aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

रुपन्देहीमा उद्योग दर्ता धेरै, नवीकरण कम

  • रासस
    रासस
  • मंगलबार, २४ माघ २०७९
Prabhu Bank
रुपन्देहीमा उद्योग दर्ता धेरै, नवीकरण कम
NIBL

रुपन्देही । रुपन्देहीमा घरेलु तथा साना उद्योग खुल्ने क्रम बढ्दो छ । कोरोना महामारी सकिएपछि अर्थतन्त्र पुनः लयमा फर्किन लागेका कारण धमाधम घरेलु तथा साना उद्योग खुल्ने क्रम बढको हो । उद्योग दर्ता गर्ने बढे पनि नवीकरण गर्नेको सङ्ख्या भने कम छ । 

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको तथ्याङ्कानुसार रुपन्देहीमा अहिलेसम्म १६ हजार आठ सय ३२ उद्योग दर्ता भएका छन् । दर्ता भएकामध्ये दुई सय ९५ उद्योग मात्रै नवीकरण भएका छन् । पछिल्लो तीन वर्षमा रुपन्देहीमा घरेलु तथा साना उद्योग क्रम निरन्तर बढ्दो क्रममा रहे पनि नवीकरण गर्नेको सङ्ख्या भने निकै कम देखिएकोे कार्यालयका उद्योग अधिकृत तथा सूचना अधिकारी नेत्रप्रसाद भुसालले जानकारी दिए । 

घरेलु तथा साना उद्योग कार्यालयको पछिल्लो पाँच वर्षको तथ्याङ्कानुसार २०७४र०७५ मा एक हजार २८ उद्योग दर्ता भएका छन् ।  आर्थिक वर्ष २०७५र०७६ मा एक हजार तीन सय ९१ उद्योग दर्ता भएका छन् । आव २०७६र०७७ मा एक हजार एक सय ४१ उद्योग दर्ता भएका छन् । तीमध्ये घरेलु उद्योगतर्फ तीन उद्योग दर्ता भएका छन् । साना उद्योगतर्फ एक हजार एक सय ३८ उद्योग दर्ता भएका छन् ।

ऋाव २०७६र०७७ भन्दा आव २०७७र०७८ मा उद्योग खुल्ने क्रम बढ्दो छ । आव २०७७र०७८ मा एक हजार चार सय ६० उद्योग दर्ता भएका छन् । यो सङ्ख्या आव २०७६र०७७ भन्दा तीन सय १९ ले बढी हो । एक हजार चार सय ५९ साना उद्योग दर्ता हुँदा एउटा मात्र घरेलु उद्योग खुलेको छ । आव २०७८र०७९ मा एक हजार छ सय २८ उद्योग खुलेका छन् । यो सङ्ख्या २०७७र०७८ भन्दा एक सय ६८ ले बढी हो । 

कार्यालयले आठ वर्गीकरणमा घरेलु तथा साना उद्योग दर्ता गर्ने गरेको छ । उत्पादनमूलक, सेवामूलक, पर्यटन, ऊर्जामूलक, कृषि तथा वनजन्य, सूचना प्रसारण तथा सञ्चार प्रविधि, खनिज, पूर्वाधार छन् । यसमध्ये सबैभन्दा बढी उत्पादकमूलक उद्योग दर्ता भएको कार्यालयका उद्योग अधिकृत तथा सूचना अधिकारी भुसालले बताए । 

घरेलु कार्यालय रुपन्देहीमा हालसम्म दर्ता भएका सात हजार एक सय ५२ उत्पादनमूलक उद्योगमध्ये एक सय ८० उद्योग नवीकरण भएका छन् ।  त्यसैगरी चार हजार दुई सय ९५ सेवामूलक उद्योग दर्ता भएकामा ५८ उद्योग नवीकरण भएका छन् । दुई हजार चार सय २२ पर्यटन उद्योग दर्ता भएकामा ३६ उद्योगले मात्रै नवीकरण गराएका छन् । कृषि तथा वनजन्य उद्योग दुई हजार नौ सय ६२ दर्ता हुँदा २१ मात्रै नवीकरण भएका छन् ।  

सूचना प्रसारण तथा सञ्चार प्रविधिसम्बन्धी एउटा मात्रै उद्योग दर्ता भएको छ भने पूर्वाधारसम्बन्धी एउटा पनि उद्योग दर्ता भएको छैन । “कार्यालयले समयमा नवीकरणका लागि विभिन्न सञ्चार संस्थाबाट सूचना प्रवाह गर्दै आएका छौँ । बैंकबाट ऋण लगानी गरेका उद्योगीले समयमै गर्छन, नवीकरण नगरेको खण्डमा जरिवानाको व्यवस्था छ”, सूचना अधिकारी भुसाल भने । समयमा नवीकरण नगरेका उद्योगीलाई प्रत्येक नवीकरणका लागि लाग्ने अवधिको तेब्बर दस्तुर, प्रत्येक वर्ष रु २० लाखसम्मको उद्योगलाई रु दुई हजार पाँच सय जरिवाना र त्यहाँभन्दा माथि रु पाँच हजारसम्म जरिवानाको व्यवस्था छ ।

कार्यालयमा रु पाँच लाखदेखि रु १५ करोडसम्मका उद्योग दर्ता हुँदै आएका छन् । पछिल्लो समय कोरोना महामारीको प्रभाव हराएपछि उद्योग खुल्ने क्रम बढेको बताउनुहुन्छ प्रमुख उद्योग अधिकृत रामप्रसाद ज्ञवाली । सानो पूँजी तथा कम जनश्रक्तिबाट पनि उद्योग सञ्चालन गर्न सकिने भएकाले साना तथा घरेलु उद्योगमा आकर्षण बढेको उनको भनाइ छ । “उद्योग दर्ता हुने क्रम बढेको छ तर, अहिले दर्तापछि सञ्चालनमा समस्या भएको केही उद्योगीबाट गुनासो आउने गरेको छ”, उनी भन्छन ।

सरकारले घरेलु तथा साना उद्योग सञ्चालनका लागि बेला बेलामा आवश्यक सहयोग समेत प्रदान गर्दै आएकाले साना उद्योगमा लगानी आकर्षित बन्दै गएको उनको भनाइ छ । सरकारले उद्योगमा दिएको छुट र अनुदानका कारण पनि उद्योगमा लगानी गर्नेको आकर्षण बढेको हो । कोरोना महामारीपछि उद्योगमा आर्थिक मन्दी छाएको उद्योगीका सङ्घ संस्था बताउँछन् ।

“कोरोना महामारीपछि बजारमा आर्थिक चलायमान कमजोर छ । जसले गर्दा उद्योग नै बन्द भएका कारण पनि नवीकरण भएको छैन”, रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेल भने । आर्थिक मन्दिका कारण पनि पछिल्लो समय उद्योग नवीकरण हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस