
काठमाडौं । पछिल्लो समय अर्थतन्त्रका सूचकाङ्कहरू धेरैजसो सकारात्मक दिशामा छन्। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क हेर्ने हो भने रेमिट्यान्स आप्रवाह बढेको छ । शोधानान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा छ । विदेशी विनिमय सञ्चिती समेत १२ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ । यता बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव समेत छैन । तर, शेयर बजार भने निरन्तर घटिरहेको छ ।
बिहिबार मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २२.१२ अंकको गिरावट आएको छ । यो साता पहिलो दिन आइतबार नेप्से १४. ६८ अंकले घटेर २ हजार १६८ दशमलव ५३ बिन्दुमा बन्द भएको थियो। यसरी हेर्दा यो साता नै नेप्से परिसूचकमा ८८ अंक भन्दा बढीले गिरावट आएको देखिन्छ। यो साता शेयर कारोबारमा बुधवार सामान्य सुधार देखिए पनि अन्य दिनहरूमा शेयर बजार घट्यो। यसरी शेयर बजारमा निरन्तर गिरावट आउनुमा शेयर बजारसँग सम्बन्धित नकारात्मक प्रचार कारक रहेको शेयर लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् ।
उनी भन्छन्, ‘अर्थतन्त्रका सूचकाङ्क सकारात्मक भइरहेको अवस्था छ । तर, शेयर बजार नकारात्मक भइरहेको छ । यसो हुनु भनेको अनौठो हो । सबैतिरबाट राम्रो हुँदा हुँदै नकारात्मक प्रचार प्रसार भएका कारण शेयर बजारमा गिरावट आएको हो । कतिपयहरू शेयर बजार बढेको देख्नै चाहँदैनन् । उनीहरूले कसरी बजार घटाउने भन्ने मात्रै चलखेलमा लागिरहेका हुन्छन् । उनीहरूले गरेको अनावश्यक प्रचारको सिकार लगानीकर्ताहरू भइरहेका छन् । ’
शेयर बजारका लगानीकर्ताहरू शिक्षित भएर पनि हल्लाको पछि लाग्ने गरेको उनले बताए । रौनियारले भने, ‘कतिपय लगानीकर्ताहरू शिक्षित भएर पनि हल्लाको पछि लाग्ने गर्छन् । कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी कागको पछि दौडिने धेरै लगानीकर्ताहरू भए ।’
पछिल्लो केही दिनयता नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालका विषयमा आएका विभिन्न हल्लाका कारण पनि शेयर बजारमा यसको असर परेको रौनियारको तर्क छ । उनी भन्छन्, ‘नेपाल धितो पत्र बोर्डका अध्यक्ष रमेश हमालका विषयमा पछिल्लो समय विभिन्न कुराहरू बजारमा चार भइरहेको छ । यसको असर पनि शेयर बजारमा परेको छ । सेबोनका अध्यक्ष जस्तो पदमा भएका व्यक्तिको बारेमा नराम्रो समाचारहरू आएपछि यसको असर शेयर बजारमा पर्नु स्वाभाविक पनि हो ।’
उनका अनुसार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै छ । मौद्रिक नीति मार्फत शेयर बजार सम्बन्धी नीति सकारात्मक आउने संकेत भइरहेको छ । मौद्रिक नीतिपछि शेयर बजार अर्को लेभलमा जाने उनले दाबी गरे ।
अर्थमन्त्री विष्णु पौडेल शेयर बजारप्रति सकारात्मक छन् । यसले गर्दा पनि पौडेलले अर्थमन्त्रीको पद सम्हालेको केही दिनसम्म शेयर बजारमा उत्साह पनि देखियो । तर, त्यो लामो समयसम्म टिक्न सकेन । तर, राजनीतिक अस्थिरताको असर शेयर बजारमा परेको लगानीकर्ता राधा पोखरेल बताउँछिन् । उनी भन्छिन्, ‘पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताले समेत बजारलाई असर पार्न खोजेको देखिन्छ । गठबन्धन नै टुट्ने पो हो की भन्ने हल्ला समेत छ ।’
अर्थमन्त्री सकारात्मक हुने बित्तिकै शेयर बजार बढ्ने भन्ने निश्चित नहुने उनले तर्क गरिन्। ' अर्थमन्त्री सकारात्मक बन्दा छुमन्तरको छडी लाग्ने भन्ने हुँदैन। शेयर बजारले सकारात्मक गति समात्न बजारमैत्री नीति आउनु पर्छ । यसका साथै अहिले शेयर बजारमा ब्याजदरको असर पनि परेको छ । ब्याजदर नघटेसम्म बजार बढ्छ जस्तो लाग्दैन’, उनले भनिन् ।
लगानीकर्ता पोखरेलका अनुसार अब बजारमा उत्साह आउनुका लागि सबैभन्दा पहिले ब्याजदर नै घट्नु पर्ने हुन्छ । शेयर बजारसँग सम्बन्धित नयाँ र खुकुला नीतिहरू बन्नु पर्छ। राजनीतिका स्थिरताको ग्यारेन्टी हुनुपर्छ। अहिले लगानीकर्ताहरूमा गठबन्धन टुट्यो भने भोलिका दिनमा कस्तो सरकार आउने हो भन्ने चिन्ता छ ।
दोस्रो बजारमा लगानीकर्ताको आकर्षण नदेखिए पनि आईपीओमा भने निकै आकर्षण देखिन्छ । पछिल्लो पटक खुलेको कालिन्चोक दर्शनको साधारण शेयर (आइपिओ)मा १४ लाख भन्दा बढीले आवेदन दिएका थिए । जुन माग भएको आइपिओ भन्दा १८ प्रतिशत बढी हो ।
यसरी हेर्दा पछिल्लो समय शेयर बजार र सार्वजनिक शेयर निष्कासन (आइपिओ)मा सर्वसाधारणको आकर्षण बढ्दो रहेको देखिन्छ । सर्वसाधारणको शेयर प्रति आकर्षण बढेसँगै डिम्याट खाता खोल्नेको सङ्ख्या पनि बढेको हो । यस्तो खाता खोल्नेको सङ्ख्या ५५ लाख नाघेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार हालसम्म डिम्याट खाताको सङ्ख्या ५५ लाख २४ हजार ५७ पुगेको छ । त्यस्तै, मेरो शेयर प्रयोगकर्ताको सङ्ख्या पनि ४६ लाख ६० हजार आठ सय ३१ पुगेको छ । यता, डिम्याटमा भएका शेयर सङ्ख्या पनि ९ अर्ब ५० करोड ४२ लाख ६७ हजार ६२१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस