
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि छुट्याएको शेयर सम्पूर्ण कित्ता विक्री भएको छ ।
कम्पनीले आफ्नो जारी रू. ५० करोड को १० प्रतिशतले हुन आउने रू. ५ करोड बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि विक्री गरेको हो भने सर्वसाधारणमा विक्री गरिने कुल कित्तामध्य १० प्रतिशत दरको ५० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि विक्री गरेको हो ।
वैदेशिक रोजागारीमा गएका नेपाली कामदारका लागि मंसिर २१ गते देखि पुस ६ गतेसम्म र आयोजना प्रभावित स्थानीयका लागि मंसिर २१ गतेदेखि पुस १३ गतेसम्म कम्पनीले आईपीओ विक्री खुला गरेको थियो । तोकिएको अवधिमा रितपूर्वक आवेदन दिएका आवेदकहरूमा माघ १० गते शेयर बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले दिएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आईपीओ बाँडफाँटपछि अब सर्वसाधारणका लागि छुट्याएकोमध्येबाट बाँकी शेयर सामूहिक लगानीकोष र कर्मचारी समेतमा विक्री गर्नेछ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयको बाँडफाँटमा नपरेको शेयर वापतको आंशिक रकम माघ १५ गतेदेखि फिर्ता भुक्तानी गर्ने जानकारी दिएको छ । फिर्ता भुक्तानी सम्बन्धित आवेदकको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा गर्ने भएकाले रकम फिर्ता भए नभएको एकिन गर्न समेत कम्पनीले आग्रह गरेको छ ।
वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको हकमा भने बाँडफाँटमा नपरेको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट रोक्का रहेको रकम फुकुवा हुने व्यवस्था मिलाईएको भनाई पनि कम्पनीको छ ।
यस कम्पनीले ७ दशमलव ८ मेगाबाट क्षमताको सुपरमाई जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७५ साल कात्तिक ११ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल लागत निर्माण अवधिको ब्याज सहित रू. १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रहेको छ । आयोजनाको प्रति मेगावाट लागत भने रू. १९ करोड ८ लाख ४८ हजार रहेको छ ।
पुस १९ गतेदेखि विक्रीमा आएको मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि पुनः म्याद थप भएको छ । कम्पनीले माघ ३ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि माघ १० गतेसम्मको अवधि थप गरेको थियो । पहिलो चरणमा म्याद थप भएको अवधिमा माग बमोजिम आवेदन नपरेपछि दोस्रो पटक माघ १५ गतेसम्मको अवधि थप गरेको हो ।
प्रतिक्रिया दिनुहोस