
काठमाडौं । काठमाडौं । शक्तिशाली भूकम्पले टर्की र सिरिया आक्रान्त छन्। जहाँ मृत्यु हुनेको संख्या शनिबारसम्म २४ हजार नाघेको छ। त्यहाँ रहेका नेपाली पनि भयभित अवस्थामा छन्। भूकम्पग्रस्त क्षेत्रमा रहेका नेपाली सकुशल रहेका र सुरक्षित स्थानतर्फ गइरहेका छन्।
अहिलेसम्म कोही नेपालीको निधन नभएको गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीका अध्यक्ष उज्जलकुमार घिसिङले बताए। ‘नेपालीहरूको अहिलेसम्म मृत्यु भएको जानकारी आएको छैन’, अध्यक्ष घिसिङले भने, ‘समस्यामा परेकाहरूलाई समन्वय गरी सहजीकरण गरिरहेका छौं।’ प्रभावित क्षेत्रमा रहेका नेपालीलाई अन्य ठाउँमा सार्ने काम भइरहेको उनको भनाइ छ। ‘घरेलु कामदार, विद्यार्थी र होटलमा काम गर्नेहरू ३० जना सिफ्ट भइसकेका छन्’, घिसिङले भने, ‘केही विद्यार्थीलाई कलेजले पनि सिफ्ट गरिरहेको छ।’
एनआरएनए टर्कीका महासचिव विनोद पौडेलले ३० मध्ये १४ जना विद्यार्थी र अरू हाउसमेड (घरेलु कामदार) रहेका बताए। ‘धेरैजसो नेपाली घरबेटीसँगै सुरक्षित ठाउँमा गएका छन्’, महासचिव पौडेलले भने, ‘केही जागिर र कामको कारणले भूकम्पप्रभावित क्षेत्रमै छन्।’ आश्रयस्थल र होटलमा बसेका उनको भनाइ छ।
झापाकी पूजा मगर पाँच दिनपछि भेटिएकी छन्। शुक्रबार श्रीमान्को सम्पर्कमा आएको जनाइएको छ। उनी घरेलु कामदारका रूपमा त्यहाँ कार्यरत छिन्। भूकम्पका कारण विश्वविद्यालय बन्द भएका छन्। विद्यार्थी शाकिल शैखले १८ वर्षमुनिका केही विद्यार्थी टर्कीमा रहेको बताए। विद्यार्थीमा मानसिक त्रास कायमै रहेकाले नेपाल फर्किन खोजेको उनको भनाइ छ। भूकम्पग्रस्त क्षेत्रमा रहेका अन्य देशका विद्यार्थी भने घर फर्किसकेका छन्।
नेपाली विद्यार्थी छात्रवृत्तिमा पढ्न गएका हुन्। घर फर्किए छात्रवृत्तिमा असर पर्नेमा उनीहरू चिन्तित छन्। समस्या नपर्ने गरी स्वदेश फर्किने वातावरण मिलाइदिन उनीहरूले आग्रह गर्दै आएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो पाँच वर्षमा ५ हजार ५ सय १६ जना टर्की गएका छन्। ३ हजार ४ सय ८८ पुरुष र २ हजार २८ महिलाले टर्कीका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा देखिन्छ। तर, टर्की र सिरियामा कति नेपाली छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन। गैरआवासीय नेपाली संघले पनि तथ्यांक राख्न सकेको छैन। २ हजारभन्दा बढी नेपाली टर्कीमा बसोबास गर्ने गरेको संघको अनुमान छ। संघको मिडिया कम्युनिकेसन डेपुटी कोडिर्नर बाबा राजेश्वरी थापाले भनिन्, ‘कोरोनाअघि ४ हजारभन्दा बढी नेपाली थिए। अहिले दुई हजारजति रहेको हाम्रो अनुमान छ।’
महासचिव पौडेलले नेपालीको वास्तविक विवरण नभएको बताए। ‘घरेलु कामदार, विद्यार्थी छन्’, उनले भने, ‘भूकम्प आएको क्षेत्रमा सय जनाजति भएको हाम्रो आकलन छ।’ भूकम्पको केन्द्रबिन्दु मुख्य सहरभन्दा टाढा रहेकाले त्यहाँ धेरै नेपाली नभएको उनको भनाइ छ। तर, कति छन् भन्ने निश्चित नभएको पौडेलले बताए।
पौडेलका अनुसार सम्पर्कमा आएका सबै जना सुरक्षित स्थानमा छन्। खानाको व्यवस्था पनि नगरपालिका र रेडक्रसलगायत संघ–संस्थाले गरिरहेको उनले बताए। खाना, कपडालगायत अत्यावश्यक वस्तुको समस्या नरहेको उनले बताए।
उपाध्यक्ष श्यामकला राईले भूकम्पप्रभावित क्षेत्र गाजियान्टेपमा रहेका नेपाली सुरक्षित रहेको बताइन्। ‘फेरि भूकम्प आउन सक्ने त्रासमा छन्। परकम्पले पनि दुःख दिइरहेको छ’, उनले भनिन्, ‘परकम्प पनि ४।५ सम्मका आएकाले अझै त्रासपूर्ण वातावरण छ। टर्कीमा रहेका नेपाली मात्र नभई सबै संशकित छन्।’
भूकम्प प्रभावित क्षेत्र टर्कीको मुख्य सहर इस्तानबुलबाट १ हजार २ सय किलेमिटर टाढा पर्छ। भूकम्प गएकै दिन सोमबारदेखि एनआरएनए टर्कीले समन्वय गरी प्रभावित क्षेत्रमा रहेका नेपालीको खोजी गरिरहेको छ। एनआरएनका केन्द्रीय अध्यक्ष डा। बद्री केसीले पाकिस्तान राजदूतावास र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी त्यहाँ रहेका नेपाली र नाबालिग विद्यार्थीको जतिसक्दो छिटो उद्धार गर्न पहल गरिरहेको बताए।
प्रतिक्रिया दिनुहोस