aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

शेखर गोल्छाको बयान: ‘चालकले घ्याच्च ब्रेक हान्यो, खलासी हाम्फाल्यो, हामी घाइते भयौँ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ माघ २०७९
Prabhu Bank
Motor Head
शेखर गोल्छाको बयान: ‘चालकले घ्याच्च ब्रेक हान्यो, खलासी हाम्फाल्यो, हामी घाइते भयौँ’
nabil bank
LBF

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले धेरै चासो राख्ने गरेको विषय हो- नेपालको कूल ग्राहस्थ उत्पादन (जिडिपी) र यहाँ भइरहेको लगानीको अनुपात । यो विषयको जवाफमा भन्दै आएका छौँ, ‘नेपालमा प्रवाह भएको धेरैजसो कर्जा धितोमा आधारित छ ।’

त्यसैगरि, हामीले लिएका कर्जाहरू व्यापार (खरिद बिक्री)को लागि लिएका छौँ । यही व्यापारिक गतिविधिले गर्दा नै हाम्रो मुलुकमा राजस्व परिचालन सम्भव भएको छ । यदि हामीले कूल ग्राहस्थ उत्पादनको वृद्धि हेर्ने हो भने सामान्यतया ४.३ अथवा ४.४ प्रतिशत औसतमा रहेको छ ।

तर, यदि राजस्वको वृद्धि हेर्ने हो भने त्यो धेरै नै बढी अर्थात् जिडिपीको वृद्धि भन्दा ४/५ गुणा नै बढी भइरहेको देखिन्छ । चालू आर्थिक वर्षलाई अपवादमा राख्ने हो भने १५/२० प्रतिशतको औसतमा विगत लामो समयदेखि राजस्व वृद्धि हुँदै आएको छ ।

यहाँ जोड्न खोजेको कुरा के हो भने जुन मात्रामा कर्जा प्रवाह भएको थियो त्यो कर्जा व्यापारिक क्षेत्रमा लगानी भएर नै राजस्व परिचालनमा यस प्रकारको वृद्धि सम्भव भएको हो । त्यसैले उत्पादन क्षेत्रमा मात्रै लगानी हुनु पर्छ भन्ने जुन मान्यता हामीले राख्दै आएका छौँ त्यसमा केही सुधारको खाँचो छ ।

उत्पादन कि व्यापार ?

हो, उत्पादन क्षेत्रमा लगानी नभईकन हाम्रो अर्थतन्त्रको दिगो विकास हुन सक्दैन । मुलुकमा रोजगारी सिर्जना गर्न सकिँदैन । तर, तथ्याङ्कले नै देखाएको कुरा यो हो की उत्पादनमूलक क्षेत्र जस्तै व्यापारिक क्षेत्र पनि उति नै महत्त्वपूर्ण क्षेत्र हो । यही क्षेत्रबाट परिचालित भएको राजस्वले नै हाम्रो बजेटको आकार बढ्न सम्भव भएको हो ।

त्यसैका आधारमा हामीले ठुला ठुला परियोजनाको परिकल्पना गर्न सकेका छौँ । यहाँ प्रतिप्रश्न के गर्न सकिन्छ भने के व्यापार नभएको भए उत्पादनले मात्र अहिलेको मात्रामा राजस्व परिचालन गर्न सक्थ्यो होला ? यसको मतलब यो होइन की मुलुकमा औद्योगिक विकासलाई महत्त्व दिनु हुँदैन । अवश्य पनि उद्योग जरुरी र अनिवार्य छ । किनकि रोजगारी सिर्जना गर्नै पर्ने छ ।

यदि समयमा नै रोजगारी सिर्जना नगर्ने हो भने जुन गतिमा आज हाम्रा युवाहरू वैदेशिक रोजगारीमा गइरहेका छन् त्यो विगतमा कहिले पनि थिएन । त्यसलाई रोक्न जरुरी छ । तर, अहिले उनीहरूले पठाएको लगभग एक अर्ब डलरको रेमिट्यान्सले नै यहाँको अर्थतन्त्र धानेको छ । अहिले महिनाको ११/१२ हजार करोड रुपैयाँ हाम्रा प्रणालीमा त्यहीँबाट भित्रिरहेको छ ।

यिनै कारणहरूले अहिले हाम्रो अर्थतन्त्र सबल स्थितिमा पुगेको छ । यसमा कुनै शङ्का छैन की यही रेमिट्यान्सले नै हाम्रो उपभोगलाई धानिरहेको छ । त्यही उपभोगले नै राजस्व परिचालन गराइरहेको छ । र, यही चक्रले हाम्रो अर्थतन्त्र चलिरहेको छ ।

आर्थिक संकटको खास कारण 

अर्को एउटा प्रश्न धेरैजसोले सोध्ने गरेका छन्– अहिलेको आर्थिक परिदृश्यबारे निजी क्षेत्रको दृष्टिकोण कस्तो छ ? यो अवस्थामा हामी कसरी पुग्यौँ भन्ने आम प्रश्नको जवाफ दिन एउटा बिम्बको प्रयोग उपयुक्त हुने देखिन्छ । हुन त यो उदाहरण साधारण व्याख्या जस्तो देखिएला तर हाम्रो अर्थतन्त्र कसरी यहाँ आइपुग्यो भन्ने कुरालाई यसले सरल ढङ्गले प्रस्तुत गर्न सक्छ ।

मानौँ, हाम्रो अर्थतन्त्र एउटा यात्रु बस हो । हामी सबै सरोकारवालाहरू जसमा यात्रा गरिरहेका छौँ । सो बसको चालक अर्थ मन्त्रालय हो । निजी क्षेत्र सेवा प्रदान गर्ने निकायहरू लगायत सबै त्यसमा सवार छौँ ।

चालकले जुन गतिमा बस चलाउँछ यात्रुले पनि त्यही गतिमा आफूलाई राखिरहेको हुन्छ । यसबिचमा धेरै अवरोधक (स्पिड ब्रेकर)हरू आए । कहिले राजनीतिक परिवर्तनका बेला मजदुरहरूबाट सिर्जित अवरोधले ४ प्रतिशतको वृद्धिलाई झन्डै शून्य प्रतिशतमा झार्‍यो । त्यसपछि थोरै अगाडी बढेका थियौँ ऊर्जा अभावले दैनिक १४/१५ घण्टा लोडसेडिङ भएर अर्को अवरोध देखा पर्‍यो । त्यसले पनि हाम्रो अर्थतन्त्रलाई निकै नै कमजोर पार्‍यो ।

सो अवरोधलाई पार गरेर अघि बढ्दै गर्दा भूकम्प, नाकाबन्दी जस्ता अवरोधहरूको सामना गर्‍यौँ । ती सबै अवरोधहरू थिए । तर, त्यसले हाम्रो अर्थतन्त्र (गाडी)को इन्जिन चल्न नसक्ने बनाइदियो । यसरी भनौँ की इन्धन (तरलता) सकियो ।  

यसरी इन्धन अर्थात् तरलता सकिनुको कारण के थियो भने हाम्रो गाडी कुद्ने बाटोको क्षमता ४ प्रतिशतको (अर्थात् आर्थिक वृद्धिदर ४ प्रतिशत) थियो । तर, हामीले ८ प्रतिशतको गतिमा गाडी कुदायौँ । त्यसरी कुदाउने चालक भनेका अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक हुन् ।

त्यसबेला यहाँ धेरै रिफाइनान्सिङ भयो । कर्जाको पुनर्संरचना धेरै नै भयो । त्यसबाहेक अनेकौँ खालका इन्सेन्टिभहरु वितरण भए । परिणाम स्वरूप आर्थिक वृद्धिको गति सामान्यतया जति हुनु पर्ने थियो त्यो भन्दा धेरै नै भयो । सबैभन्दा महत्त्वपूर्ण कुरा त बसभित्र बसेका हामी यात्रुहरूले पनि ताली बजायौँ । हामीलाई लाग्यो गन्तव्यमा चाँडै पुगिन्छ । तर, त्यसबेला ताली बजाउनु गलत रहेछ। 

ताली बजाइरहँदा हामीले दायाँबायाँ केही दुर्घटनाहरू भएको पनि देख्यौँ । श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानमा त्यस्तो देखियो । त्यसपछि बस चालकहरूले पनि उकालो लाग्दै गर्दा अगाडी निकै दुर्घटना हुने देखे । सो दुर्घटनाबाट बच्न झ्याम्मै ब्रेक लगाए ।

सिसिडी रेसियोलाई सिडी रेसियोमा झार्ने एउटा ब्रेक थियो । शेयर कर्जाका ४/१२ को नीति अर्को ब्रेक थियो । आयातमा कडाइ अर्को ब्रेक थियो । सबैभन्दा ठुलो ब्रेक चालू पुँजी मार्गनिर्देशनका रुपमा लाग्यो । यसरी झ्याम्मै ब्रेक लाग्दा यात्रुहरू अङ्गभङ्ग भए । र, कतिपयको मृत्यु समेत भयो ।

यो क्रममा हाम्रो बस (अर्थतन्त्र) त बच्यो । हाम्रो ब्यालेन्स अफ पेमेन्ट ठिक अवस्थामा आयो । तरलता अभावको समस्या पनि हट्यो। तर, दुर्घटनाग्रस्त अवस्थामा रहेका यात्रुहरूलाई चाहिँ कसरी बचाउने ? ती यात्रुलाई नबचाई बस कसरी अगाडी बढाउने ? अहिलेको आवश्यकता भनेको यात्रुलाई सुरक्षित राख्दै बस अगाडी बढाउने हो । अर्थतन्त्र चलायमान बनाउने हो ।

खराब चालक, चलाख खलासी 

चालक राम्रा परेका थिए भने सायद यस्तो हुने थिएन । किनकि राम्रो चालकले खतरालाई टाढैबाट देख्न सक्छ । उसले दुर्घटनालाई रोक्न गति नियन्त्रण गर्छ । चालक नराम्रो परेपछि खतरा देखेपछि मात्रै ब्रेक लाग्यो । यदि खतरालाई पहिले नै देखेको भए यो दुर्घटना हुने थिएन । सबै यात्रुहरूलाई सचेत बनाउने समय पुग्थ्यो ।

यो दुर्घटनामा चलाख सह चालक (खलासी) भने बच्यो । त्यो खलासी भनेका बैंकरहरु हुन् । उनीहरूले खतरालाई अलि परैबाट देखे । त्यसैले बसबाट अलिक छिट्टै हाम्फाले । त्यसैले दुर्घटनामा परेनन् । तर, हाम्फाल्दा लागेका धेरै घाउहरू छन् । पुरै शरीरमा चोटहरू छन् । खराब कर्जा (एनपीएल) त्यसको एउटा रूप हो। 

तर, बाहिर बसेर बैंकहरुले रमिता हेरिराख्नु हुँदैन। गाडी भित्र प्रवेश गरेर सबैलाई चलायमान बनाउनु पर्छ । ऋण प्रवाह गर्नु पर्छ। यसको अर्थ फेरि पनि खतरा मोल्नु पर्‍यो । किनकि अर्थतन्त्र चलायमान बनाउनै पर्छ ।

यहाँ के कुरा स्वीकार गर्नु पर्छ भने यदि त्यसबेला चालकले झ्याम्मै ब्रेक नहानेको भए साह्रै ठुलो दुर्घटना हुन्थ्यो । श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान जस्तै हाम्रो बस नै दुर्घटनामा परेको भए हामीलाई त्यसपछि अगाडी बढ्न निकै नै गाह्रो पर्थ्यो ।

माग बढाऊँ, सङ्कुचन घटाऊँ   

आशा गरौँ, अब सबै ठिक हुन्छ । राम्रा सङ्केतहरू देखिइसकेका छन् । तर, अहिले ‘क’ वर्गका बैंकहरुमा देखिएको जुन तरलता छ त्यो जबसम्म तलसम्म जाँदैन तबसम्म हाम्रो अर्थतन्त्र चलायमान हुँदैन । हाम्रा लघुवित्त र सहकारीसम्म त्यो तरलता पुग्नु पर्छ ।

अहिले बैंकहरुमा तरलता छ । तर, तल तरलताको अभाव उस्तै छ । त्यहाँ तरलता नपुगीकन माग बढ्दैन । माग नबढीकन आयात बढ्दैन, राजस्व बढ्दैन । त्यसैले अर्थतन्त्र बचाउन तल्लो तलसम्म तरलता पुर्‍याउनै पर्छ ।

त्यसपछि उद्यमशीलताको विकास हुने सम्भव छ । तरलताको सहज आपूर्ति र आधारभूतरुपमा अर्थतन्त्र चलायमान भएपछि मात्र उद्यमशीलतामा विकास हुने हो । अझै पनि ठुलो क्षेत्र सङ्कुचनमा रहेको छ । निर्माण क्षेत्र अहिले पनि ५० देखि ६० प्रतिशतको सङ्कुचनमा छ । अटो मोबाइल्सको क्षेत्रमा पनि त्यस्तै सङ्कुचन छ । सेवा लगायतका अन्य क्षेत्रहरू पनि ठुलो सङ्कुचनमा छन् । जसले गर्दा राजस्व परिचालनमा असर परेको छ ।

यदि अर्थतन्त्रलाई चलायमान बनाउने हो भने हामीले सोच विचार गरेर केही चुनौतीहरू स्विकार्नै पर्छ । हामी सुरक्षित बन्न मात्रै खोज्यौँ भने अर्थतन्त्रलाई आधारभूत अवस्थामा समेत ल्याउनु गाह्रो पर्छ । वाणिज्य बैंकमा तरलतामा थुप्रियो भन्दैमा खुसी हुनु हुँदैन । त्यसैले मागलाई बढाउन जरुरी छ ।  

(नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको उद्यमशीलता कार्यशालामा महासङ्घ अध्यक्ष शेखर गोल्छाले राखेको बिचारमा आधारित)

प्रतिक्रिया दिनुहोस