
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर ५ दशमलव २ रेक्टरको भूकम्प गएको छ । माघ १० गते मङ्गलबार दिउँसो ५ दशमलव ९ रेक्टरको भूकम्प गएको ठीक एक महिनामा भूकम्प गएको हो ।
सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछामलगायतका जिल्लामासमेत भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्कापछि स्थानीयवासी त्रसित बनेका छन् । भूकम्पबाट प्रभावित भएका बाजुराका पीडितहरुको उचित व्यवस्थापन हुन नपाउँदै फेरि भूकम्प गएपछि यहाँका स्थानीय थप प्रभावित भएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन ।
गत माघ १० गते गएको भूकम्पको ठीक एक महिनापछि आज यहाँ पुनः भूकम्प गएको हो । यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा एक जनाको ज्यान गएको थियो।
प्रतिक्रिया दिनुहोस