
एजेन्सी । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा हालसम्म ३३ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । यी दुई भूकम्पपीडित देशलाई सहयोग गर्न धेरै देश अगाडि आएका छन् । यी देशहरूमा भारत, जर्मनी, ग्रीस, इरान, इराक, इजरायल, मलेसिया, कतार र चीन जस्ता देशहरू छन्।
चीनले भूकम्प प्रभावित सिरियामा राहत सामग्रीको दोस्रो खेप पठाएको छ । तर आफ्नो उद्धार टोलीका कर्मचारीको भ्रमण रद्द गरेको छ । उद्धार कार्यमा पर्ने बोझ कम गर्न र खराब मौसमलाई ध्यानमा राखेर यो कदम चालिएको चीनले जनाएको छ ।
विपद् रोकथामका लागि चाइना एसोसिएसनले चिनियाँ उद्धार टोलीलाई भूकम्प प्रभावित क्षेत्रमा ओभरलोड हुनबाट जोगिन र खराब मौसमको जोखिमबाट बच्न टर्की र सिरियाको यात्रा रद्द गर्न आग्रह गरेको छ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार रेडक्रस सोसाइटी अफ चाइनाले सिरियालाई कपासको टेन्ट, पारिवारिक किट, ज्याकेट र दैनिक उपभोग्य सामग्रीलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चीनले टर्की र सिरियालाई पनि आर्थिक सहयोग गरेको छ र सरकारका ८२ सदस्यलाई पनि यी दुई देशमा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस