aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

तयारी वस्तु र कच्चा पदार्थको भन्सार फरक गर्न आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ माघ २०७९
Global IME
ime Limited
तयारी वस्तु र कच्चा पदार्थको भन्सार फरक गर्न आग्रह
DHI
nmb

काठमाडौं । नेपाल उद्योग परिसंघले आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तिमा दुई तहको फरक गर्न आग्रह गरेको छ । ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर बुधबार परिसंघमा आयोजित अन्तरक्रियामा परिसंघका कार्यवाहक अध्यक्ष राजेश अग्रवालले आयात हुने तयारी वस्तु तथा सो तयारी वस्तु बनाउन प्रयोग हुने कच्चा पदार्थको भन्सार दरमा कम्तिमा एक तहको फरक हुने सरकारको नीतिलाई दुई तह वा कम्तिमा १० प्रतिशतको अन्तर हुने गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने बताए । आत्मनिर्भर भईसकेका तथा आत्मनिर्भर उन्मुख वस्तुहरूको आयात निरूत्साहित गरिनुपर्नेमा जोड दिदै उहाँले ग्रीन च्यानलबाट पैठारी हुने वस्तुहरूको संख्या बढाउँदै लौजान पनि आग्रह गरे ।

अर्थ मन्त्रालयका राजश्व सचिव डा. रामप्रसाद घिमिरे र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको उपस्थितीमा आयोजित अन्तरक्रियामा परिसंघ राजश्व समिति सभापति राहुल अग्रवालले भन्सार सन्दर्भ पुस्तिकामा सुधार ल्याउन आग्रह गरे । सन्दर्भ पुस्तिकाका कारण अधिक बिजकीकरण र न्यून बिजकीकरणलाई प्रोत्साहित गरिरहेको उहाँले बताए । बिल बिजक मूल्यलाई मान्यता दिने तर सन्दर्भ पुस्तिकाको मूल्यलाई आधार मान्ने अभ्यासले मिसम्याच भैरहेको उहाँले बताए । वस्तुको मूल्य र आयातकर्ताको विवरण नखुलेको सामान निर्वाध आयात भईरहेको तर्फ ध्यानाकर्षण गराउँदै भन्सारमा कडाई गर्न आग्रह गरे । 

परिसंघले स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न सरकारी निकायहरुमा नेपाली उत्पादन प्रयोग गराउन पनि आग्रह गरेको छ । यस्तै चोरी पैठारी नियन्त्रण गर्न, सार्वजनिक विदाको दिन अन्य दिन जस्तै नियमित पूर्ण रुपमा काम गराउन, भन्सार जाँच पास पछि पनि मालवाहक गाडी पुनः चेकजाँच गर्ने परिपाटी कम गर्न पनि परिसंघले आग्रह गरेको छ । 

राजश्व सचिव डा. रामप्रसाद घिमिरेले कारोबारमा आधारित अर्थतन्त्रबाट उत्पादनमा आधारित अर्थतन्त्रतर्फ जानै पर्ने बताए । औद्योगिकरणको प्रबद्र्धन गर्न उत्पादन बढाउनुको विकल्प नभएको उहाँले बताए । त्यसका लागि सरकारले सहजिकरण गर्ने उनँको भनाई थियो । यस्तै सचिव घिमिरेले चोरी पैठारी नियन्त्रण गर्न प्रभावकारी रुपमा काम गर्ने बताए । यसमा निजी क्षेत्रको पनि सहयोग चाहिने उहाँले बताउनुभयो । ग्रीन च्यानलबाट पैठारी हुने वस्तुहरुको संख्या बढाउने परिसंघको सुझावमा आवश्यक कदम लिने बताए । 

सार्वजनिक बिदाका दिन पनि भन्सार सुचारु हुनुपर्ने परिसंघको आग्रहमा भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले यो सुझाव सकारात्मक रहेको बताए । उनले सार्वजनिक बिदाका दिन राजस्वमा पनि असर परेको भन्दै  बिदाको दिन पनि अरु दिनजस्तै नियमित फुलफ्लेजमा काम गर्न गराउन छलफल भईरहेको बताए । अन्तरक्रियामा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, उद्योगीहरु अमित मोर, लक्ष्मीप्रसाद सुवेदीलगायतले भन्सारमा आवश्यक थप सुधारका विषयमा सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस