aarthiknews.com शुक्रबार, २६ जेठ २०८०   Friday, 09 June, 2023
 

रवि लामिछाने विरुद्ध अमेरिकामा ९ मुद्धा, ३ अझै विचाराधिन

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • मंगलबार, २४ माघ २०७९
रवि लामिछाने विरुद्ध अमेरिकामा ९ मुद्धा, ३ अझै विचाराधिन
NIBL

काठमाडौं । रवि लामिछानेविरुद्ध अमेरिकाको मेरिल्यान्डस्थित अदालतमा तीनवटा मुद्दा चालू अवस्थामै छन् । नौवटा मुद्दा परेकामा ६ वटाको किनारा लागिसकेको विवरणले देखाउँछ । चालूमध्ये एउटा ‘ओपन’ र दुइटा ‘ओपनरजजमेन्ट’ अवस्थाका छन् । 

तीनवटै मुद्दाको प्रकारमा ‘सीएन’ अर्थात् क्रिमिनल नन–ट्राफिक उल्लेख छ । जुन आपराधिक प्रकृतिको रहेको जानकार बताउँछन् । मुद्दाको विवरणमा लामिछानेको ठेगाना क्यालिफोर्नियाको पार्कभिल्ले उल्लेख छ । यी मुद्दा लामिछानेले अमेरिकी नागरिकता त्यागेको भनिएको मिति आसपासदेखि पछिसम्मका छन् । डिस्कोभर बैंकले सन् २०१९ जनवरी २५ मा टाउसन जिल्ला अदालतमा हालेको मुद्दा ‘ओपन’ अवस्थाको हो । 

रेनहर्ट फुड सर्भिस एलएलसीले रुचि आई एलएलसीलाई हालेका दुई मुद्दामा लामिछाने जोडिएको देखिन्छ। जुन ‘ओपन–जजमेन्ट’ अवस्थामा छन् । टाउसन जिल्ला अदालतमै सन् २०१८ जुन १९ मा दर्ता भएका यी मुद्दा कर नतिरेको विषयसँग सम्बन्धित रहेको जानकार बताउँछन् । कानुन व्यवसायीका अनुसार यी मुद्दा सन् २०३१ सम्म जारी रहन्छन् । 

स्टेट अफ मेरिल्यान्डले २०१९ फेब्रुअरी १४ मा बाल्टिमोर काउन्टी सर्किट कोर्टमा लामिछानेविरुद्ध मुद्दा हालेको थियो । त्यो मुद्दा भने मान्छे नभेटाएका कारण बन्द भएको देखिन्छ । त्यसको विषय कर नतिरेको थियो । स्लोमिन्स आइएनसीले टाउसन जिल्ला अदालतमा सन् २०१८ फेब्रुअरी २३ मा मुद्दा हालेको देखिन्छ। त्यो मुद्दा पनि बन्द छ । 

रवि लामिछानेविरुद्ध अमेरिकाको मेरिल्यान्डस्थित अदालतमा चालू (रातो घेरा) र बन्द अवस्थामा रहेका मुद्दा ।

बैंक अफ अमेरिकाले २०१८ अप्रिल ३० मा  टाउसन जिल्ला अदालतमा हालेको मुद्दा पनि बन्द छ । अमेरिकन एक्सप्रेस नेसनल बैंकले सन् २०१८ अक्टोबर १२ मा मुद्दा दायर गरेको थियो । त्यो पनि बन्द छ । स्लोमिन्स आइएनसीले नै २०२० फेब्रुअरी १९ मा बाल्टिमोर कन्ट्री सर्किट कोर्टमा हालेको मुद्दा पनि किनारा लागेको देखिन्छ । मिडल्यान्ड फन्डिङले सन् २०१९ जुन २५ मा टाउसन अदालतमै हालेको मुद्दा पनि बन्द देखिन्छ । 

सबै मुद्दामा गरी २५ देखि ३० लाख रुपैयाँ लामिछानेले तिर्नुपर्ने देखिएको जानकारको दाबी छ । क्रेडिट कार्ड, ‘हिट’लगायतको पैसा नतिरेका कारण मुद्दा लागेको उनको भनाइ छ । उनका अनुसार ५ हजार डलरभन्दा माथिका मुद्दा मात्रै जिल्ला र सर्किट अदालतले सुनुवाइ गर्छन् । उनको लापबाहीका कारण मुद्दा ओपन देखाइरहेको कानुन व्यवसायीको तर्क छ । 

प्रतिक्रिया दिनुहोस