भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्दै, छुट कति दिने ? - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्दै, छुट कति दिने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
Sunrise bank
भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्दै, छुट कति दिने ?
LBEF
NCH-IPS

काठमाडाैं । सरकारले चाडबाडलाई लक्षित गरी भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित मंगलबार बसेको बैठकले भदौ २३ गतेदेखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको थियाे । 

अघिल्लो वर्ष असोज १२ गतेदेखि सहुलियत पसल सञ्चालन भएको थियो । सहुलियत पसलमा बजारमा प्रचलित मूल्यभन्दा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने मन्त्रालयका उपसचिव उर्मिला केसीले बताइन् ।

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थानसहित निजी व्यवसायीले पनि छुट दिनेछन् । ‘सरकारी निकायले विभिन्न आउटलेट राखेर छुट दिन्छन्,’ उनले भनिन्, ‘चाडबाडको अवसरमा छुट दिन निजी व्यवसायीसँग पनि गृहकार्य भइरहेको छ ।’

केसीका अनुसार नुनमा बजार भाउभन्दा दुई रुपैयाँ छुट दिइनेछ । चामल मोटामा प्रतिकिलो ५ रुपैयाँ, चामल मसिनोमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने उनले बताइन् । गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ दिइने केसीले बताइन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्ने खसीबोका र च्यांग्रामा किलोको १० रुपैयाँ छुट दिने जनाएको छ । चाडबाडको मुखमा व्यवसायीले मनोमानी मूल्य लिँदै आएका छन् । त्यसलाई हस्तक्षेप गर्न पनि छुट दिन लागेको जनाएको छ ।

दुग्ध विकास संस्थानले प्रतिलिटर घिउमा ५० रुपैयाँ छुट दिने संस्थानका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए । हाल घिउको मूल्य ९ सय रुपैयाँ पर्छ । स्टक अफर रहेकाले प्रतिकिलो ८ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । उक्त मूल्य छठसम्म कायम हुने उनले बताए । यस्तै पनिरमा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिइने संस्थानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस