
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ११ गते १८ औं वार्षिक साधारण सभा बोलाएको छ । माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले अमृतभोग, क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३१ करोड २७ लाख ८४ हजार रहेको छ । सोही पूँजीको आधारमा कुल ७ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो । उल्लेखित प्रस्तावहरूसँगै सगरमाथा इन्स्योरेन्ससँगको मर्जर प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । यी दुई कम्पनी १०० बराबर ८० शेयर स्वाप रेसियोका आधारमा मर्जरमा जान लागेका हुन ।
मर्जर सम्बन्धि सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ २६ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्नृ र सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस