
काठमाडौं । गुल्मीमा पछिल्लो समयमा सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ । एक साताको अवधिमा जिल्लामा दुई सहकारीमा चोरी भएको थियो ।
चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको तीन लाख ५० हजारका साथै सिसी क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गिरीबहादुर रोकाले बताए ।
त्यस्तै सोही गाउँपालिका–७ रुपाकोटको साना किसान कृषि सहकारी संस्थाबाट पाँच लाख भन्दाबढी रकम चोरी भएको थियो । गत चार दिनअघि राति च्यानल गेटको साँचो तोडेर रकम चोरी भएपछि अनुसन्धान अगाडि बढाइएको मजुवा प्रहरीचौकीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक राजु थापाले बताए ।
रातिको समयमा चोरीसँगै गाउँका घरमा ढोका र चेनगेटमा हान्ने गर्न थालेपछि स्थानीयवासी आतङ्कित भएको वडा नं ७ निवासी शालिकराम पन्थीले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले मन्दिर तथा सहकारीमा भएका चोरीका विषयमा अनुसन्धान भइरहेको बताए ।
उनले चन्द्रकोट गाउँपालिकामा सहकारीको चोरीका विषयमा स्थानीय चौकी र जिल्लाबाट गएको अनुसनधान अधिकृतको टोलीले घटनाबारे अनुसनधान गरिरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस