
काठमाडौं । पछिल्लो समय बीमा पोलिसी त्याग गर्नेको संख्या घटेको देखिएको छ । नेपाल बीमा बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको मंसिर महिनाको तुलनामा पुस महिनामा बीमा पोलिसी सरेन्डर गर्नेको संख्या १३.९६ प्रतिशतले घटेको हो ।
प्राधिकरणका अनुसार यस अवधिमा ८७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ बीमालेख सरेन्डर भएका छन् । जबकी गत मंसिर महिनामा एक अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० बीमालेख सरेन्डर भएका थिए ।
बीमा सरेन्डर गर्नका लागि कम्तिमा पनि बीमा गरेको तीन वर्ष पुरा हुनुपर्छ । तीन वर्षपछिमात्र बीमितले पोलिसी सरेन्डर गर्न पाउँछन् । पोलिसी त्याग्नेको संख्या घटेपनि खुशी हुनपर्र्ने कारण भने नरहेको बीमा क्षेत्रका जानकारहरु बताउँछन् । पोलिसी खरिद गरेको संख्याको आधारमा यो सरेन्डरको संख्यामा उतारचढाव देखिने जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ बताउँछन् ।
उनी भन्छन्, ‘पोलिसी सरेन्डरको संख्या महिनैपिच्छे फरक फरक आउँछन् । जुन बीमितले खरिद गरेको पोलिसीको समय र संख्यामा भर पर्छ । बीमा पोलिसी सरेन्डर हुनुमा आर्थिक मन्दीको असर मात्र होइन । कुन समयमा बीमितको सरेन्डर गर्न समय पुगेको हुन्छ । त्यसले पनि फरक पार्छ ।’
प्राधिकरणका अनुसार पुस महिनामा नेपाल लाइफ इन्स्योेन्सको सर्वाधिक बीमा पोलिसी सरेन्डर भएका छन् । यस महिनामा उक्त कम्पनीको ४३ करोड ९७ लाख ७९ हजार रुपैयाँ बराबरको २ हजार ८३५ बीमालेख सरेन्डर भएका हुन् ।
ऋण पाउन झन्झटिलो प्रक्रिया भएकाले सरेन्डरलाई रोज्न बीमितहरु बाध्य हुने गरेको अध्यक्ष श्रेष्ठले बताए । ‘बैंकमा पैसा लिन जानुभयो भने पैसा लिनलाई धेरै गाह्रो छ बैंकको लोन लिन सजिलो छैन । बीमामा सबैभन्दा सजिलो छ’, उनले अगाडी थपे, ‘बीमितले पोलिसी सरेन्डर गर्नेबित्तिकै आफ्नो पैसा पाउँछ । ऋण लिनका लागि पनि सजिलो छ । पैसा लिनका लगि सजिलै पहँुच हुने भएका कारण पनि सरेन्डरलाई पहिलो प्राथमिकतामा राख्छन् ।’
नेपाल लाइफ जस्तै सरेन्डरको संख्या अन्यमा पनि उस्तै छ । पुसमा राष्ट्रिय बीमा कम्पनीको मात्रै ७ करोड ७३ लाख ५७ हजार रुपैयाँ बराबरको १ हजार ४५ बीमालेख सरेन्डर भएका छन् । सोही अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको ८ करोड २३ लाख ३७ हजार रुपैयाँ बराबरको ७०२ बीमालेख र लाइफ इन्स्यारेन्स कर्पोरेशनको ९करोड ५९ लाख ६८ हजार रुपैयाँ बराबरको १६७ बीमा पोलिसी सरेन्डर भएका छन् ।
धेरैले बीमालाई पहिलो प्राथमिकता नदिने गरेको अध्यक्ष श्रेष्ठको बुझाई छ । उनी भन्छन्, ‘बीमालाई पहिलो प्राथमिकता दिनुपर्ने हो । तर, त्यस्तो धेरैले गर्दैनन् । पछि पैसा तिर्दा पनि हुन्छ भन्ने मानसिकता छ । अप्ठ्यारो परिस्थितिमा बीमा क्षेत्र प्राथमिकतामा पर्नुपर्नेमा झन् पछाडी परेको छ ।’
उनका अनुसार मुलुकमा देखिएको आर्थिक संकटको असर बीमा क्षेत्रमा पनि छ । यही समस्याका कारण आर्थिक मन्दीले बीमा क्षेत्र पनि अप्ठ्यारोमा छ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय पनि घट्दो क्रममा छ । गत वर्षको पुस मसान्तको तुलनामा ३० प्रतिशत जस्तै बीमा कम्पनीहरुको व्यवसाय घटेको छ ।
प्राधिकरण अनुसार पुसमा मेट लाइफका बीमितहरुले ३ करोड ६ लाख ४१ हजार रुपैयाँ बराबरको ३२७ वटा बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यसैगरी, यस अवधिमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ६८ लाख ४४ हजार रुपैयाँ बराबरको ४९८ बीमालेख सरेन्डर भएका छन् ।
त्यस्तै, चालु आर्थिक वर्षको पुस महिनामा गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ६ लाख ३२ हजार रुपैयाँ बराबरको २४६ बीमालेख सरेन्डर भएका छन् । सोही अवधिमा प्राइम लाइफ इन्स्यारेन्सको २ करोड १२ लाख ९९ हजार रुपैयाँ बराबरको १ हजार ३७० बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरणका अनुसार यस अवधिमा आइएमई लाइफ इन्स्याेरेन्सको ३७ लाख ६७ हजार रुपैयाँ बराबरको ४१ बीमालेख, युनियन लाइफको ७४ लाख ८ हजार रुपैयाँ बराबरको ५७ बीमालेख, युनियन लाइफका १ करोड ३६ लाख ९३ हजार रुपैयाँ बराबरको ९५ बीमालेख र सन नेपाल लाइफ इन्स्योरेन्सको १० लाख ८४ हजार रुपैयाँ बराबरको १० बीमा पोलिसी सरेन्डर भएका छन् ।
त्यस्तै, पुस महिनामा रिलायन्स लाइफ इन्स्यारेन्सको ७३ लाख ९७ हजार रुपैयाँ बराबरको ७४ बीमालेख, रिलायबल नेपाल लाइफ इन्स्यारेन्सको ६८ लाख २३ हजार रुपैयाँ बराबरको १११ बीमालेख सरेन्डर भएका छन् । यसै अवधिमा सिटिजन लाइफ इन्स्यारेन्सको ९६ लाख ७० हजार रुपैयाँ बराबरको ११३ बीमालेख, सानिमा लाइफ इन्स्यारेन्सको एक करोड १३ लाख १६ हजार रुपैयाँ बराबरको ४५ बीमालेख सरेन्डर भएको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरणका अनुसार यस अवधिमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको ५५ लाख ९ हजार रुपैयाँ बराबरको ३१ बीमालेख, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ३४ लाख ७१ हजार रुपैयाँ बराबरको २७ बीमालेख र सर्यज्याति लाइफ इन्स्योरेन्सको ४० लाख १३ हजार रुपैयाँ बराबरको २३ बीमालेख सरेन्डर भएका छन् ।
भविष्यको सुरक्षालाई नै दाउमा राखेर बीमितले पोलिसी सरेन्डर गर्ने गरेको उनको भनाई छ । अध्यक्ष श्रेष्ठ भन्छन्, ‘सरेन्डर अन्तिम विकल्प हुनुपर्ने हो । तर, सर्वसाधारणले यसलाई पहिलो प्राथमिकतामा राखे । बैंंक लोन, सापटी र बचतबाट पनि पैसा निकाल्न सकिएन घरजग्गा बेचेर पनि पैसा पुगेन भने र भविष्यको लागि अरु विकल्प खोजौला भनेर अन्तिममा सरेन्डर गर्नुपर्ने हो । तर, भविष्यको सुरक्षालाई नै दाउमा राखेर पोलिसी सरेन्डर गर्ने भए ।’
सरेन्डरलाई कम गर्नका लागि समग्र रुपमा आर्थिक क्षेत्रमा नै सुधार हुनुपर्ने उनले बताए । यसका साथै कम्पनीहरु पनि त्यत्तिकै चनाखो हुनपर्छ । कम्पनीहरुले बीमितलाई बुझाउन सक्नुपर्छ । समग्र बीमा क्षेत्रले पनि यसको बारेमा सचेत गराउन आवश्यक रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस