'हात्तीपाटी छैन, शेर्पाले च्याड्ग्रा बेच्न ल्याउँथे, सबै हराए' - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

'हात्तीपाटी छैन, शेर्पाले च्याड्ग्रा बेच्न ल्याउँथे, सबै हराए'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ भदौ २०७६
Sunrise bank
'हात्तीपाटी छैन, शेर्पाले च्याड्ग्रा बेच्न ल्याउँथे, सबै हराए'
LBEF
NCH-IPS

 काडमाडौं । राजा प्रताप मल्लले पाँच वर्ष लगाएर बनाएको रानीपोखरी काठमाडौँ उपत्यकाको शोभा हो । यसको बीचमा शिखर शैलीमा मन्दिर बनेको थियो । विसं १७२७ कात्तिकमा रानीपोखरी निर्माण भएपछि आयोजित भव्य सभामा राजा सरिक भएका थिए । त्यही सभाको दृश्यलाई वरिष्ठ कलाकार हरिप्रसाद शर्माले चित्रमा उतार्नुभएको छ ।     
     
राजा प्रताप मल्ल बाजागाजाका साथ आइरहेका छन् । राजाका भारदारी लम्बकर्ण भट्ट, जमुना गोभाजु पनि छन् । रानी र राजकुमारी घडाबाट पोखरीमा जल खन्याइरहेका र भरिरहेका छन् । अलि पर तान्त्रिक विधिअनुसार यज्ञ भइरहेको छ भने नजिकै धिमेलगायत पौराणिक बाजासहित नगरवासीको लस्कर देखिन्छ । वरिपरि काठमाडौँ उपत्यकाका दृश्य स्वयम्भू, नागर्जुन, चन्द्रागिरि, दहचोक, तलेजु भवानीको मन्दिर, दरबार र उपत्यका शहरको दृश्यलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ ।     
     
सुन्दर लाग्ने ती चित्रहरु हेर्दा १८औँ शताब्दीमा प्रवेश गरेझैँ लाग्छ । बयासी वर्षीय कलाकार शर्मा भन्नुहुन्छ, “यो कल्पना मात्रै होइन, सत्यमा आधारित छ, बच्चामा हामी यहाँको हात्तीपाटीमा खेल्न जान्थ्यौँ, अहिले हात्तीपाटी छैन, शेर्पाहरुले च्याड्ग्रा बेच्न ल्याउँथे, सबै हराए ।” रानीपोखरी भूकम्पले तहसनहस भएपछि पुनःनिर्माणले खासै गति लिन सकिरहेको छैन । यस्ता दर्जनाँै इतिहासलाई उहाँले कलामा उत्खनन गर्नुभएको छ ।     
     
पुथ्वीनारायण शाहको शासनकालमा भएका महत्वपूर्ण गतिविधि, अरनिको चीन यात्रा, पृथ्वीनारायण शाहले विसं १८२५ मा गरेको कान्तिपुरमाथिको आक्रमण, विसं १९०३ मा हनुमानढोका नजिक भएको कोत हत्याकाण्ड, स्वयम्भूमा बज्र चढाउँदै गर्दाका प्रताप मल्ल, पुरानो लुम्बिनी, भृकुटीको विवाहलगायतका ऐतिहासिक दृश्यलाई चित्रमा दुरुस्त कोर्नुभएको छ । ती दृश्य अहिले नेपाल कला परिषद् पुगेर हेर्न सकिन्छ ।     
     
सम्राट अशोकले इस्वी सम्वत् २४९ मा लुम्बिनीको तीर्थयात्रा गर्नुभएको थियो । त्यो बेलाको अशोकस्तम्भ र शिरानीमा रहेको शीर्षघोडा राखेको दृश्यावलोकन गर्दै गरेका अशोकसहितको समग्र लुम्बिनीको ऐतिहासिक तथ्य चित्रमा समावेश छ । राजा मानदेवको कार्यकक्ष, श्रङ्चङ्गम्पो र राजकुमारी भृकुटीको साक्षात्कार भएको क्षण, मल्लकालीन हात्तीखेदा, तलेजु भवानीको मन्दिर र जयप्रकाश मल्ल, फागू पूर्णिमामा राजा प्रताप मल्ले रानीहरुसँग खेलेको होलीलाई पनि उहाँले चित्रमा सुन्दर ढङ्गले तेल रङमार्फत कला भरेर उतार्नुभएको छ ।     
     
रहनसहन र संस्कृतिका १७ चित्रले यहाँको दैनिक जनजीवनलाई झल्काउँछ । नेवारी संस्कृति, नङ्निी र युवती, तान्त्रिक झारफुक पूजा, तिब्बतमा व्यापारका लागि जाने व्यापारीको कथा पनि चित्रमा देख्न सकिन्छ । उहाँ चित्रमा तेल र पानी रङको प्रयोग बढी गर्नुहुन्छ । यसपालिको प्रदर्शनमा तेल रङको प्रयोग छ । उहाँका चित्र हेर्दा आफैँ बोलिरहेझैँ हुन्छ । चित्र अवलोकनमा तत्कालीन कालखण्डको स्मरण मानसपटलमा भरिन्छ ।     
     
कला समीक्षक मदन चित्रकार उहाँको कलामा निखारता, बौद्धिकता, कल्पना र सिर्जनाशीलता तथा यथार्थता छ भन्नुहुन्छ । कलाप्रतिको अनुराग र साधना जोकोहीका लागि अनुशरण गर्न योग्य रहेको भन्दै चित्रकारले इतिहासदेखि वर्तमानसम्मको कलाको विकासक्रम लेख्दा हरिप्रसाद शर्माको नाम छुट्यो भने त्यो अधुरै रहने दाबी गर्नुभयो । कलाकार शर्माले कला साधनामा आफूलाई कहिल्यै बूढो नठान्ने बताउनुहुन्छ ।     
     
उहाँले पाँच÷छ वर्षकै उमेरदेखि चित्रकारिताको प्रयास गर्नुभएको थियो । कालीदास श्रेष्ठ, चन्द्रमान मास्केबाट व्यवहारिक ज्ञान प्राप्त गर्नुभयो । जीवरत्न शाक्य प्रथम गुरु हुनुहुन्थयो । उहाँले पाँच वर्ष जुद्धकला पाठशालामा कला अध्ययन गर्नुभएको थियो । काठमाडौँको नेवारी बस्तीबीचमा हुर्कनुभएका उहाँमा नेवारी भाषाको राम्रो ज्ञान छ भने कलामा गहिरो प्रभाव छ । उहाँ बाल्यकालदेखि नै जहाँ मान्छे जात्रा हेर्नुहुन्थ्यो । उहाँ त्यसभित्रको सुक्ष्म कुराहरु हेर्नुहुन्थ्यो ।     
     
“जात्राका सहभागी मानिसको शरीरको चालढाल, पहिरन, गरगहना, प्रयोग गरेका सामग्री, आकार र रङमा मेरो ध्यान जान्थ्यो, मेरा चित्रमा जीवनपर्यन्त देखेका र भोगेका जनजीवन संस्कृति र इतिहासको सकेसम्म यथार्थ चित्रण गरेको छु”, शर्माले भन्नुभयो । जीवनको ३५÷४० वर्षसम्म बनेका चित्रको अभिलेख उहाँसँग छैन । पछिल्ला २५ वर्षमा बनेका चित्रमात्र सङ्गाल्न उहाँ सफल हुनुहुन्छ । उहाँले पछिल्लो समयमा छोरा विष्णुप्रसादसँगको सहकार्यमा नेपालको इतिहास, संस्कृति र जनजीवनलाई चित्रमा अभिलेखीकरण गर्न सक्नुभएको हो । अहिले यहाँ ‘समयक्रममा नेपाल’ शीर्षकमा प्रदर्शन भएका ४५ चित्रमा नेपालको इतिहास, जनजीवन, संस्कृतिका अवशेष देख्न सकिन्छ ।     
     
उहाँका छोरा विष्णुप्रसाद भन्नुहुन्छ, “नेपालको इतिहास र संस्कृतिको चित्राकलात्मक अभिलेख बनाउने कोसिस हो, यो शृङ्खलामा अपुरो भएको कुरा थप्दै जान्छौँ, बाबुछोराको कल्पना र यथार्थको फ्यूजन हो ।” वर्तमान र भविष्यका पुस्ताले विगत देख्ने, गर्व गर्ने र सिक्ने अवसर बञ्चित हुने अवस्थामा छ । चित्र इतिहास बुझन् र सिक्न प्रभावकारी तथा शक्तिशाली माध्यम हो । कलाका विधामध्ये प्रस्तरकला, धातुकला र काष्ठकलामा काठमाडौँले ठूलो फड्को मारे पनि चित्रकला पछि नै छ ।     
     
विगतका चित्रमा राजामहाराजा र देवीदेवताका चित्र निर्माण हुने गरेका कलाकारहरु सम्झन्छन् । विसं २०५२ मा धर्मपत्नी राधादेवीको निधनपछि उहाँकै सम्झनामा घरमा राधाकुटी आर्ट ग्यालरी स्थापना गरिएपछि कलाको अभिलेखीकरणमा समेत छोरासँगको सहकार्य शुरु भएको उहाँले बताउनुभयो । त्यही बेलादेखि छोराले चलाएको मोटरसाइकल पछाडि बसेर जनजीवनका आयाम अध्ययन गर्न हरेक शनिबार क्यामेरा बोकेर ऐतिहासिक तथा पुरातात्विक क्षेत्रमा जाने अभियान शुरु भएको हो ।     
     
काठमाडौँ, पाटन, भक्तपुर, थिमि, हरिसिद्धी, बुङ्गमती, खोकना, चापागाउँ, चोक र बहालमा फोटो खिच्दै मानिसहरुसँग कुरा गरेर फर्कने र त्यसलाई कम्युटरमा राखेर चित्रको परिकल्पना गरी स्केच बनाएर चित्र बनाउने कामको थालनी त्यही बेलाबाट भएको हो । यसअघि विसं २०३० मा पहिलो एकल चित्रकला गर्नुभएका उहाँले अभियानपछि विसं २०५९ मा दोस्रो प्रदर्शनी गर्न सफल हुनुभयो । त्यसपछि केही वर्षको अन्तरालमै प्रदर्शनी भयो । विसं २०६७ मा तेस्रो र २०७२ मा चौथो भएको थियो । अहिले पाँचौँ प्रदर्शनी हो । थप तीन सामूहिक चित्रकला प्रदर्शनी भएको छ । निकै परिश्रमपछि बाबुछोराको छलफलका आधारमा चित्रलाई क्यान्भासमा उतार्ने गरेको उहाँ सम्झनुहुन्छ ।     
     
लिच्छवी र मल्लकाललाई नेपाली कला इतिहासमै स्वर्णकाल मानिन्छ । झक्तपुरको चाँगुनारायण र लिच्छवी राजा मानदेव, अंशु बर्मा, कैलाशकुट भवन, नरेन्द्रदेव, राजकुमारी भृकुटी, नरेन्द्रदेव, अरनिको, सिद्धिनरसिंह मल्ल, भुपतिन्द्र मल्ल, प्रताप र जयप्रकाश मल्ल तथा पृथ्वीनारायण शाहसम्बन्धीका इतिहासमा उहाँको रुचि छ । सौदर्यचेत, कल्पनाशीलता, सिर्जनाशीलतायुक्त राजा प्रताप मल्लबाट शर्मा प्रभावित हुनुहन्छ । उहाँलाई क्रियटिभ किङ्ग अफ नेपाल भनेर विशेषण लगाउनुहुन्छ ।     
     
त्यसैले उहाँले धेरै प्रताप मल्ल र त्यसपछि पृथ्वीनारायणका चित्र बनाउनुभएको छ । विषयसम्बन्धी पुस्तक अध्ययन गरेर, विज्ञसँग भेटेर, प्रष्ट नभएका कुरा बुझेर, भेटिएका सन्दर्भ चित्र हेरेर बनाउने गर्नुहुन्छ । चित्र कोर्नकै लागि संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार दिनेशराज पन्त, ज्ञानमणि नेपाल र हरेराम जोशीसँग उहाँ पटक–पटक जानकारी लिने गर्नुहुन्थ्यो । उमेरले दिने भए अझै गाउँ–गाउँमा पुगेर चित्र बनाउने योजना सुनाउँदै शर्माले अब त्यो भावी पुस्ताका लागि छाडेको बताउनुभयो ।     
     
चित्रकारले जति गरे पनि केही न केही कमजोरी छाड्ने बताउँदै कलाकार शर्माले सम्झनुभयो, “भारतका राजा रवि बर्माको मैले चित्र हेरेँ, उहाँले कृष्णको चित्रमा एउटा माला नै छुटाइदिए, त्यसैले कलाकार पूर्ण होइन, एउटा न एउटा खोट हुन्छ मेरोमा पनि होला औँल्याइदिनुहोला ।” कला पारखी साहरुख ताम्राकार उहाँको कला आफैँ बोलिरहेझैँ लाग्ने खालको हुने बताउनुहुन्छ । शर्मा परिवारले यही इतिहासलाई चित्रमा एकीकृत गरी नेपाली, अङ्ग्रेजी र नेवारी भाषाको क्याप्सन राखी पुस्तकमा अभिलेखीकरण गर्ने योजना बनाएको छ ।  रासस
 

प्रतिक्रिया दिनुहोस