
काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धित कानुनको संशोधन प्रस्ताव उपर बोल्दै नेपाली काँग्रेसका सांसद प्रकाश शरण महतले गत हप्ता संसद्मा भने- 'यहाँ क्यासिनोको कमाइको पनि कुरा छ। सम्पत्ति शुद्धीकरण बारे धेरै कुराहरू छन्।'उनले सम्पत्ति शुद्धीकरणको विषयलाई क्यासिनोसँग जोड्नु खास कारण रहेछ। त्यो कारण बुझ्न राजधानी सहर काठमाडौँका क्यासिनो तिर चियाउनु भन्दा भारतीय सीमावर्ती सहरमा चलेका क्यासिनोका गतिविधि नियाल्दा सजिलै सँग बुझिने रहेछ।
एक महिना अघि भारतसँग जोडिएको नेपालको सीमा क्षेत्रमा भारतीय मुद्रा भारु नेपाली मुद्राको तुलनामा कमजोर भएको भन्ने समाचारहरू सार्वजनिक भए । त्यस बेला अनौपचारिकरुपमा भारतबाट भारुको आपूर्ति बढेपछि त्यसको सटही मूल्य घटेको भन्ने विश्लेषणहरू आए । त्यसबाहेक सुनदेखि बहुमूल्य धातु र लागु औषधको तस्करीबाट प्राप्त भारुका कारण समेत सीमा क्षेत्रमा आपूर्ति अधिक हुँदा मूल्य घटेको निष्कर्ष समेत निकालियो । यस्तो रकम बैंकमा सटही गर्दा स्रोत खुलाउनु पर्ने बाध्यताका कारण कारोबारीहरू अप्ठ्यारोमा परेको देखिएपछि सो क्षेत्रका व्यवसायीहरूले सस्तोमा भारु सटही गरेको समेत देखियो ।
तर, यसरी अत्याधिकरुपमा सीमा क्षेत्रमा देखिएको ‘कालो’ भारुलाई सेतो पारेर फेरि उतै लैजाने नयाँ खेल सुरु भएको समेत पाइएको छ । समाचार स्रोतका अनुसार कालो भारु सेतो पार्ने मेसिनकारुपमा भने सीमा क्षेत्रमा बग्रेल्ती खुलेका क्यासिनोहरु प्रयोग भइरहेका छन् ।
पूर्व नेपालमा सञ्चालित एक क्यासिनोमा कार्यरत उच्च तहका कर्मचारीले आर्थिक न्युजसँग भने ‘भारतीयहरू अवैध भारु लिएर क्यासिनो छिर्छन् । एक रात बस्छन् । मोज गर्छन्। अनि अर्को दिन खेलेर जितेको सर्टिफिकेटसहित नगदै लिएर भारततर्फ लाग्छन् ।’
उनका अनुसार राम्रो कमिसन पाउने भएपछि त्यहाँका क्यासिनोहरुले खेल खेलाउँदैनन् । मात्र जितको सर्टिफिकेट बाँड्छन् । यस्तै काम पश्चिम नेपालको सीमावर्ती क्षेत्रमा खेलेका क्यासिनोहरुले समेत गरिरहेका छन् । त्यहाँ पनि भारतीयहरूले साइकलमा अवैध रकम नेपाल ल्याउने र त्यसलाई वैध आर्जन बनाएर गाडीमा हालेर लैजाने भएका छन् ।
यस प्रसङ्गमा रोचक त के छ भने क्यासिनोमा रकम जितेको सर्टिफिकेट हातमा भयो र आर्जित रकमको २५ प्रतिशत नेपाल सरकारलाई बुझाएको निस्सा वा कर चुक्ता प्रमाणपत्र भयो भने जति रकम पनि उता लैजान पाइन्छ। यदि पाँच लाख रुपैयाँ सम्म मात्र हो भने त्यति रकम त क्यासिनोले नगदमा नै समेत भुक्तानी गर्न कानुनले छुट दिएको छ।
हुन पनि पछिल्ला दिनमा सीमा क्षेत्रमा भारु कति सस्तो बनेको छ भने एक हजार भारु साट्न १६५० देखि १७ सयसम्म नेपाली रुपैयाँ तिर्नु पर्थ्यो । एक हजार भारुको वैध सटहीदर अनुसार १६ सय रुपैयाँ हुने गर्छ । तर, अहिले १५ सयदेखि १५५० मै भारु हजार पाउन थालिएको छ । यसरी बजारमा भारु सस्तोमा पाउन थालेपछि कतिपय व्यापारी र संस्थाहरूले भने भारु लिन नै बन्द गरेको स्थानीयहरू बताउँछन् ।
भारुको मूल्यमा कमी आउनुको मुख्य कारण अवैध भारुको पर्याप्त आपूर्ति नै प्रमुख रहेको सीमा क्षेत्रका व्यापारीहरूको भनाई छ । जसको लाभ भने त्यता खुलेका क्यासिनोहरुले लिइरहेका समाचार स्रोतले पुष्टि गरेको हो । सीमा क्षेत्रमा रहेका क्यासिनोहरुमा झापा स्थित होटल मेची क्राउनमा सञ्चालित भेनस सिटी इन्टरटेनमेन्ट रहेको छ भने पश्चिम नेपालगञ्जमा होटल सोल्टी सिबक्रिममा पनि क्यासिनो रहेको छ ।
भैरहवाको होटल टाइगरमा क्यासिनो चलिरहेको छ । त्यसैगरि क्यासिनोको मान्यता नपाए पनि आधुनिक मेसिन वा उपकरणको माध्यमबाट क्यासिनोको जस्तै खेल खेलाउने अनुमति नेपालगन्जको भ्यु होटल सिद्धार्थ, बाराको इच्छा होटल, वीरगन्जको होटल ओपेरा, भैरहवाको होटल लाकोल, महेन्द्रनगरको होटल स्विटड्रिम र झापाको होटल ढाका समेत रहेका छन् । त्यसबाहेक झापाको होटल रियाज, भैरहवाको होटल बोधिरेडर्सन, धनगढीको होटल साथी र वीरगन्जको होटल सुरजले समेत यसरी उपकरणबाट खेल खेलाउने गरेका छन् ।
यस प्रकारको खेल खेलाउने अनुमति पर्यटन विभागबाट प्राप्त गर्ने अन्य सीमावर्ती होटलहरुमा भैरहवाको लक्जरी इन्टरनेशनल, बाँकेको होटल स्नेह र होटल स्टारलाइनका अतिरिक्त भैरहवाकै होटल नान्स सँगै नेपालगन्जका कल्पतरु र होटल सिटी प्यालेस पनि रहेका छन् । वीरगन्जको हिमाल वाटर पार्क एण्ड भिलेज होटल प्रालीले पनि यस्तो खेल खेलाउने अनुमति पाएको छ ।
प्रतिक्रिया दिनुहोस