
काठमाडौं। काठमाडौं उपत्यकामा टोलमा मात्रै होइन घरघरमा नै सहकारी छन् । तर, ती सहकारीले गरिबी घटाउन सहयोग गर्नुको सट्टा गरिबलाई रुवाउने काम गरिरहेका छन्। बचतकर्ता र ऋणीहरू आर्थिक रूपमा टेवा दिनुको साटो सहकारी संस्थाका नाममा खुलेका ठगी केन्द्रहरूले लुटेराहरू जन्माएका छन् ।
केही महिना अघि चर्चाको विषय बनेको कुलेश्वरको गौतम श्री र सोल्टीमोडको सिभिल सहकारीले सर्वसाधारण लुटेको कथा धेरैलाई याद छ। त्यसैगरी लालीगुराँस सहकारी हुँदै युनिटी काण्डसम्म पनि सबैको स्मरणमा छ ।
त्यस्तै, गरी बुढानीलकण्ठ नगरपालिका वडा न. ९, एकता बस्तीमा सञ्चालित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ब्रह्मलुटको अर्को कथा अहिले बाहिरिएको छ । त्यहाँ, भएको अनियमितताबारे कानुनी प्रकिया अनुसार छानबिन समितिले पुस पहिलो हप्ताबाट छानबिनको काम सुरु गरेर सकाएर प्रतिवेदन पेस गर्नु पर्ने थियो । तर, त्यसो नहुँदा बचतकर्ताहरू सञ्चालकको घर घेराउ गर्न गएका छन्।
आन्दोलनरत बचतकर्ताहरूका अनुसार त्यो सहकारीले सदस्य बचतकर्ताको लगभग १५ करोड फिर्ता गर्नु पर्ने छ। तर, सञ्चालकहरूले आफूखुसी बचतको पैसा चलाएको र त्यो दुवैको उनीहरूले आरोप लगाएका छन्। आर्थिक रूपमा भएको आशङ्का गरिएको यस्तो हिनामिनाको अनुसन्धानमा सञ्चालक समितिले असहयोग गरेपछि बचतकर्ताहरूमा थप आशङ्का बढेको छ। त्यसले उनीहरूलाई आक्रोशित बनाएको छ।
प्रारम्भिक छानबिनमा नै एकता बुद्ध बचत तथा ऋण सहकारीबाट उपलब्ध हुनुपर्ने कागजपत्रहरू सहकारीले उपलब्ध नगराएको कारण छानबिनको काम समेत अगाडी नबढेको समितिको जवाफ पाएपछि आफूहरू सञ्चालक विरुद्ध आन्दोलनमा उत्रिएको बचतकर्ताहरूले बताएका छन् । उनीहरू हातमा प्ले-कार्ड बोकेर नारा लगाउँदै सञ्चालकको घर घेर्न गएका हुन्।
अहिले पनि एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्य समिति सदस्यहरू भने बचतकर्तालाई अलमल्याउने काममा मात्र लागेका छन्। उनीहरूले पीडित बचतकर्ताहरूलाई कहिले सहकारी सञ्चालकको छलफल त कहिले कार्य सम्पादन गर्ने सञ्चालकको अनुपस्थिति भनेर टार्ने काममा लागेको पीडितहरुको आरोप छ।
प्रारम्भिक छलफलमा सहकारी संस्थाको आर्थिक हिनामिनामा कार्यकारी अध्यक्ष भानु शर्मा र कार्यालय व्यवस्थापक शम्भु कार्कीको संलग्नता रहेको पीडित पक्षले बताएको छ। सहकारी संस्थापकले गरेको आर्थिक हिनामिना र आन्तरिक संस्थागत किचलोले गर्दा पीडित बचतकर्ताहरू मारमा परेका छन् । राष्ट्रिय सहकारी महासङ्घ नेपालले सम्पत्ति बेचेर भए पनि ऋण तिर्न सहकारीका सञ्चालकलाई निर्देशन दिएको बचतकर्ताको भनाई छ । तर, सहकारीका सञ्चालकले भने उनीहरूको कुरालाई वास्ता गरेका छैनन्।
प्रतिक्रिया दिनुहोस