aarthiknews.com शुक्रबार, २६ जेठ २०८०   Friday, 09 June, 2023
 

प्रेम र पैसाको सम्बन्धमा मायाको स्थान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ माघ २०७९
प्रेम र पैसाको सम्बन्धमा मायाको स्थान
NIBL
  • लक्ष्मीप्रसाद कोइराला 

अङ्ग्रेजीमा भ्यालेन्टाइन डे भन्नुहोस् या नेपालीमा प्रणय दिवस बर्सेनि अङ्ग्रेजी पात्रो अनुसार फेब्रुअरी १४ तारिकका दिन एउटा पर्व मनाउन थालिएको धेरै भएको छैन । यसको प्रारम्भिक उठानको किस्सा जे–जस्तो भएता पनि पश्चिमा देशबाट आयातित चाड हो, हाम्रो देशमा। जुन अहिले हाम्रै मौलिक नेपाली संस्कृति झैँ बनेर निकै द्रुत गतिमा फस्टाइ रहेको छ । 

गुलाफको भाउ र प्रेमको मूल्य 

यो दिवसले नेपालमा पनि रातो गुलाफको व्यापार ह्वात्तै बढाएको छ। अढाई लाख जति गुलाफका फुल किन्न व्यापारीले डेढ करोड भन्दा बढी रुपैयाँ भारत पठाइसकेका छन्। एक सय रुपैयाँमा गुलाफको एउटा फुल किनेर त्यसैलाई प्रेमको प्रतिकका रुपमा साटासाट गर्ने बहानामा खुल्लमखुल्ला प्रेम प्रस्ताव राख्ने नयाँ संस्कृति विकास हुँदैछ। सार्वजनिक स्थानमा नै एक अर्कालाई गम्लङ्ग अङ्गालोमा बेर्ने र माया प्रेम पोखिहाल्ने संस्कृतिको विकास गर्न खोजिएको छ। तर, प्रेम एउटा गुलाफको फूलमै घप्लक्कै पोखी हाल्ने सस्तो मानवीय भावना होइन ।

माया र प्रेमको अर्थ

मायालाई नेपाली शब्दकोशले 'मोहवश कसैका प्रति हुने हार्दिकतायुक्त अनुराग, प्रेम वा अनुराग, स्नेहको भाव, प्यार, प्रीति, ममता, ममत्व । कुनै प्रकारको भ्रमपूर्ण, अवास्तविक, तथा मिथ्या धारणा वा आभास, धोका, छल, कपट । कुनै छलपूर्ण काम वा कुरा (जादु–टुना, इन्द्रजाल, चटक)।वेदान्तका अनुसार सम्पूर्ण काम सृष्टि र प्रपञ्चको कारण मानिने ईश्वरको अलौकिक तथा अदृश्य शक्ति लीला । अविद्या, अज्ञान जीवनलाई बन्धनमा राख्ने मोहरुपी शक्ति, धन, सम्पत्ति दौलत, कूटनीति, दाउपेच, लक्ष्मी, दुर्गा' भनेर अर्थ्याएको छ। 

त्यसैगरी प्रेमलाई  नेपाली शब्दकोशमा  'कुनै विषय, वस्तु वा व्यक्तिका स्वभाव एवम् गुणप्रति मनमा उत्पन्न आकर्षण वा आत्मीयता, अनुराग, रूप, गुण, स्वभाव, सामीप्य अथवा कामवासना आदिका कारणले स्त्री–पुरुषमा परस्पर हुने अनुराग, प्यार, प्रीति' भनेर परिभाषित गरिएको छ। तर, माया र प्रेमका बजारिया परिभाषाहरू अनेक छन्, विविध छन्। 

मायाप्रेमका नानाथरी अर्थहरू

मायालाई कोही हीराको टुक्रासँग तुलना गर्छन् त कसैले धारिलो हतियारसँग। कोही यसलाई उज्यालो ज्योति भन्छन् त कोही अन्धकारको मुहान। प्रेमबाट घायल भएकाहरूले सामाजिक सञ्जालहरूमा अङ्ग्रेजी LOVE शब्दको को विस्तारित व्याख्या गर्दै 'L=lake of sorrows (दुखको ताल), O=ocean of tears (आँसुको सागर), V=valley of death (मृत्युको उपत्यका), E=End of life (जीवनको अन्त्य)' भनी बताउने गरेको पाइन्छ । उता अक्सफोर्ड डिक्सनरी मा चाहिँ लभ (love) लाई 'very strong affection and sexual attention (अत्यन्तै प्रगाढ अनुराग र यौनजन्य आकर्षण) भनी अर्थ्याइएको छ ।

यी अर्थ, बिम्ब, प्रतीक र पर्यायबाट माया र प्रेमलाई जे जसरी परिभाषित गर्न अर्थात् अर्थ्याउन खोजिएको छ, भ्यालेन्टाइन डेमा त्यही अर्थमा अर्थात् केवल कामवासनाको प्रस्फुटनको रुपमा मात्रै प्रणयलाई अर्थ्याउने गर्नु चाहिँ हुँदैन। मायाको जुन अलौकिक अर्थ छ, महत्त्व छ र यसको सर्वव्यापकता जुन रुपमा छ त्यसलाई मनन गरेर यसको पवित्रताको सम्मान गर्नु पर्छ। यो प्राकृतिक गुण हो र यसको प्रतक्ष्य सम्बन्ध हाम्रो भावनासँग रहेको हुन्छ भन्ने कुराको हेक्का राख्नु पर्छ। 

मायाको प्राकृतिक पक्ष 

मायाको उत्पत्ति अन्तर हृदयबाट हुन्छ । तर, त्यसलाई आफ्नो इच्छा अनुसार संचालन गर्न सकिन्छ। माया मानव निर्मित बस्तु होइन। यो प्राकृतिक भावनाका रुपमा हामि भित्र रहेको हुन्छ। यो प्राणी जातिलाई प्रकृतिले दिएको प्राकृतिक उपहार हो जो हरेक प्राणीको जीवन आधारका रुपमा रहेको हुन्छ। आफू भोकै बसेर भए पनि टाढाबाट चुच्चोमा चारो च्यापेर ल्याई बच्चाको मुखमा हाल्ने चरी होस् वा चीलको पन्जाबाट आफ्ना चल्ला जोगाउन छोपेर राख्ने कुखुराको पोथी होस् सबैलाई ती कर्म गर्न लगाउने तत्त्व त्यही माया हो। त्यसैले यो प्राकृतिक र शाश्वत छ। 

प्रेम पनि माया हो तर माया प्रेम मात्र होइन

विज्ञानमा सबै अल्काली क्षार हुन् तर क्षार आल्काली होइनन् भने झैँ प्रेम माया हो तर माया प्रेम मात्र होइन । प्रेममा विपरीत लिङ्गीहरूबिच कामवासनाका लागि गरिने मायाको एउटा भाग प्रबल हुन्छ । त्यसैले यसले समुच्चय मायालाई आफूमा समेट्न सक्दैन। मायाको व्यापक स्वरूपको प्रतिनिधित्व प्रेमले गर्छ भन्न थालियो भने मायाको वास्तविक अर्थलाई त्यसले सङ्कुचित गर्छ। 

सर्वशक्तिमान् पैसा र कमजोर माया 

एक्काइसौँ शताब्दीमा अहिले पैसा सर्वशक्तिमान् भएको छ । पैसा वा भौतिक सम्पत्ति प्रतिको मोह यति बढी छ की माया भन्ने शब्दको कुनै महत्त्व छैन। मानिसहरू प्रेम पैसामा किन्न पाइने बस्तु हो भन्ने सोच्न थालेका छन्। परिणामस्वरूप मानवीय माया भाव दिनानुदिन ह्रास हुँदै गइरहेको छ । त्यसैले चिन्ता बढ्दो छ। भ्यालेन्टाइन डे मा माया देखाउन महँगा उपहार र पैसाले खरिद गरेका गुलाबका फूलका गुच्छाको बढी प्रयोग हुँदै गर्दा बढेको चिन्ता यहि हो कि कतै महँगा उपहारको लोभमा अपरिचितलाई गम्लङ्ग अङ्गालो हालेर माया भाव प्रकट गरेँ भन्ने भ्रम पो व्यापक बन्ने हो कि ! 

प्रतिक्रिया दिनुहोस