शीर्षकहरू

सहकारी बैंकमा बढ्यो तरलता, तर घट्यो लगानी

सहकारी बैंकमा बढ्यो तरलता, तर घट्यो लगानी

काठमाडौं । देशभरका बचत तथा ऋण सहकारीहरुको बढ्दो संकट नयाँ ढंगले समेत सतहमा देखिएको छ । आफूमा रहेको बचतले नभ्याउँदा राष्ट्रिय सहकारी बैंक मार्फत ऋण लिएर कारोबार गर्दै आएका सहकारीहरुले सो बैंकमा ऋण नलिएको तथ्यांकले यस्तो देखाएको हो । 

राष्ट्रिय सहकारी बैंकले सहकारीहरुलाई मात्रै ऋण प्रवाह गर्दै आएको छ । तर, पछिल्ला दिनमा निक्षेपका रुपमा तरलता थपिदा समेत यसले तरलता बढेको अनुपातमा लगानी गर्न नसक्नुले सहकारीहरुको कारोबारमा समेत उल्लेख्य शिथिलता आएको प्रष्ट पार्छ । 

त्यसो त सहकारीहरुले एकातिर बचतकर्ताको निक्षेप फिर्ता गर्न सकिरहेका छैनन् भने आर्थिक अवस्था कमजोर बन्दै जाँदा सहकारी बैंकबाट ऋण खान सक्ने क्षमता समेत गुमाउँदै गएका छन् । जसका कारण पछिल्लो समय राष्ट्रिय सहकारी बैंकमा तरलता पर्याप्त हुँदा समेत सो रकम लगानी हुन सकिरहेको छैन । सहकारी बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अपरष्किृत वित्तीय विवरणमा यस्तो देखिएको हो । 

उक्त तथ्यांक अनुसार पुस मसान्तसम्म २०.०२ प्रतिशत तरलता रहेको बैंकमा माघ मसान्तसम्म आइपुग्दा बढेर २२.३८ प्रतिशत पुगेको छ । माघ मसान्सम्म सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १५ हजार ८२८ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ५८६ रहेको छ । जबकी पुस मसान्तसम्म उक्त ऋणीको संख्या २ हजार ६३४ रहेको थियो । पुस मसान्तको तुलनामा माघमसान्तसम्म ऋणीको संख्या घटेको छ । 

उक्त वित्तीय विवरण अनुसार हाल बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड २३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ४२ अर्ब ६० करोड ६५ लाख, ऋण लगानी ३३ अर्ब ८५ करोड ९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको ऋण लगानी पनि घटेको छ । पुस मसान्तसम्म बैंकको ऋण लगानी ३४ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । 

हाल राष्ट्रिय सहकारी बैंकको तरलता रकम ९ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पँुजी एक अर्ब १३ करोड ७१ लाख, विभिन्न कोषको जम्मा रकम ६९ करोड एक लाख र कुल सम्पत्ति ५० अर्ब ३७ करोड ५७ लाख रुपैयाँ रहेको छ ।