
काठमाडौं । अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक)ले खोटाङमा ६ वर्षअघि विभत्स तरिकाले हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । इन्सेक प्रतिनिधि तारानाथ फुयाँलले आयोगका कामु सचिव मुरारीप्रसाद खरेललाई ज्ञापनपत्र बुझाउँदै २६ माघ २०७३ मा मृत फेलापरेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङ, धारिलो हतियार प्रयोग गरेर १६ जेठ २०७४ मा हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र ४ साउन २०७४ मा हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विकको परिवारलाई न्याय दिलाउन ध्यानाकर्षण गराएका हुन् ।
इन्सेकले गरायो सरकारको ध्यानाकर्षण
आयोगसमक्ष महिलाको हत्याका विषयमा वस्तुनिष्ठ छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन र आमनागरिकलाई राज्य र मानवअधिकारको प्रत्याभूति दिलाउन माग गरिएको इन्सेक प्रतिनिधि फुयाँलले बताए ।
राष्ट्रिय महिला आयोगले तीन महिलाको विभत्स हत्यामा संलग्न दोषी पत्ता लगाउन गत ५ माघमा गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।
६ महिनाको अवधिमा भएका तीन महिलाको विभत्स र पासविक हत्याको घटना प्रकृति उस्तैउस्तै देखिन्छ । तर, हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन ।
लामो समय बित्दासमेत दोषी पहिचान नहुँदा निर्दोष महिलाको हत्या रहस्यमय बनेको छ । ‘घटनामा कसको संलग्नता थियो, घटनाको कारण के थियो रु’ भन्ने प्रश्नको जवाफ अझै गर्भमै छ । महिलाको हत्यामा संलग्न दोषी पत्ता लाग्न नसक्दा जिल्लामा प्रहरीको चर्को आलोचना हुने गरेको छ ।
दोषी पहिचान नभएको विषयमा विभिन्न सार्वजनिक कार्यक्रममा आवाज उठ्ने गरेको छ । हत्याको विषयमा अनुसन्धान जारी रहेको भए पनि ‘रिजल्ट’ प्राप्त हुन नसकेको प्रहरीले जवाफ दिने गरेको छ । जघन्य घटनामा संलग्न अपराधीको पहिचान नहुँदा पीडित परिवार त्रसित छन् भने दोषीको मनोबल बढाउन टेवा पुगिरहेको फुयाँलले बताए ।
होटलमा काम गर्दै आएकी रिता खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कुसेऔंशी जंगलमा विभत्स अवस्थामा मृत फेला परेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस