
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गर्नेहरूले कहिलेसम्म छुट पाइरहने भन्दै प्रश्न गरेका छन्। उनले शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारलाई नै यस्तो प्रश्न सोधेका हुन्।
उनले भ्रष्टाचारको अनुसन्धान गर्ने निकायले कानमा तेल हालेर र आँखामा पट्टी लगाएर बसेको आरोप लगाए। उनले भने, ‘सम्बन्धित निकायले देखेर पनि नदेखे जस्तै कानमा तेल हालेर आँखामा पट्टी हालेर बसेको छ। त्यसैले होला साना माछा मात्रै जालमा पर्ने ठूल्ठूला माछा फुत्किने यो कहिलेसम्म?’
भ्रष्ट्राचारको कारण युवाहरूको जीवन बर्बाद भएको समेत जिकिर गरे। उनले भने, ‘हामी जस्तो तमाम नव जवान युवाहरू र सिङ्गो मुलुकको भविष्य आज भ्रष्टाचारले गर्दा बर्बाद भएको छ।’ भ्रष्टाचारका फाइलहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थन्किएको तर कारबाही अघि नबढेको समेत बताए।
उनले अख्तियारको कार्य सम्पादन प्रति टिप्पणी गर्ने भने, ‘अख्तियार दुरुपयोग निवारण आयोगलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनायौँ। तर अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा अनुसन्धानमै सीमित रह्यो। त्यसैले होला, ठुला ठुला भ्रष्टाचारका आवाजले सडक तातिन्छ, सदनमा सुनिन्छ तर भ्रष्टाचारीलाई कहीँ कतै कारबाही भएको देख्न सुन्न पाइँदैन। हरेक दिन पत्रपत्रिका सामाजिक सञ्जाल अनलाइन मिडियामा हाम्रो र तपाईँ हामी सबैको मोबाइलमा भ्रष्टाचारका कुरा लेखिन्छन् र छापिन्छन्।’
प्रतिक्रिया दिनुहोस