अहिले लाभांश बुक गर्ने बेलामा साना लगानीकर्ताले धैर्यता राख्नुपर्ने - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

अहिले लाभांश बुक गर्ने बेलामा साना लगानीकर्ताले धैर्यता राख्नुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
Sunrise bank
अहिले लाभांश बुक गर्ने बेलामा साना लगानीकर्ताले धैर्यता राख्नुपर्ने
LBEF
NCH-IPS

काठमाडौ । नेपाल धितोपत्र बोर्ड (नेप्से) मा सूचीकृत कम्पनीले धमाधम लाभांशको प्रस्ताव गर्न थालेका छन् ।  कम्पनीले बितरण गर्ने लाभांश बुक गर्नतिर लाग्दा शेयर बजारमा उछाल आएको हो । बुधबार नेप्से करिब २१ अंकले बढनुलाई यही कारणको रुपमा लिएका छन् ।  पुँजीगत लाभकर गणनाविधिको समस्या समाधानतिर गएको र बैंकको नाफा खुम्चिने गरी राष्ट्र बैंकले ल्याएको नीतिमा परिवर्तन गर्ने संकेत देखिएपछि पनि शेयर बजार उकालो लाग्न पुगेको हो । एकातिर लाभांश धमाधम घोषणा गर्न थाल्नु अर्कोतिर नीतिगत तहमा देखिएका समस्या समाधान हुने संकेत मिलेसँगै शेयर बजारमा सुधार देखिएको ब्रोकरको भनाइ छ ।

साना लगानीकर्ता शेयर बजार ओरालो लागेपछि डराएर बिक्री गरिरहेका बेला ठूला लगानीकर्ता भने पैसाको जोहो गरेर शेयर खरिद गर्न थालेका छन् । शेयर बेचर पैसा निकाल्नुभन्दा अन्य स्रोत खोजेर लगानी गर्दा फाइदा हुने सम्भावना देखेपछि उनीहरु यसो गर्न थालेका हुन् ।साना लगानीकर्ता निराश भएको बेला ठूला लगानीकर्ताहरुले सम्भावना देखेर छानीछानी बढी लाभांश घोषणा गरेका र घोषणा गर्न सक्ने कम्पनीको शेयर उठाउँदै छन् । राम्रा कम्पनीको शेयर धितोमा राखेर कर्जा प्रवाह गर्न पाउँदा पाउँदै बैंकहरु पनि खुशी छन् ।

अहिले पुँजी बजार मापक नेप्से १२ सय अंकभन्दा केही तल छ । १८८१ अंक नजिक पुगेको नेप्से करिब ७ सय अंक तल आउनुलाई ठूला लगानीकर्ताहरुले अवसरको रुपमा लिइएको छन् । नीतिगत रुपमा केही परिवर्तन आउन साथ बजार अझै बढने अपेक्षा ठूला लगानीकर्ताको छ । अहिले पनि उच्च लाभांश दिन सक्ने कम्पनीको शेयर मूल्य पनि ३–४ सय रुपैयाँ छ । यतिबेला किनेको शेयर केही बढे पनि नाफा आर्जन गर्न सकिने विश्लेषण लगानीकर्ताले गर्दै आएका छन् । त्यसमा पनि सूचीकृत कम्पनीले यो वर्ष वितरण गर्ने लाभांश हात पार्न सकिने अपेक्षा उनीहरुको छ ।

केही लगानीकर्ताले नीतिगत सुधार आउने सम्भावना देखेकाले पनि शेयर खरिद गर्न उपयुक्त समय भएको तर्क दिने गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाको शेयर बजारप्रति दृष्टिकोण नकारात्मक रहेकाले पनि शेयर बजार उकालो लाग्न नसकेको लगानीकर्ताको बुझाइ छ । हुन पनि २०७४ फागुन १४ मा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका खतिवडालाई पुँजी बजार सधैं रेड सिग्नल नै देखाइ दिन पुग्यो ।

अर्थमन्त्री भएलगत्तै बीबीसी नेपाली सेवामा खतिवडाले पुँजी बजारमा भइरहेको लगानी ‘अनुत्पादक’ भन्ने आशयको अन्तर्वार्ता दिए । पुँजी बजारप्रति नकारात्मक दृष्टिकोण बनाउँदै आएका खतिवडाको त्यो भनाइ सार्वजनिक भएलगतै शेयर बजारले उनलाई रातो झन्डा देखाइ दिन पुग्यो ।   खतिवडा अर्थमन्त्री भएयता शेयर बजार करिब २५० अंकले घटेको छ । बजार पुँजीकरण साढे २ खर्ब रुपैयाँले तल झरेको छ । उनी अर्र्थमन्त्री भएपछि शेयर कारोबारमा पुँजीगत लाभकर गणना विधिको विवाद निस्कियो ।  त्यो विवादले गर्दा लगानीकर्ताले केही दिन शेयर बजार कारोबार नै ठप्प पारिदिए । 

त्यसयता पुँजीबजारका लगानीकर्ता अर्थमन्त्री खतिवडालाई आफ्नो मुख्य शत्रु ठान्छन् ।  हुन त पछिल्लो समय उनको पुँजी बजारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । तर पनि उनीप्रति लगानीककर्ताको विश्वास बढ्न सकेको छैन् । अहिले पनि ठूला लगानीकर्ताको उत्साह हराएको छैन् । नीतिगत अस्थिरता र ऋणको ब्याजदर नघट्नु नै उनीहरुका लागि ठूलो अवरोध बनेको छ । नौ प्रतिशत सम्ममा पाइने शेयर कर्जा अहिले १४– १५ प्रतिशतमा पुगेको छ । पछिल्ला दिनमा शेयर कर्जा लिनेको संख्या घटेप नि ऋण लिइने रकममा भने कमी आएको छैन । सूचीकृत कम्पनीको नाफा बढेको र लाभांश पनि त्यही अनुपातमा बृद्धि गरेकाले पनि शेयर बजारमा ठूला लगानीकर्ताले सम्भावना देखेर लगानी बढाइरहेका छन् । उनीहरुले धैर्यतापूर्वक शेयर लगानी गरिरहेका छन् ।


 

प्रतिक्रिया दिनुहोस