aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

पत्याउनु हुन्छ ? अहिले पनि ९ घण्टासम्म अघोषित लोडसेडिङ छ

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • विहीबार, २६ माघ २०७९
Global IME
पत्याउनु हुन्छ ? अहिले पनि ९ घण्टासम्म अघोषित लोडसेडिङ छ
DHI
nmb

काठमाडौं । औद्योगिक क्षेत्रमा माघ पहिलो साता बिहान र बेलुका उच्च मागको समयमा करिब नौ घण्टा लोडसेडिङ भयो। नेपाल विद्युत् प्राधिकरणले अघोषित रूपमा औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेको थियो। भारतको बिहारबाट विद्युत् आयात घट्दा बिहान र बेलुका पिकआवरमा उद्योग नचलाउन भनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वीकार गर्छन्। 

‘भारतको बिहार राज्यमा एक हजार मेगावाट उत्पादित प्लान्ट बन्द हुँदा नेपालमा आयात कम भएको हो। त्यो अहिले धेरै हदसम्म घटिसक्यो’, कार्यकारी निर्देशक घिसिङले भने। उनका अनुसार बिहान र साँझ कहिलेकाहीँ १–२ घण्टा लोडसेडिङ हुने गरेको छ। त्यसअघि वैशाखमा पनि औद्योगिक क्षेत्रमा लोडसेडिङ भएको थियो।

करिब २३ सय मेगावाटको जडित क्षमतामा अहिले आन्तरिक उत्पादन करिब ७ सय ५० मेगावाटमा झर्दा र आयातमा कमीका कारण औद्योगिक क्षेत्रमा लोडसेडिङ भएको हो। विद्युत्को माग करिब १२ सय मेगावाट छ। विद्युत्को उच्च माग करिब १६ सय मेगावाट छ। अहिलेको निजी क्षेत्रको करिब ३ सय ५० मेगावाट, प्राधिकरण र सहायक कम्पनी गरी करिब ४ सय मेगावाट उत्पादन भइरहेको छ। करिब १० वर्षयताको सबैभन्दा बढी सुक्खा यो वर्ष भएको प्राधिकरणका अधिकारी बताउँछन्। आन्तरिक उत्पादन करिब ३० प्रतिशतसम्म झरेकोे छ। 

माघ पहिलो साताको तुलनामा स्थिति सुध्रिएको उद्योगी पशुपति मुरारका बताउँछन्। ‘औपचारिक रूपमा नभए पनि बिहान ४ घण्टा र बेलुका ५ घण्टा लोडसेडिङ भएको थियो। अहिले पिक समयमा कम लोडमा चलाउन भनिएको छ’, मुरारकाले भने।

आयात गरिरहेकाले यसलाई सामान्य रूपमा लिइएको उनको भनाइ छ।  तर, बिहारबाट विद्युत् आयात नहुँदैमा लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले बताउँछन्। विद्युत् आयात नै भइरहेकाले एकातिर बन्द भए अर्कोतिरबाट आयात गर्न सकिन्थ्यो भन्ने उनको तर्क छ। 

बिहारबाट हुने आयात सेन्ट्रल लोडमा पर्ने भएकाले त्यहाँबाट बन्द हुनेबित्तिकै त्यसको असर पूरा आयातमा पर्ने कार्यकारी निर्देशक घिसिङ बताउँछन्। ‘बिहारबाट हामीले पश्चिम बुटवलनजिकै गण्डकबाट तानेका हुन्छौं। अनि रक्सौलबाट तानेका हुन्छौं। कटैयाबाट तानेका हुन्छौं। हामीले तान्ने भनेको सेन्ट्रल ग्रिडबाट हो। सेन्ट्रल ग्रिडबाट बिडिङ गरेर तान्छौं। त्यो कि टनकपुरबाट कि ढल्केवरबाट तान्नुपर्छ। त्यो दुई वटाभन्दा बढीमा बिड गर्न नै पाइँदैन’, घिसिङले भने। 

प्रसारण लाइन र सिस्टमले धानेअनुसार भारतसँग विद्युत् आयात गर्न सकिन्छ। प्राधिकरणका अनुसार पाँच स्थानबाट बिजुली आयात भइरहेको छ। ढल्केवर–मुजफपुरबाट ३ सय ५० मेगावाटसम्म, कुशाह–कटैयाबाट १ सय २०, रक्सौल–परवानीपुरबाट ३५, गण्डकबाट ५५ र टनकपुर प्रसारण लाइनबाट ७० मेगावाटसम्म ल्याउन सकिनेछ। परवानीपुरबाट ८० मेगावाटसम्म ल्याउन सकिने भए पनि सिंगल सर्किट प्रसारण लाइनका कारण ३५ मेगावाटभन्दा बढी आयात गर्न सकिने अवस्था छैन। 

रक्सौल–परवानीपुर नेपालतिरको पूर्वाधार निर्माणको समस्याले गर्दा ३५ मेगावाटभन्दा बढी विद्युत् लिन सक्ने अवस्था छैन। त्यहाँबाट प्राधिकरणलाई १ सय २० मेगावाट विद्युत् चाहिएको छ। परवानीपुरमा सिंगल सर्किटलाई डबल सर्किट गर्ने काम सकिए पनि सबस्टेसनको बेको निर्माणमा ढिलाइ भइरहेको छ। परवानीपुरस्थित अहिलेको भइरहेको सबस्टेसनमा नै नयाँ बनेको लाइनलाई ट्वानिङ (हाल्ने) गर्न सके १ सय २० मेगावाटसम्म आयात गर्न सकिन्थ्यो। तर, त्यसमा पनि भारतको अनुमति चाहिन्छ। आयात कम भएकै कारण वीरगन्ज करिडोरका उद्योगलाई पिकआवरमा कम लोडमा चलाउन भनिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई बताउँछन्।

प्रतिक्रिया दिनुहोस