माथिल्लो तामाकोशी लागत बढ्नुमा सञ्चय कोषको हात, ब्याजमात्रै २० अर्ब लियो - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 
माथिल्लो तामाकोशी लागत बढ्नुमा सञ्चय कोषको हात, ब्याजमात्रै २० अर्ब लियो

माथिल्लो तामाकोशी लागत बढ्नुमा सञ्चय कोषको हात, ब्याजमात्रै २० अर्ब लियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ पुस २०७५
Sunrise bank
माथिल्लो तामाकोशी लागत बढ्नुमा सञ्चय कोषको हात, ब्याजमात्रै २० अर्ब लियो
LBEF
NCH-IPS

काठमाडौं, पुस १९ । कर्मचारी सञ्चय कोषले साहू महाजनको जस्तो व्यवहार गर्दा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत बढ्न गएको छ । कोषले आयोजनाको प्रवद्र्धक माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीलाई १२ प्रतिशत ब्याजमा ऋण दिएको हो ।

सामान्यता ठूलो परिमाणमा ऋण लगानी गर्दा केही सहुलियत हुने भए पनि एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई ऋण दिँदा बढीभन्दा बढी ब्याज लिएका कारण पनि आयोजनाको लागत बढ्न गएको हो । माथिल्लो तामाकोशीले कोषलाई ऋणको ब्याजमात्रै २० अर्ब बढी तिर्नुपर्ने देखिएको छ ।

एक प्रकारकाले भन्दा सञ्चय कोषले माथिल्लो तामाकोशी आयोजनासँग चक्रवर्ती रुपमा ब्याज लिएको देखिएको छ । तर, कोषका अधिकारी भने नियमनअनुसार नै ब्याज लिएको र त्यसमा कुनै पनि बदमासी नगरिएको बताउने गरेका छन् । तर, औपचारिक रुपमा भने सम्झौतामा भए अनुसार भएको हो भन्ने बाहेक उनीहरुले केही पनि बताउने गरेका छैनन् ।

आयोजनाले पटक–पटक व्याजदर घटाइदिन आग्रह गरे पनि कोषले कुनै सुनुवाई गरेको छैन । आयोजनाले गत आर्थिक वर्षसम्म मात्रै १४ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ ब्याज तिरिसकेको छ । चालू आर्थिक वर्षमा मात्रै आयोजनाले कोषलाई ५ अर्ब ४१ करोड ५६ लाख रुपैयाँ ब्याज मात्रै तिर्नेछ । यसबाट कुल १९ अर्ब ८४ करोड रुपैयाँ ब्याज पुग्नेछ । गत आर्थिक वर्षसम्मको ब्याज आयोजनाको लगानीमा पुँजीकरण भइसकेको आयोजनाले जनाएको छ ।

कोषले माथिल्लो तामाकोशीसँग हाल ११ प्रतिशत ब्याज लिँदै आएको छ । ब्याजदर बढाएर १२ प्रतिशतसम्म पुर्याइएको थियो । अहिले ब्याजदर घटाउनका लागि कोषसँग छलफल भइरहेको आयोजनाले जानकारी दिएको छ ।

निर्माण अवधिको ब्याज पुँजीकृत गरी आयोजनाको कुल लागतमा जोडिने गरेको छ । भूकम्पका कारण आयोजनाको निर्माण अवधि ३ वर्ष लम्बिएको र सञ्चय कोषले त्रैमासिक रुपमा चक्रवर्ती ब्याज गणना गर्दा लागत बढेको हो ।

स्वीकृत गरिएको सुरुको लागतमा व्यापारिक बिजुली उत्पादनका लागि प्रक्षेपित निर्माण अवधि ६ वर्ष तोकिएको थियो । सोही आधारमा ११ प्रतिशतमा कर्जा लिइएको थियो । सो आधारमा १३ अर्ब २२ करोड ब्याज अनुमान गरिएको थियो । आयोजनाको निर्माण अवधि क्रमशः थपिदै जाँदा ब्याजमात्रै २० अर्ब बढी पुग्ने देखिएको छ ।

गत वर्षसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ कमजोर हुँदा आयोजनालाई थप ७ अर्ब ६ करोड व्ययभार थपिएको छ । आयोजना शुरु हुँदा १ डलर बराबर ८० रुपैयाँको हिसाब गरिएको थियो । डलरको मूल्य वृद्धि भएपछि मात्रै ७ अर्ब ६ करोड रुपैयाँ थप हुन पुगेको छ ।

अहिले डलर बढेर ११२ रुपैयाँ छ । हाल डलरसँग नेपाली रुपैयाँ २५ प्रतिशतले अवमूल्यन भएको छ । आयोजनाको निर्माण अवधि लम्बिएपछि निर्माण सुपरीवेक्षण परामर्श सेवा, प्रशासनिक खर्च, बजार मूल्यमा वृद्धि, मुख्य सुरुङको डिजाइन संशोधन, हेडवक्र्समा केही सिभिल कामको परिमाण र करको दरमा भएको वृद्धिले समग्ररुपमा आयोजनाको लागत बढेको छ ।

आयोजनाका अनुसार २०६५ चैत ७ गतेको सञ्चालक समिति बैठकले आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याज र वित्तीय व्यवस्थापन तथा बैंक कमिसन अनुमानका आधारमा ४८ अर्ब ८६ करोड ४० लाख कुल लागत हुने निर्णय गरेको थियो । शुरुमा ३५ अर्ब रुपैयाँमा सक्ने भनिएको आयोजनाको लागत बढेर ७० अर्बको हाराहारीमा पुगेको छ । अझै निर्माण अवधि थपिँदै जाँदा लागत थप बढ्ने देखिएको छ ।

कुल लागत ३५ अर्ब २९ करोड मुख्य लागत, निर्माण अवधिको ब्याज १३ अर्ब २१ करोड ७० लाख र ३५ करोड ७० लाख हुने अनुमान थियो । तर व्याज बढेर मात्रै २० अर्ब पुगेको छ ।

आयोजनाको २०७४ चैत ३० गतेको सञ्चालक समिति बैठकले अनुमानित लागतलाई संशोधन गरी ६९ अर्ब ५९ करोड १९ लाख पुर्याएको छ । त्यसमा ब्याजबाहेक आयोजनाको अनुमानित लागत ४९ अर्ब २९ करोड ५५ लाख हुने बताइएको छ । यस्तै ब्याजसमेत जोडदा ६९ अर्बको हाराहारीमा पुगेको छ । आयोजनाका लागि अझै थप केही रकम आवश्यक पर्ने देखिएको छ । आवश्यक रकमका लागि पुनः कोषसँग नै आग्रह गरिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस