षण गरी पार्क निर्माणकोका काम ५० प्रतिशत सकिएको प्राधिकरणले जनाएको छ । उक्त पार्कको योजनाको कार्य बहुवर्षिय कार्यक्रम रहेको छ । यस पार्कमा पदमार्ग, चौतारो निर्माण ओपन जिम तथा बालबालिकाको लागि खेल्ने ठाउँ बनाउने लगायत नदी नियन्त्रणको काम समेत बन्ने प्राधिकरणले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस