शीर्षकहरू

रवि लामिछाने विरुद्ध अध्यागमन र प्रहरीमा जाहेरी पेश

रवि लामिछाने विरुद्ध अध्यागमन र प्रहरीमा जाहेरी पेश

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरुद्ध मंगलबार दुई वटा जाहेरी भिन्नाभिन्नै कार्यालयमा  भएका छन्। महानगरीय प्रहरी प्रभाग काठमाडौं र अध्यागमन विभागमा युवराज पौडेल (सफल) ले जाहेरी दरखास्त बुझाएका हुन्। 

महानगरीय प्रहरी प्रभागमा पौडेलले पेश गरेको उजुरीमा लामिछानेले राहदानी सम्बन्धी कसुर गरेको आरोप लगाइएको छ। त्यसैगरी अध्यागमन विभागमा पेश गरेको जाहेरीमा रवि लामिछानेले अमेरिकी नागरिक रहेकै बेला झुक्काएर नेपाली राहदानी लिएको विषयमा अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ। 

प्रहरीमा बुझाएको जाहेरीमा घटना विवरण उल्लेख गर्दै देखिएको छ - मिति २०७० फाल्गुन ०९ गते तदनुसार सन् २०१४ फेब्रुअरी २१ तरिखमा संयुक्त राज्य अमेरिकाको नागरिकता प्राप्त गरेका अमेरिकी पासपोर्ट वाहक उल्लेखित रवि लामिछानेले संयुक्त राज्य अमेरिकाको नागरिक रहेकै अवस्थामा आफन्त भेट्ने गरी पारिवारिक भिसामा नेपाल आएको बखत निजको अमेरिकी नागरिकता र पासपोर्ट रहेको वास्तविक विवरण लुकाई छिपाई अमेरिकी नागरिकता प्राप्त गरेपछि निजको स्वतः कायम नरहेको अवस्थाको जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट विगतमा मिति २०५०फाल्गुन १० गते जारी १८२२२ नम्बरको पुरानो नागरिकता प्रमाणपत्रकै प्रतिलिपि राहदानी विभागसमक्ष पेश गरी सोही कायम नरहेको नेपाली नागरिकताको विवरण राखी अमेरिकी नागरिक रहेका निज रवि लामिछानेले राहदानी ऐनको प्रचलित व्यवस्था विपरीत जानी जानी झुटो विवरण दिई मिति २०७२जेठ १३ गते तदनुसार २७ मे २०१५ मा गैर कानुनी ढङ्गले सन् २०२५ मे २६ तारिखसम्मको म्याद रहेको ०८८३४८३८ नम्बरको नेपाली राहदानी लिएका रहेछन् ।

कारबाहीको माग गर्दै जाहेरीमा अगाडी लेखिएको छ - अमेरिकी नागरिक र राहदानीवाहक रहेको अवस्थामा यसरी निज रवि लामिछानेले नेपाली राहदानी कानुनको बर्खिलाप हुने गरी नेपाली राहदानी समेत लिई दोहोरो राहदानी राख्ने एवं दोहोरो राहदानी प्रचलन गर्ने समेतको कसुरजन्य कामकारबाही गरी निजले वारदात घटना हुँदाको मितिमा तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) तथा हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित राहदानी सम्बन्धी कसुर गरेको हुनाले कसुरदार निज रवि लामिछानेलाई तत्कालै नियन्त्रणमा लिई उक्त राहदानी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान गरी कानुन बमोजिम मुद्दा चलाई कानुनी कारबाही गरी हदैसम्म सजाय होस् भनी यो जाहेरी दरखास्त पेश गरेको छु । 

रविलाई अर्को पासपोर्ट समेत नदिने गरी कारबाहीको माग गर्दै त्यसमा थप यस्तो दलिल गरिएको छ - निज रवि लामिछानेले गरेको कसुर तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसुर भएको हुनाले वारदात भएको मितिमा तत्काल प्रचलित रहेको राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) को व्यवस्था अनुसार निज कसुरदार रवि लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवाना समेत गर्ने गरी कानुन बमोजिम मुद्दा चलाई कारबाही गरी पाऊँ । गैर नेपाली नागरिक रही प्राप्त गरेको सो ०८८३४८३८ नम्बरको निज कसुरदारको नामको राहदानी राहदानी ऐन बमोजिम रद्द गर्न तथा राहदानी सम्बन्धी कसुरको अनुसन्धान भई रहेको सिलसिलामा निज कसुरदारको नाममा नयाँ राहदानी समेत जारी नगर्ने गरी कसुरको अनुसन्धान तथा कानुन बमोजिम मुद्दाको कारबाही चलाई पाऊँ । 

त्यसैगरी अध्यागमन विभागमा पेश गरिएको उजुरीमा पौडेलले लेखेका छन् - अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा महानिर्देशकलाई जानकारी हुन आएमा महानिर्देशकले तोकेको अध्यागमन अधिकृतले ऐन वा नियम विपरीत कुनै अपराध भए वा हुन् लागेको छ भने तहकिकात र कार्यवाही गर्नु पर्दछ भन्ने व्यवस्था भएकोमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १०(१) अन्तर्गत कायम नरहेको नागरिकता प्रयोग गरेर आफू अमेरिकी नागरिक भएको समयमा नेपाली राहदानी लिई अध्यागमन ऐन, २०४९ को दफा ५ विपरीतको दण्डनीय कार्य गर्ने रवि लामिछानेलाई अध्यागमन ऐन, २०४९ को दफा १० बमोजिम हदै सम्मको सजाय गरी पाउँ । 

अध्यागमन विभागका महानिर्देशकलाई सम्बोधन गरिएको उक्त जाहेरीमा थप  लेखिएको छ - कानुन सबैकालागि समान रुपमा लागु हुन्छ । कानुनको नजरमा कोही पनि ठुलो वा सानो हुँदैन ।  कानुनले शक्तिशाली वा कमजोर भनेर छुटाउँदैन । दण्डनीय कार्य गर्ने प्रत्येक व्यक्तिलाई कानुनको दायरामा ल्याउनु पर्दछ । अध्यागमन ऐन अन्तर्गत भएको कसुरमा ठुलो सानो नभई दोषी उपर छानबिन र कार्यवाही गर्ने दायित्व र जिम्मेवारी  महानिर्देशकज्यूलाई अध्यागमन ऐनको दफा ८ ले प्रदान गरेको हुँदा विदेशी नागरिक भएको समयमा आफू नेपाली नागरिक भएको भनी निज रवि लामिछानेले नेपाली पासपोर्ट प्राप्त गरेको व्यापक रुपमा सार्वजनिक भएको सम्बन्धमा  अवगत नै हुनुहुन्छ भन्ने आशा गर्दछु ।

विभिन्न पत्रिका तथा स्थापित अनलाइनका समाचारको लिक सहित पेश गरिएको सो जाहेरीमा महानिर्देशक प्रतिको आफ्नो विश्वास प्रस्तुत गर्दै भनिएको छ - निज रवि लामिछानेले आफू अमेरिकी नागरिक भएको बखतमा केवल नेपाली नागरिकले मात्रै प्राप्त गर्न सक्ने नेपाली राहदानी प्राप्त गर्ने जुन कार्य गरेका छन् सो कानुनद्वारा वर्जित र दण्डनीय छ ।  अध्यागमन ऐनको दफा ५ विपरीत भई दफा १० अन्तर्गत दण्डनीय भएको हुँदा सो ऐनको दफा ८ बमोजिम तत्कालै र शक्तिशाली व्यक्ति हुन् भनी कुनै पनि मोलाहिजा नगरी छानबिन र कार्यवाहीको प्रक्रिया अघि बधाई निज रवि लामिछानेलाई कानुनको दायरा भित्र ल्याउने कर्तव्य यहाँले पुरा गर्नु हुनेछ भनी यहाँलाई जानकारी दिन चाहन्छु ।

रविले मिति २०५० फाल्गुन १० गते जारी १८२२२ नम्बरको पुरानो नागरिकता प्रमाणपत्रकै प्रतिलिपि राहदानी विभागसमक्ष पेश गरी सोही कायम नरहेको नेपाली नागरिकताको विवरण राखी अमेरिकी नागरिक रहेका रवि लामिछानेले सर्वोच्च अदालतको माघ १३ को आदेश पश्चात् काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता प्राप्त गरेको हुन्। नेपाली नागरिक नहुँदा नहुँदै पनि चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भई निर्वाचन जिती प्रतिनिधि सभा सदस्य बनी उपप्रधान मन्त्री र गृह मन्त्री समेत बनी उक्त सबै पद खारेज भएका व्यक्तिका रुपमा  परिचय खुलाइएको छ।

आफुले अध्यागमन विभाग र महानगरीय प्रहरीमा जाहेरी पेश गरेको तर सर्वोच्च अदालतबाट नागरिकता सम्बन्धी आदेशको पूर्ण पाठ आई नसकेको कारण देखाई प्रक्रिया भने त्यसपछि मात्र अघि बढाउने जानकारी सम्बन्धित कार्यालयले आफुलाई दिएको जानकारी निवेदक युवराज पौडेलले आर्थिकन्युजलाई दिएका छन्। यदि ती निकायले उनीमाथिको छानबिन प्रक्रिया अघि बढाउन विलम्ब गरेमा आफू नागरिकताको विषय झैँ पासपोर्टको विषयलाई लिएर पनि अदालत जाने पौडेलले बताए।