
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि बीमा अनुदान बापतको २४ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ । लामो समयदेखि भुक्तानी हुन नसकेको कृषि, पशुपन्छी तथा बाली बीमा अन्तर्गतको अनुदान रकम भुक्तानी गरेको प्राधिकरणकी उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठले जानकारी दिएकी हुन् ।
उनले आर्थिकन्युजसँग भनिन्, ‘हामीले अघिल्लो आर्थिक वर्षको वैशाख, जेठ र असार महिनाको २४ करोड रुपैयाँ भुक्तानी गरेका छौँ । पुसको १२ गतेको निर्णय अनुसार भुक्तानी गरेका हौँ ।'
प्राधिकरणका अनुसार भुक्तानी गर्नुपर्ने रकम ३३ करोड रुपैयाँ रहेको थियो । जसमध्ये ५ करोड रुपैयाँ पहिले नै भुक्तानी भैसकेको थियो। अब रहेको बाँकी रकम पनि छिट्टै भुक्तानी गर्ने तयारीमा रहेको उनले जानकारी दिए। श्रेष्ठले भनिन्, 'बाँकी रकम पनि छिट्टै भुक्तानी गर्छौ ।’
सरकारले कृषि पशुपन्छी तथा बाली बीमाको ८० प्रतिशत प्रिमियम अनुदान स्वरूप व्यहोर्ने गर्छ । बाँकी रहेको २० प्रतिशत रकम मात्र कृषकले तिर्नु पर्छ। अर्थ मन्त्रालयले असार अन्तिम सातामा नै बीमा कम्पनीहरूलाई भुक्तानी गर्न अनुदान बापतको रकम बीमा प्राधिकरणलाई दिइसकेको थियो । तर, प्राधिकरणले भने अनेकौँ बहाना गर्दै बीमा कम्पनीलाई झुलाउँदै आएको थियो ।
सरकारले कृषि पशुपन्छी तथा बाली बीमाको ८० प्रतिशत प्रिमियम अनुदान स्वरूप व्यहोर्ने गर्छ । बाँकी रहेको २० प्रतिशत रकम कृषकले नै व्यहोर्ने गर्छन् । अर्थ मन्त्रालयले असार अन्तिम सातामा नै बीमा कम्पनीहरूलाई प्रदान गर्न अनुदान बापतको रकम बीमा प्राधिकरणलाई दिइसकेको थियो । तर, प्राधिकरणले भने अनेकौँ बहाना गर्दै बीमा कम्पनीलाई झुलाउँदै आएको छ ।
गत आर्थिक वर्ष २०७८/०७९ मा भएको कृषि पशुपन्छी तथा बाली बीमाको रकममध्येको अनुदान बापत सरकारले बीमा कम्पनीलाई दिनुपर्ने १ अर्ब ३६ करोड भन्दाबढि रकम सरकारले भुक्तानी गरेको छैन । जसका कारण बीमा कम्पनीहरू समस्यामा परेका छन् ।
उता निर्जीवन बीमा कम्पनीहरूले कृषकहरूलाई दाबी भुक्तानी गरिसकेका छन् । यता बीमा कम्पनीहरू भने प्राधिकरणबाट समयमा अनुदान बापतको रकम भुक्तानी नपाएर तड्पिरहेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षमा १ लाख ८६ हजार वटा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी दाबी परेका थिए । उक्त दाबीका केही कागजपत्रमा त्रुटि देखिएकाले सम्बन्धित कम्पनीहरूलाई सच्चाएर ल्याउन लगाइएको छ ।
बीमा प्राधिकरणका अनुसार सरकारले पठाएको पैसामध्ये पशुपक्षी बीमा अन्तर्गतको दाबी भुक्तानी बापतको १ अर्ब ६ करोड ७५ लाख ४४ हजार रुपैयाँ रहेको छ । जुन रकम भुक्तानी गर्ने तयारी बीमा प्राधिकरणले थालेको हो ।
त्यस्तै, गत आर्थिक वर्षको १० करोड ४५ लाख रुपैयाँ बाली बीमा अन्तर्गतको दाबी रकम पनि सरकारले चाँडै नै भुक्तानी गर्ने बीमा प्राधिकरणले जनाएको छ
प्राधिकरणकी उपनिर्देशक ज्ञवाली भन्छिन्, ‘कृषि तथा पशुबीमा अन्त्रगतको गत आथिर्क वर्षको भुक्तानी रकम सबै बाँकी छ । त्यसमा साउन देखि असोजसम्मको तथ्याङ्क भेरिफिकेशनको काम भइरहेको छ । यो हप्ता मै सकिन्छ । पशु सेवा विभागबाट सिफारिस भएर आएपछि त्यसको पनि भुक्तानीको प्रक्रिया अघि बढ्छ ।’
‘कात्तिक देखि पुससम्मको तथ्याङ्क भेरिफिकेशनका लागि पठाउने तयारीमा छौँ । तीन महिनाभित्रै गत आवको सबै भुक्तानी गर्ने भनेर लागेका छौ’, उनले थपिन् ।
बजेट कम र बीमा धेरै हुने समस्या रहेका कारण दाबी भुक्तानी रकम समयमा नहुने गरेको प्राधिकरणको भनाइ छ । प्राधिकरणका पछिल्लो समयमा पशु बीमामा सरकारले दिनुपर्ने अनुदान रकम धेरै हुँदै गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस